News Summary
Generated by OK AI. Editorially reviewed.- इन्डोनेसियाको जाभा सागरमा २४० जना सवार भर्गो ट्रान्सपोर्ट ८ यात्रुवाहक जहाज आइतबार सम्पर्कविहीन भएको छ।
- बन्जारमासिनको सर्च एन्ड रेस्क्यु अफिसका अनुसार जहाजको सञ्चार प्रणालीमा खराबी आएपछि खोजी कार्य सुरु भएको छ।
- उद्धार अधिकारीहरूका अनुसार जहाजको अन्तिम लोकेसन बन्जारमासिनको बन्दरगाहबाट करिब १४८ किलोमिटर टाढा देखिएको थियो र अहिलेसम्म हताहतको जानकारी छैन।
२८ भदौ, काठमाडौं । इन्डोनेसियामा २४० जना सवार एउटा यात्रुवाहक जहाज आइतबार बेपत्ता भएको छ। उक्त जहाज जाभा सागरमा पुगेपछि सम्पर्कविहीन भएको हो।
भर्गो ट्रान्सपोर्ट ८ नामक उक्त जहाज पूर्वी जाभाको सुराबायाबाट बोर्नियो टापुस्थित दक्षिण कालीमन्तन प्रान्तको राजधानी बन्जारमासिन जाँदै थियो। अधिकारीहरूले बेपत्ता जहाजको खोजी कार्य सुरु गरेका छन्।
बन्जारमासिनस्थित सर्च एन्ड रेस्क्यु अफिसका अनुसार, यात्राका क्रममा जहाजको सञ्चार प्रणालीमा खराबी आएको थियो। त्यसपछि जहाजसँग कुनै सम्पर्क हुन सकेको छैन।
उद्धार अधिकारीहरूका अनुसार, प्रारम्भिक जानकारीमा जहाजको अन्तिम लोकेसन जाभा सागरमा बन्जारमासिनको एउटा बन्दरगाहबाट करिब १४८ किलोमिटर टाढा देखिएको थियो। उद्धार टोलीहरूले उक्त क्षेत्रमा जहाजको तीव्र खोजी गरिरहेका छन्। हालसम्म जहाजमा सवार यात्रुहरू हताहत भएको कुनै जानकारी प्राप्त भएको छैन।
यसअघि पनि इन्डोनेसियामा यसअघि पनि जहाज डुबेर कैयौँ ठूला दुर्घटनाहरू भइसकेका छन्। यी दुर्घटनाहरूमा मुख्यतया खराब मौसम, समुद्री आँधी, क्षमताभन्दा बढी यात्रु बोक्नु र सुरक्षा नियमहरूको उचित पालना नगर्नु जस्ता कारणहरू बाहिर आउने गरेका छन्।
यसअघि सन् १९८१ मा ताम्पोमास-२ नामक यात्रुवाहक जहाज जाभा सागरमा डुब्दा करिब ४३० जनाको मृत्यु भएको थियो।
त्यस्तै, सन् २००६ मा खराब मौसमका कारण सेनोपाती नुसन्तारा नामक फेरी जाभा सागरमै डुबेको थियो। सो दुर्घटनामा ४०० भन्दा बढी मानिसको मृत्यु भएको वा बेपत्ता भएका थिए।
सन् २००७ मा लेभिना-१ फेरीमा आगलागी भएर डुब्दा ५० भन्दा बढीको ज्यान गएको थियो। सन् २०१८ मा लेस्तारी माजु फेरी दक्षिण सुलावेसी नजिकै डुब्दा ३६ जनाको मृत्यु भएको थियो।
इन्डोनेसियामा किन बढी हुन्छ समुद्री दुर्घटनाको जोखिम ?
इन्डोनेसियामा १७ हजारभन्दा बढी टापुहरू छन् र करिब २८ करोड जनसङ्ख्याको ठूलो हिस्सा विभिन्न टापुहरूमै बसोबास गर्छ। यस्तो अवस्थामा विभिन्न सहर र टापुहरूबीच आवतजावत गर्न फेरी र यात्रुवाहक जहाज नै प्रमुख साधन हुन्। हरेक दिन ठूलो सङ्ख्यामा मानिसहरूले यसैमार्फत यात्रा गर्छन्।
यो देश उष्णकटिबन्धीय क्षेत्रमा पर्ने भएकाले यहाँ भारी वर्षा, हुरीबतास र उच्च समुद्री छालको जोखिम सधैँ रहन्छ। यस्तो मौसममा साना र मझौला आकारका जहाजहरूलाई यात्रा गर्न निकै कठिन हुन्छ।
यसबाहेक, विगतमा भएका धेरै दुर्घटनाहरूको अनुसन्धान गर्दा क्षमताभन्दा बढी यात्रु चढाउने, सुरक्षा उपकरणको कमी र सुरक्षा मापदण्डहरूको उचित पालना नगर्ने जस्ता कमजोरीहरू पनि सतहमा आएका छन्। यद्यपि, हरेक दुर्घटनाको कारण भने फरक-फरक हुन सक्छ।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4