+
+
Shares

कार्यवाहक अमेरिकी राजदूतले भेटिन् परराष्ट्रमन्त्री खनाल, शव पहिचान गर्न खटिए एफबीआईका फरेन्सिक विशेषज्ञ

कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्दै बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो सहानुभूति व्यक्त गरेकी छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १४:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संयुक्त राज्य अमेरिकाले नेपालमा हालै आएको बाढी प्रभावितको राहत र उद्धारका लागि ४० लाख अमेरिकी डलरभन्दा बढी मानवीय सहायता परिचालन गरेको छ।
  • कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटेर बाढीबाट भएको मानवीय र भौतिक क्षतिप्रति सहानुभूति व्यक्त गरेकी छन्।
  • एफबीआईका फरेन्सिक विशेषज्ञहरूले नेपाल प्रहरीसँग समन्वय गरेर बाढीमा ज्यान गुमाएकाको पहिचान र परिवारलाई सूचना उपलब्ध गराउन काम गरिरहेका छन्।

२६ भदौ, काठमाडौं । नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावितहरूको राहत तथा उद्धारका लागि संयुक्त राज्य अमेरिकाले ४० लाख अमेरिकी डलर (करिब ६१ करोड नेपाली रुपैयाँ) भन्दा बढी मानवीय सहायता परिचालन गरेको छ।

कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्दै बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो सहानुभूति व्यक्त गरेकी छन्।

भेटका क्रममा उनले बाढीमा बेपत्ता भएका अमेरिकी नागरिकका साथै अन्य पीडितहरूको खोजी र उद्धारमा नेपाल सरकारले असाधारण तत्परता देखाएको भन्दै उनले आभारसमेत प्रकट गरिन्।

अमेरिकी दूतावासका अनुसार अमेरिकाले उपलब्ध गराएको सहायतामा खाद्यान्न, आपत्कालीन राहत सामग्री, बन्दोबस्तका उपकरण तथा विपद् पीडित पुनर्लाभका विशिष्टीकृत सामग्रीहरू समावेश छन्।

नेपाल प्रहरीसँगै खटिए एफबीआईका फरेन्सिक विशेषज्ञ

बाढीमा परी ज्यान गुमाएका पीडितहरूको पहिचान गर्न र उनीहरूका परिवारलाई सही जानकारी उपलब्ध गराउन अमेरिकी अनुसन्धान ब्युरो (एफबीआई) का फरेन्सिक विशेषज्ञहरू समेत नेपाल प्रहरीसँगै समन्वय गरेर काम गरिरहेका अमेरिकी दूतावासले जानकारी दिएको छ ।

आफ्ना नागरिकहरूको सुरक्षा सर्वोच्च प्राथमिकतामा रहेको बताउँदै दूतावासले आफ्ना आफन्तबारे जानकारी लिन चाहने परिवारलाई सहयोग गर्न कन्सुलर सेवा विस्तार गरिएको जनाएको छ।

नेपालको नेतृत्वमा देशभर भइरहेको विपद् प्रतिकार्यमा टेवा पुर्‍याउन अमेरिका नेपालसँग काँधमा काँध मिलाएर काम गरिरहेको कार्यवाहक राजदूत बोल्डिनले उल्लेख गरेकी छन्।

आगामी दिनमा बाढीबाट भएको क्षति, विस्थापन र मानवीय आवश्यकताहरूको थप आकलन गर्दै अमेरिकाले नेपाल सरकारसँग निरन्तर निकट साझेदारी जारी राख्ने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?