News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाले न्युरोडस्थित एनएसी भवनलाई बहुस्तरीय पार्किङका रूपमा विकास गर्न संघीय सरकारसँग अनुमति मागेको छ।
- कार्यवाहक प्रमुख सुनिता डंगोलले सीमित क्षेत्रफलको अधिकतम सदुपयोग गरेर कोर एरियाको पार्किङ समस्या समाधान गर्न प्रस्ताव अघि बढाइएको बताइन्।
- महानगरले काठमाडौंभरको पार्किङ समस्या र दिगो व्यवस्थापनबारे विज्ञमार्फत अध्ययन गरिरहेको छ।
२८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडस्थित नेपाल वायुसेवा निगम (एनएसी) को भवनलाई मल्टी स्टोरी पार्किङका रूपमा विकास गर्न संघीय सरकारसँग अनुमति मागेको छ।
काठमाडौंमा बढ्दो पार्किङ समस्या समाधानका लागि सीमित स्थानको अधिकतम सदुपयोग गर्ने उद्देश्यले महानगरले यो प्रस्ताव अघि बढाएको हो।
आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले एनएसी भवनमा पार्किङ संरचना निर्माणका लागि संघीय सरकारसँग विशेष अनुरोध गरिएको जानकारी दिइन्।
‘पार्किङको समस्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। हाम्रो क्षेत्रफल सीमित भएकाले उपलब्ध ठाउँको सही सदुपयोग गरेर पार्किङ व्यवस्थापन गर्नु आजको आवश्यकता हो,’ डंगोलले भनिन्, ‘एनएसीमा बहुस्तरीय पार्किङ निर्माण हुन सकेमा विशेषगरी कोर एरियाको पार्किङ समस्या समाधान गर्न महत्त्वपूर्ण योगदान पुग्ने हाम्रो विश्वास छ।’
महानगरले सीमित क्षेत्रफलमा नयाँ ठाउँ थप्नेभन्दा पनि उपलब्ध स्थानको उचित सदुपयोग गर्नुपर्नेमा जोड दिएको छ। यसै सन्दर्भमा काठमाडौंभरको पार्किङ समस्या र त्यसको दिगो व्यवस्थापनका विषयमा अहिले विज्ञमार्फत विस्तृत अध्ययन भइरहेको कार्यवाहक प्रमुख डंगोलले बताइन्।
केही समयभित्रै विज्ञहरूको अध्ययन प्रतिवेदन प्राप्त हुने र प्रतिवेदनले दिएका सुझावका आधारमा पार्किङ व्यवस्थापनलाई अझ व्यवस्थित र प्रणालीगत बनाउँदै समस्या समाधानतर्फ महानगर अघि बढ्ने उनले स्पष्ट पारेकी छन्।
प्रतिक्रिया 4