+
+
Shares

भदौ मसान्तसम्म कृष्णभिरमा आवागमन खुलाउने तयारी, दैनिक १४ घण्टा काम

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १७:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको बाढीले अवरुद्ध राजमार्ग खुलाउन धादिङको कृष्णभीरमा युद्धस्तरको मर्मत काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
  • नागढुंगा–मुग्लिन सडक योजनाअन्तर्गत कृष्णभीरमा ग्रेड कटिङ, स्लोप मिलाउने र पहुँच सडक निर्माण आठौँ दिन पनि जारी छ।
  • काठमाडौंको आपूर्ति सहज बनाउन भदौ मसान्तसम्म सडक खुलाउने लक्ष्यसहित दैनिक १४ घण्टा काम भइरहेको छ।

२६ भदौ, काठमाडौं । रसुवा बाढीका कारण अवरुद्ध राजमार्ग छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन धादिङको कृष्णभीर क्षेत्रमा युद्धस्तरमा मर्मतको काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

राजधानी काठमाडौंको आपूर्ति व्यवस्थालाई सहज बनाउन भदौ मसान्तसम्ममा सडक खुलाउने लक्ष्यसहित प्राविधिक टोलीले दैनिक १४ घण्टा निरन्तर काम गरिरहेको कार्यालयले जनाएको छ ।

नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का इन्जिनियर धीरज ढकालका अनुसार, कृष्णभीरमा सडकको ‘ग्रेड कटिङ’ गर्ने, स्लोप मिलाउने र पहुँच सडक तयार गर्ने कार्य आज आठौँ दिन पनि जारी छ। उक्त कार्यका लागि करिब १५ जना प्राविधिकको प्रत्यक्ष सुपरिवेक्षणमा १० वटा हेभी उपकरण परिचालन गरिएको छ।

सवारी आवागमनलाई सहज ढंगले सञ्चालन गर्न प्राविधिक दृष्टिकोणले सडकलाई लिमिटिङ ग्रेडियन्टमा सीमित राख्ने तयारी भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ।

ग्रेड कटिङ र पहुँच सडकको प्रारम्भिक काम सकिएपछि नाली निर्माण, सब–सर्फेस ड्रेनेज र स्लोप प्रोटेक्सनको काम अघि बढाइने ढकालले जानकारी दिए ।

राजधानीको आपूर्ति सन्तुलित राख्न प्राथमिकता

राजधानी काठमाडौं प्रवेश गर्ने प्रमुख नाका अवरुद्ध हुँदा आपूर्ति व्यवस्था प्रभावित भएकाले ग्यास बुलेट, मालवाहक सवारीसाधन र एम्बुलेन्सलगायतका अत्यावश्यक सवारीसाधनलाई यथासक्य चाँडो सञ्चालनमा ल्याउने सडक योजनाको प्राथमिकता छ।

‘सम्भव भएसम्म भदौ महिनाको अन्त्यसम्ममा आवागमनको व्यवस्था मिलाउन प्राविधिक र कामदारको टोली निरन्तर खटिइरहेको छ,’ इन्जिनियर ढकालले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?