+

कर्णालीसँग बदला लिँदै अन्नपूर्ण स्पाइकर किंग्सले जित्यो एनभीएलको उपाधि

२०८३ भदौ  २७ गते १९:१३ २०८३ भदौ २७ गते १९:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्नपूर्ण स्पाइकर किंग्सले कर्णाली शिवराजलाई ३–० ले हराउँदै एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिगको पहिलो उपाधि जित्यो।
  • अन्नपूर्णले २५–१५, २५–२० र २५–१७ को नतिजासहित २० लाख रुपैयाँ पुरस्कार पायो, जुन नेपाली घरेलु भलिबल इतिहासकै सर्वाधिक राशि हो।
  • फाइनलको दोस्रो सेटमा रेफ्रीको निर्णयविरुद्ध कर्णालीका खेलाडी र अधिकारी कोर्ट बाहिरिएका थिए, पछि संघका पदाधिकारीले सम्झाएपछि टोली फर्किएको थियो।

२७ भदौ, काठमाडौं । अन्नपूर्ण स्पाइकर किंग्सले कर्णाली शिवराजसँग लिग चरणमा बेहोरेको हारको बदला लिँदै एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा शुक्रबार भएको फाइनलमा अन्नपूर्णले कर्णालीलाई सोझो सेटमा ३–० ले पराजित गर्दै पहिलो च्याम्पियन बन्न सफल भयो । अन्नपूर्णले २५–१५, २५–२० र २५–१७ को जित निकाल्दै उपाधिसँगै २० लाख रुपैयाँ नगद पुरस्कार हात पार्‍यो । यो नेपाली घरेलु भलिबल इतिहासकै सर्वाधिक पुरस्कार राशि हो ।

मंगोलियाली खेलाडी उरानबायर मंखबायर, इंख एर्डेन जारगालसोट र तुर्मान्डाख गान्खुयागको उत्कृष्ट प्रदर्शनसँगै कप्तान हिमाल सुनारको नेतृत्वमा अन्नपूर्णले खेलभर कर्णालीलाई दबाबमा राख्यो ।

फाइनलको दोस्रो सेटमा रेफ्रीको निर्णयलाई लिएर विवाद उत्पन्न भएको थियो । अन्नपूर्ण ५–२ ले अगाडि रहेका बेला फस्ट रेफ्री विजय केसीले अन्नपूर्णको पक्षमा अंक दिएपछि कर्णालीका कप्तान पहल गहतराजसहित खेलाडी असन्तुष्ट बने ।

त्यसपछि खेलाडी, प्रशिक्षक र टोलीका अधिकारीहरू कोर्ट छाडेर बाहिर बसेका थिए । केहीबेर खेल बहिष्कारको अवस्था सिर्जना भए पनि नेपाल भलिबल संघका उपाध्यक्ष भरतबहादुर शाह र लिगका इन्टिग्रिटी अफिसर श्रवण शाहले सम्झाएपछि कर्णाली पुनः कोर्टमा फर्किएको थियो ।

यस क्रममा कर्णालीका एक समर्थकले कोर्टतर्फ पानीको बोतल प्रहार गरेपछि सुरक्षाकर्मीले उनलाई हलबाहिर निकालेका थिए ।

पहिलो हारपछि लगातार पाँच जित

अन्नपूर्णको उपाधि यात्रा पहिलो खेलबाट हेर्दा झन् विशेष बन्यो । टोलीले उद्घाटन खेलमै कर्णाली शिवराजसँग हार बेहोरेको थियो । त्यसपछि भने मंगोलियाको राष्ट्रिय टोलीका तीन खेलाडीको आगमनसँगै अन्नपूर्णले लगातार पाँच खेल जित्दै ट्रफी उचाल्यो ।

काठमाडौं रेड्सलाई सोझो सेटमा हराएर लय समातेको अन्नपूर्णले मधेश वारियर्सलाई ३–१, खप्तड फाल्कन्स सुदूरपश्चिमलाई ३–० तथा निर्णायक लिग खेलमा सगरमाथा स्म्यासर्सलाई ३–१ ले पराजित गर्दै सिधै फाइनल पुगेको थियो ।

उपाधि यात्रामा हिमाल सुनारी, सुरेन्द्र केसी, जितबहादुर शार्की, देव राना र जापानबाट आएका रवि केसीले पनि महत्त्वपूर्ण योगदान दिए ।

विश्वास अधिकारी, राजेन्द्र धामी र विवश आले मगरले पनि कोर्टमा अवसर पाए भने ट्यालेन्ट हन्टबाट टोलीमा परेका किरण भण्डारीले पहिलो संस्करणमै विदेशी तथा राष्ट्रिय स्तरका खेलाडीसँग ड्रेसिङ रुम साझेदारी गर्दै महत्वपूर्ण अनुभव बटुले।

अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय