+
एन्फाको पत्रकार सम्मेलन :

‘सरकारले निलम्बन फुकुवाबारे ठोस निर्णय नदिए सोमबारदेखि दैनिक गतिविधि सुरु गर्छौं’

२०८३ असोज  १ गते १३:४५ २०८३ असोज १ गते १३:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एन्फाले सरकारले निलम्बन फुकुवामा ठोस निर्णय नगरे सोमबारदेखि फिफाको निर्देशनअनुसार गतिविधि सुरु गर्ने जनाएको छ।
  • सीईओ इन्द्रमान तुलाधरले एकेडेमीका बाल खेलाडीको पढाइ, आवास र खानाको समस्या बढेको भन्दै सरकारलाई तत्काल पहल गर्न आग्रह गर्नुभयो।
  • फिफाले गत असारमा तेस्रो पक्षको हस्तक्षेप भन्दै एन्फालाई निलम्बन गरेपछि नेपाली फुटबल अन्तर्राष्ट्रिय गतिविधिबाट बाहिर छ।

१ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरकारले निलम्बन फुकुवाका लागि ठोस निर्णय नगरे सोमबारदेखि फिफाको निर्देशनअनुसार आफ्ना गतिविधि सुरु गर्ने जनाएको छ ।

एन्फाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्रमान तुलाधरले शुक्रबार पत्रकार सम्मेलनमा एकेडेमीमा रहेका खेलाडीहरूको भविष्य जोखिममा परेको भन्दै सरकारले तत्काल पहल गर्नुपर्ने बताएका हुन् ।

‘भोलिसम्म सरकारबाट सकारात्मक कुरा आयो भने साफमा सहभागिता जनाउन पनि पाउँछौं होला, अन्यथा यस्तो विकराल समस्याहरू भइरहेका छन्, सोमबारदेखि हामी फिफाको निर्देशनअनुसार गतिविधि सुरु गर्छौं’ तुलाधरले भने ।

उनले एन्फा एकेडेमीका बाल खेलाडीहरूको पढाइ र आवाससम्बन्धी समस्या बढ्दै गएको पनि बताए । ‘एकेडेमीमा रहेका बच्चाहरूको पढाइ र खानाको समस्या भइरहेको छ, खाना नै नदिइकन राख्ने कुरा पनि भएन’ उनले भने ।

तुलाधरका अनुसार सरकारले निलम्बन फुकुवाका लागि गर्ने कुनै पनि पहलमा एन्फाले पूर्ण साथ दिनेछ। तर कुनै प्रगति नभए फिफाको नियमअनुसार दैनिक फुटबल गतिविधि अघि बढाइने उनले स्पष्ट पारे ।

‘सरकारले गर्ने पहलमा हाम्रो पनि साथ रहनेछ, केही पहल भएन भने फिफाको नियमअनुसार दैनिक गतिविधि अगाडि बढाउँछौं’ उनले भने ।

तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत असारमा एन्फालाई निलम्बन गरेपछि नेपाली फुटबल अन्तर्राष्ट्रिय गतिविधिबाट बाहिर छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) इन्द्रमान तुलाधर एन्फा निलम्बन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय