News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोसी बाढीपछि बेपत्ता ५ हजार ९३२ जनाका परिवारलाई तुरुन्त ग्रिफ काउन्सिलिङ सेवा सुरु गर्नुपर्ने लेखकले बताएका छन्।
- विपद्मा परेका बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला र मातृशिशुका लागि विशेष मनोवैज्ञानिक तथा शारीरिक सहायता आवश्यक रहेको लेखमा उल्लेख छ।
- सरकार र स्थानीय निकायले पुनर्स्थापनाको कार्यक्रम छिटो निर्णय गरेर नदीकिनारका बस्ती नबसाल्नुपर्ने तथा आत्मविश्वास बढाउने योजना ल्याउनुपर्ने सुझाइएको छ।
करिब डेढ महिनाअगाडिको कुरा हो। परेवाले फोहोर गरेर असाध्यै दुःख दियो भनेर एउटा बार्दलीमा जाली हाल्न लागेका थिए। जाली हाल्ने क्रममा एसीको बाहिर राखेको भागमा, जसको माथि ‘बर्ड स्पाइक’ (प्लास्टिकको काँडाजस्तो घोच्ने वस्तु) समेत थियो, त्यसको बीचमा मसिना तारका साना टुक्रा, रूखका मसिना हाँगाजस्ता कुराहरू ल्याएर परेवीले दुइटा फुल पारेकी रहिछ।
जाली हाल्ने व्यक्तिले त्यो निकालेर फालिदिए। जालीमा किला ठोक्दाठोक्दै परेवी हान्निँदै जालीमा ठोक्किन आइपुगी। सायद त्यो उनको घरबार थियो। जाली हालेर नसिध्याउन्जेल त्यो हान्निँदै आएकी परेवी अर्को परेवासँग जाली ठोकेको बार्दली हेर्दै, पटकपटक ठोक्किन आउँदै नजिकैको टेलिफोनको टावरमा आफ्नो भत्काइएको गुँडतिर हेर्दै बसिरही।
परेवी ठोक्किन आउने क्रम करिब एक हप्तासम्म चलिरह्यो। यसैबीच घरबेटीले भन्नुभयो, ‘म त काठको एउटा घर बनाएर भित्तामा राखिदिऊँ कि क्या हो !’
मैले भनेँ, ‘परेवीले मानिसले छोएको अण्डाबाट बच्चा काढ्दिन; अब त्यसको जरुरत पर्दैन, उनले अण्डा पार्न अर्को स्थान खोज्नुपर्छ।’
तर पनि त्यो दृश्य आँखामा बिझाइरह्यो, मन भारी भइरह्यो। किनकि परेवीको गुँड उजाडिएको थियो, घरबेटीको मनमा वेदना भरिएको थियो। भोटेकोसीको महाप्रलयपश्चात् त्यहाँका बासिन्दाहरूको पीडा सम्झिएर त्यही परेवीको याद आयो।
घर भनेको केवल माटो, ढुङ्गा, बालुवा र सिमेन्टको सम्मिश्रण मात्रै होइन। त्यहाँ भावना हुन्छ, स्मृति हुन्छ, हाँसो र दुःखको भेल बगेको हुन्छ र आफ्नो सपनाको संसार बुनिएको हुन्छ।
राहत भनेको एक बोरा चामल, केही छाकको भोजन र केही सरो लुगा मात्रै होइन; तीव्र मानसिक तथा भावनात्मक तनावबाट सामान्य अवस्थामा फर्किन चाहिने सहयोग पनि हो।
हिजोसम्म परेको बेला ८–१० लाखभन्दा बढी रकम तुरुन्तै निकाल्न सक्ने मानिस एक्कासि एक डाडु चाउचाउ र कसैले बाँडेको राहतको चामलको भात थाप्न लाइनमा बस्नुपर्छ भने त्यो मानिसको मनमा कस्तो आँधी चलेको होला ?
