+
+
Shares

कांग्रेसको पूर्णबहादुर खड्कानिकट नेताहरू महाधिवेशनमा सहभागी हुने

उक्त समूह महाधिवेशनमा सहभागी हुन तयार देखिएपछि संस्थापन पक्षले भोलि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । उक्त बैठकबाट केन्द्रीय कार्यसमितिमा केही सदस्य मनोनयन गर्ने सम्भावना छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २७ गते २१:२३

२७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट एक समूह संस्थापन पक्षले आयोजना गर्ने १५ औं महाधिवेशनमा सहभागी हुने भएको छ ।

यसअघि आफ्नो समूहका नेता खड्काले पार्टी एकताका लागि सारेको ८ बुँदे सर्त सभापति गगन थापा मान्न तयार रहेको भन्दै सो समूह महाधिवेशनमा सहभागी हुन तयार भएको हो ।

‘हामीले संस्थापन पक्षसँग ८ बुँदे माग राखेका थियौं । ती माग चुनदेवीबाटै तय भएका थिए,’ उक्त समूहमा एक नेता श्याम घिमिरेले भने, ‘ती सर्त पूरा भएपछि हामी १५ औं महाधिवेशनमा सहभागी हुने भएका छौं ।’

उक्त समूह महाधिवेशनमा सहभागी हुन तयार देखिएपछि संस्थापन पक्षले भोलि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । उक्त बैठकबाट केन्द्रीय कार्यसमितिमा केही सदस्य मनोनयन गर्ने सम्भावना छ ।

आफ्नो समूहले पटक–पटक छलफल गरेर यो निष्कर्षमा पुगेको नेता घिमिरेले बताए । ‘हामीले सदस्यताको विषय उठाएका थियौं, जुन कुरा उहाँहरूले अस्ती नै सम्बोधन गरिसक्नुभएको छ । यस्तै, निवर्तमान समितिका १११ जना केन्द्रीय सदस्यलाई समेटेर लैजाने कुरा, कार्यसम्पादन समितिमा सहभागी गराउने कुरा, भ्रातृसंस्थादेखि निर्वाचनसँग समितिमा सहभागिताको कुरा सभापतिजीले सम्बोधन गर्छु भनेपछि हामी यो निष्कर्षमा पुग्यौं,’ उनले भने ।

त्यही निष्कर्षअनुसार शुक्रबार निवर्तमान समितिका ३१ जना केन्द्रीय सदस्य तथा पदाधिकारीले साझा धारणा सार्वजनिक गरेको उनले बताए ।

‘त्यसमा हस्ताक्षर रहेका अधिकांश नेता हामीसँगै हुनुहुन्छ । अझै जिल्लातिर र बाहिर रहेका केही साथीहरू थपिनुहुन्छ,’ उनले भने ।

खड्का समूहबाट महाधिवेशनमा सहभागी हुनजाने करिब ४० जना निवर्तमान समितिका केन्द्रीय सदस्य रहने उनले दाबी गरे ।

तर, स्वयं खड्का भने संस्थापन पक्षले गर्ने महाधिवेशनमा सहभागी नहुने नेता घिमिरेले बताए । उनले भने, ‘उहाँले आफै अदालतमा मुद्दा हाल्नुभएकाले फैसला नआउँदै नैतिक रूपमा मिल्दैन भन्नुभएको छ । हामी उहाँसँग सल्लाहमै छौं ।’

कांग्रेसले १५ औं महाधिवेशन अन्तर्गत असोज ३ गतेबाट वडा अधिवेशन सुरु गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?