News Summary
Generated by OK AI. Editorially reviewed.- संविधान दिवसमा टुँडिखेलमा गृहमन्त्री सुदन गुरुङको हातमा परेवा बसेपछि उनले त्यसलाई सुमसुम्याएर जतनसाथ छाडिदिए।
- परेवा शान्तिको प्रतीक मानिए पनि मानिसले त्यसलाई सन्देशवाहक र भाकलका लागि प्रयोग गर्दै आएको लेखमा उल्लेख छ।
- गुरुङले पशु अधिकारसम्बन्धी कडा कानून निर्माणका लागि मेहनत भइरहेको बताउँदै पनि पशु कल्याणको कानून बन्न नसकेको लेखमा भनिएको छ।
गृहमन्त्री सुदन गुरुङको हातमा अचानक परेवा बस्न आइपुग्छ । उनले परेवालाई प्रेमपूर्वक उठाउँछन् र फेरि उडाउन खोज्छन् । केही क्षण परेवाले भुर्र–भुर्र पखेटा फटफटाउँछ । उड्न खोज्छ ।
समारोह पछि गृहमन्त्री गुरुङ आफ्नो आसनबाट उठेर हिँड्न खोज्दै थिए । अनायास परेवा आएपछि उनी सरासर हिँड्न सक्दैनन् । किनभने उनको हातमा परेवाले पखेटा फटफटायो । कुनै जादुगरले हठात् आफ्नो रित्तो हातमा परेवा प्रकट गराएजस्तो देखिन्छ ।
परेवा उड्न असमर्थ छ सायद । अन्ततः गृहमन्त्री गुरुङ त्यसलाई मायाले सुमसुम्याउँछन् र नजिकै जतनसाथ छाडिदिन्छन् ।
खासमा यो दृश्य टुँडिखेलको हो । माहौल चाहिँ, संविधान दिवसको । यो राष्ट्रिय उत्सवमा केही थान परेवा उडाउने परम्परा छ । भनिरहनु परेन, परेवा शान्तिको प्रतीक मानिन्छ ।
यो दृश्य आफैंमा प्रतीकात्मक थियो । दुई कारणले ।
शान्तिको प्रतीक परेवा उसैको हातमा गएर बसिदियो, जसले मुलुकको शान्ति सुव्यवस्थाको जिम्मेवारी सम्हालेका छन् ।
त्यो कमजोर पंक्षी उसैको हातमा गएर बसिदियो, जसले वास्तवमै पशुप्राणीप्रति करुणाभाव राख्छन् ।
एकदमै तामझामसहित ‘शान्तिका लागि’ उडाइएको परेवा सायद बच्चै थियो । त्यो पूर्णतः उड्न सक्षम थिएन । पखेटाको हड्डी राम्ररी विकास भइसकेको थिएन ।
जब एउटा पंक्षी उड्न सक्षम नहुँदै उसलाई आमाबुबाबाट अलग गरिन्छ, तब के हुन्छ ? उसले आफ्ना लागि आहार जुटाउन सक्दैन । बरु, ऊ स्वयं अरूको आहार बन्न सक्छ ।
परेवा खासमा अभागी पंक्षी हो । यसलाई मान्छेले पटक–पटक प्रयोग गरे । यतिविध्न प्रयोग गरे, जसको कारण उसले आफ्नो थातवास अर्थात् जंगल छाडे । अनि मान्छेसँगै बस्न थाले । तर, मान्छेका लागि परेवा अहिले ‘बेकामे’ भइदियो ।
कुनैबेला परेवाले मान्छेका लागि ‘सन्देशवाहक’ अर्थात् हुलाकीको काम गरिदियो । लामो दूरी उडान भर्न सक्ने, जहाँसम्म पुगे पनि आफू बसेको घर फर्कने क्षमताका कारण परेवालाई चिठी आदानप्रदानका लागि प्रयोग गरिएको पाइन्छ । खासगरी पहिलो विश्वयुद्धमा सैन्य सञ्चारका लागि परेवा प्रयोग भएको उल्लेख छ ।
यसरी सन्देशवाहकको रूपमा काम गर्दै मान्छेसँग नजिक भएको परेवालाई अहिले मान्छेले ‘भाकल’ बुझाउन बढी प्रयोग गर्छन् । आफ्नो मनको कामना पूरा गर्न परेवाको भाकल बुझाउने चलन व्यापक छ । यही कारण विभिन्न तीर्थस्थल, मठमन्दिर आदिमा परेवा छ्यापछ्याप्ती भेटिन्छन् । त्यहाँ उड्नै नसक्ने अवस्थाका परेवाहरू लगेर छाडिने गरिएको पाइन्छ ।
‘शान्तिको प्रतीक’ भनिने परेवाहरू मान्छेबाट कसरी उपेक्षित छन् ? सायद गृहमन्त्री गुरुङले अनुभूत गरेका होलान् । किनभने उनी पशुप्राणीप्रति दयाभाव राख्ने व्यक्ति हुन् । उनले विभिन्न प्रसंगमा अबोध पशुप्राणीका लागि समाजसँग जुध्नुपरेका घटना सार्वजनिक गरिसकेका छन् । त्यसो त बेलाबखत सार्वजनिक स्थानमा पनि उनको त्यस्तो मनोभाव झल्कने गरेको छ ।
स्कुल बसले कुकुरलाई कुल्चिएर मारेको सन्दर्भमा उनले फेसबुकमा भिडियो पोस्ट गर्दै लेखेका थिए, ‘कुनै समाजको वास्तविक शक्ति उसले कसरी शासन गर्छ भन्ने कुराले होइन, आफ्ना सबैभन्दा असहाय प्राणीहरूको कसरी संरक्षण गर्छ भन्ने कुराले मापन हुन्छ ।’
यसैमा उनले अर्को महत्वपूर्ण कुरा पनि लेखेका थिए, ‘हामी कडा पशु अधिकारसम्बन्धी कानुन निर्माणका लागि निरन्तर मेहनत गरिरहेका छौं । तपाईंहरूको धैर्य र साथ हाम्रा लागि अत्यन्तै महत्वपूर्ण छ ।’
यद्यपि लामो समय बितिसक्दा पनि पशु कल्याणको कानुन बन्न सकेको छैन । त्यही कारण पशु क्रूरताको घटना दिनहुँ बढ्दो छ ।
प्रतिक्रिया 4