वास्तवमै अहिले चामलको बोरासँगै लानुपर्ने सेवा भनेको मनोपरामर्श सेवा हो। यसका लागि चरणबद्ध रूपमा काम गरिनुपर्छ।
पहिला त हराएका परिवारका सदस्यहरूको घाउमा मलम लगाउनेतर्फ सोचिनुपर्छ। त्यो पीडा साह्रै कष्टकर हुन्छ। ती सम्पर्कविहीन सदस्यहरूलाई परिवारले हत्तपत्त बिर्सन सक्दैन।
यसको एउटा उदाहरण— वि.सं. २०४९ साउन १६ गते बैङ्ककबाट काठमाडौं आउँदै गरेको एयरबस ए३१० नुवाकोटको घ्याङफेदीस्थित पहाडमा ठोक्किएर दुर्घटना हुँदा चालक दलका १४ सदस्य र ९१ जना यात्रुको मृत्यु भएको थियो। त्यतिबेला पारिवारिक चिनजानका एक जना युवकले ज्यान गुमाएका थिए।
त्यतिबेला उनकी पत्नीलाई सम्झाउन धेरै गाह्रो भएको याद छ। उनी हरेक जोखना हेर्ने ठाउँमा हेराउन पठाउँथिन् र भन्थिन्, ‘उनको (पति) मृत्यु भएको छैन, कतै रूखको टोड्कामा अड्किएर बसेका छन्।’ उतिबेला अहिलेको जस्तो मनोपरामर्श सेवाको चलन नै थिएन। यदि कसैले त्यस्तो डाक्टरहरू देखाउने कुरा गर्यो भने सिधै ‘पागल’ को आरोप लगाएजस्तो हुन्थ्यो।
हाल त्यो समय छैन। यसका लागि सरकारी/गैरसरकारी ज–जसले सक्छन्, आ–आफ्नो तर्फबाट ‘ग्रिफ काउन्सिलिङ’ सेवा तत्काल सुरु गरिनुपर्छ। परिवारले बरु मृत्युको झट्का सहन सक्ला ! त्यसका लागि केही समयपछि जीवनलाई लयमा फर्काउन पनि सक्ला ! तर, परिवारको सदस्य हराएर नभेटिँदाको पीडा जीवनभर रहन्छ।
यो पङ्क्तिकारको बुबाको दाजु १९ वर्षमा घर छाडेर हिँड्नुभएको रहेछ। उहाँ हराएको पीडा हजुरआमाले आफ्नो मृत्युपर्यन्त मनमा राखिरहनुभयो। हजुरआमा समय–समयमा भन्नुहुन्थ्यो, ‘ठूलोबाबु फर्किएर आउँछन्।’ ठूलोबाबु ५६ वर्षपछि फर्किएर त आउनुभयो, तर हजुरआमा दिवङ्गत हुनुभएको करिब १३ वर्ष भइसकेको थियो।
अर्को पीडा परिवारले शव नभेट्दा पनि हुन्छ। यसका लागि सरकारले शवको खोजी त गरिरहेकै छ, तापनि यसमा पनि काउन्सिलिङको महत्त्वपूर्ण भूमिका रहन्छ। भोटेकोसीको बाढीजस्तै अप्रत्याशित दुर्घटना सन् २००१ सेप्टेम्बर ११ को दिन अमेरिकामा भएको थियो। उक्त घटना यहाँको जस्तो प्राकृतिक प्रकोप नभई मानवीय अपराध थियो।
त्यस दिन न्युयोर्कस्थित विश्वप्रसिद्ध ट्विन टावरमध्येको साउथ टावर र पछि पेन्टागनलाई विमान लगेर ठोक्काइएको थियो; जसबाट हजारौंको सङ्ख्यामा मानिसहरू हताहत भएका थिए। सोही दिन नै अर्को एक विमान पेन्सिल्भेनियाको सानो सहर स्याङ्क्सभिलमा गएर खरानीमा परिणत भयो।
त्यसबेला अमेरिकाजस्तो सर्वसुविधासम्पन्न देशमा पनि ती दुर्घटनामा परेका व्यक्तिहरूको शव किस्ता–किस्तामा (कहिले हात त कहिले खुट्टा, कहिले शरीरको कुनै अङ्ग) खोज्दै परिवारका सदस्यहरूलाई बुझाउनुपरेको थियो।
ट्विन टावरको दुर्घटनामा ज्यान गुमाएका व्यक्तिकी पत्नी क्रिस्टेन ब्रेटवाइजरकै भनाइमा— उनले आफ्नो पतिको देब्रे हात फेला परेको खबर मध्य अक्टोबरतिर एक दिन राति साढे ९ बजे आफ्नो घरको ढोकामा पुलिस आएर जानकारी दिएपछि थाहा पाएकी थिइन् भने दाहिने हात घटनाको तीन वर्षपछि फेला परेको खबर पाएकी थिइन्।
इतिहासमा यस्ता हृदयविदारक घटनाहरू पनि घटेका छन्, जसको कारण ती पीडितहरू थिएनन्; जसरी भोटेकोसी प्रलयको कारण त्यहाँ ज्यान गुमाउने वा सम्पर्क टुटेका व्यक्तिहरू वा उनीहरूका परिवारका सदस्यहरू थिएनन्/होइनन्।
यो आलेख तयार पार्दासम्म कुल बेपत्ता सङ्ख्या (विदेशी नागरिकसहित) ५ हजार ९३२ छ भनिएको छ।
उनीहरूका परिवारलाई भावनात्मक तथा मानसिक आघात परामर्शको सुरुआत गर्न ढिला गर्नुहुँदैन। उनीहरूको पीडा ‘नन–जजमेन्टल’ भएर सुनिदिने, आक्रोशप्रति प्रतिक्रिया नजनाइकन बोल्न दिने, ‘तिमीहरूका लागि हामी छौं, परेको सहायता गर्छौं’ भनेर ढाडस दिने व्यक्ति, संस्था तथा निकायहरूको समूह तयार गरेर समूहबद्ध स्तरमा होस् वा एक्लै राखेर मनोवैज्ञानिक परामर्श दिनुपर्छ।
हामीहरू टाढाबाट त्यो महाप्रलय देख्नेहरूलाई त झन्डै एक हप्ता नै मानसिक आघात परेको अनुभूति भएको थियो भने आफ्नै आँखाअगाडि पूरै/आंशिक परिवार गुमाउँदा, वर्षौंको कमाइ खोलाको बगरमा परिणत हुँदा त्यसबाट हुन सक्ने ‘पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर’ (पीटीएसडी) बाट निस्किन कसै न कसैको ‘ग्रिफ काउन्सिलिङ सपोर्ट’ अत्यावश्यक हुन्छ।
ती पीडितहरूलाई भविष्य सोचेर हुने चरम निराशाबाट निकाल्न पनि मनोपरामर्शदाताहरूलाई परिचालन गर्नुपर्छ। यसमा सरकारले स्थानीय तवरमै उक्त सेवा प्रदान गर्न टोलीहरू बनाउनुपर्छ।
विपद्मा परेका बालबालिकाहरूलाई विशेष ध्यानमा राखेर, उनीहरूको उमेर समूहलाई लक्षित काउन्सिलिङको सेवा तत्काल सुरु गर्नुपर्छ।
अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला, मातृशिशु स्वास्थ्य, सुरक्षा, गोपनीयता र उनीहरूलाई चाहिने आवश्यकताअनुसारको शारीरिक, मानसिक र अन्य सहयोगका लागि विशेष व्यवस्थापन गरिनुपर्छ।
सबैभन्दा महत्त्वपूर्ण पाटो पुनर्स्थापनाकै हुन्छ। मानिसलाई आफ्नो थातथलो छाडेर हत्तपत्त कतै बसाइँ सर्न मन लाग्दैन। तर यस्तो महाप्रलयको स्थिति भोगिसकेपछि उनीहरूलाई सम्झाइबुझाइ गरेर अब नदीकिनारमा बस्ती बसाल्न दिनुहुँदैन।
यसका लागि सरकारले र स्थानीय निकायले पनि ‘के–कस्तो कार्यक्रम ल्याउने हो ?’ सकेसम्म छिटो निर्णय गर्नुपर्छ। ताकि, उनीहरू फेरि आफ्नो घरबास बसाउनतिर लागेर विगतका पीडालाई कम गर्न सकून्। यसका लागि पनि आत्मविश्वास बढाउने, सामुदायिक सहयोगको भावनामा जोड दिने खालका कार्यक्रमहरू पनि सञ्चालन गर्नुपर्छ।
मानिस पनि त्यो परेवीजस्तै हो, जसले उजाडिएको गुँड र भत्किएको मन यत्तिकै भर्न सक्दैन। उसलाई मनमा मलम लगाउने हातहरूका साथै काँधमा काँध दिने साथहरू चाहिन्छ। त्यसमा प्रमुख भूमिका सरकारले तुरुन्तै तदारुकताका साथ निभाउनुपर्छ।
प्रतिक्रिया 4