+
+
Shares

नेपालले चीनबाट सिकेर नयाँ विकास मोडल तय गर्नुपर्छ : झलनाथ खनाल

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते १८:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झलनाथ खनालले काठमाडौंमा काष्ठमण्डप संवाद समापन गर्दै नेपालले चीनबाट सिकेर आफ्नै विकास मोडल र समाजवाद निर्माण गर्नुपर्ने बताए ।
  • उनले चीनले सन् १९४९ पछि राजनीतिक स्थिरता कायम गर्दै विकास अघि बढाएको उल्लेख गर्दै स्थिरता विकासको पहिलो सर्त भएको बताए ।
  • खनालले चीनको मोडल प्रत्यक्ष नक्कल नगरी नेपाली विशेषताअनुसार राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणको बाटो विकास गर्नुपर्ने बताए ।

२८ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालले चीनबाट सिक्दै आफ्नै नयाँ विकास मोडल र समाजवाद निर्माण गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित तेस्रो संस्करणको काष्ठमण्डप संवादको आईतवार समापन गर्दै उनले चीनले सन् १९४९ को क्रान्तिपछि हासिल गरेको राजनीतिक स्थिरता र विकासबाट नेपालले महत्वपूर्ण शिक्षा लिनुपर्ने बताए ।

चीनले स्थिरतालाई विकासको पहिलो र प्राथमिक शर्तका रूपमा लिएको उल्लेख गर्दै उनले नेपालमा पनि दिगो स्थिरताको आधार निर्माण गर्नु चुनौतीपूर्ण रहेको बताए ।

चीनले आफ्नो राजनीतिक, आर्थिक र सामाजिक विकासका लागि अन्य देशको मोडलको नक्कल नगरी आफ्नै देशको विशेषताअनुसार बाटो तय गरेको उनले बताए ।

‘चीनले सन् १९४९ मा क्रान्तिमा विजय प्राप्त गरेदेखि नै नितान्त स्थिरता कायम गरिरहेको छ । यो हामीले पनि सिक्नुपर्ने कुरा छ, कसरी हामी स्थिरता प्राप्त गर्न सक्छौँ ? चीनले बारम्बार के भनिरहेको हुन्छ भने स्थिरताबिना विकास सम्भव हुँदैन । त्यसकारण स्थिरता नै विकासको पहिलो र प्राथमिक सर्त हो भन्ने कुरा उहाँहरू भन्नुहुन्छ,’ उनले भने, ‘उहाँहरूले हामीलाई पनि ‘किन तपाईंहरूकोमा चाहिँ स्थिरता भएन ?’ भनेर सोध्ने गर्नुहुन्छ । चीनले जुन स्थिरता जुन कारणले प्राप्त गर्नुभएको छ, त्यसका जुन आधारहरू छन्, ती आधार कसरी निर्माण गर्ने भन्ने कुरा नेपालका निम्ति पनि ठूलो चुनौतीको विषय हो । त्यसबाट हामीले गम्भीर रूपमा सिक्नुपर्ने कुराहरू छन् ।’

नेपालले पनि परिवर्तन र रूपान्तरणका क्रममा नेपाली विशेषताअनुसारको मोडल विकास गर्नुपर्ने उनको भनाइ छ ।

खनालका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीले क्रान्तिका क्रममा उपलब्ध अन्य मोडललाई जस्ताको तस्तै अनुकरण नगरी चिनियाँ विशेषताअनुसारको बाटो विकास गरेको थियो । समाजवाद निर्माणमा पनि चीनले सोभियत संघ तथा पूर्वी युरोपका मुलुकहरूको मोडलको हुबहु अनुकरण नगरेको उनले बताए ।

चीनले विकास गरेको राजनीतिक प्रणाली र शासन व्यवस्थाबाट नेपालले सिक्नुपर्ने भएपनि चिनियाँ मोडलको प्रत्यक्ष अनुकरण गर्न भने नहुने उनको भनाइ छ ।

‘जसले मार्क्सवाद बुझेका छैनन्, समाजवाद बुझेका छैनन्, चीनले गरिरहेको विकासको प्रवाहलाई बुझेका छैनन्, ती साथीहरूले यस प्रकारको टिप्पणी गर्नुलाई म कुनै ठूलो आपत्ति मान्दिनँ । चीनले समाजवाद निर्माणको जुन उदाहरण प्रस्तुत गरेको छ, त्यसबाट हामीले सिक्नुपर्छ । हामीले नक्कल–झक्कल गर्ने होइन । हामी अहिले लोकतन्त्रको कुरा गरिरहेका छौँ । हामीले पश्चिमा लोकतन्त्रको करिब–करिब ठाडो नक्कल गरेका छौं । ठाडो नक्कल,’ उनले भने, ‘तर चीनले पाँच हजार वर्षअघिदेखिको चीनको सांस्कृतिक विकास, उनीहरूको इतिहासको विकास, राजनीतिक–वैचारिक विकास र दार्शनिक विकास, यो सम्पूर्ण विकासको अनिवार्य परिणति हो यो भनेर प्रमाणित गरेर त्यो व्यवस्था स्थापना गरेका छन् । हामीले पनि हाम्रो देशको सन्दर्भमा सोच्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?