News Summary
Generated by OK AI. Editorially reviewed.- बुटवलमा पाल्पाको नुवाकोट डाँडाबाट बेलबाससम्म पाराग्लाइडिङको पहिलो सफल परीक्षण उडान गरिएको छ।
- लुम्बिनी इगल एअर एडभेन्चर प्रालिले आवश्यक प्रक्रिया पूरा गरेर छिट्टै व्यावसायिक उडान सञ्चालन गर्ने तयारी गरेको छ।
- पाराग्लाइडिङ सञ्चालनपछि बुटवलको पर्यटन, स्थानीय अर्थतन्त्र र रोजगारीमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
५ असोज, बुटवल । बुटवलमा पाराग्लाइडिङ उडानको सफल परीक्षण गरिएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ नुवाकोट डाँडाबाट बुटवल उपमहानगरपालिका–१३ बेलबास बदेलपोखरी जितेश्वरी मावि क्षेत्रसम्म पाराग्लाइडिङको सफल परीक्षण उडान गरिएको हो ।
लुम्बिनी इगल एअर एडभेन्चर प्रालिले आइतबार स्याङ्जाको बाबु एडभेन्चर पाराग्लाइडिङको प्राविधिक सहयोगमा नुवाकोट डाँडाबाट बेलबाससम्म परीक्षण उडान गरेको हो । नुवाकोट डाँडाबाट उडान भरेर बुटवल–१३ को बेलबास क्षेत्रमा सुरक्षित अवतरण गरिएको कम्पनीले जनाएको छ ।
बुटवल क्षेत्रमा पहिलोपटक पाराग्लाइडिङको परीक्षण उडान सफल भएको लुम्बिनी इगल एअर एडभेन्चर प्रालिका अध्यक्ष डा. किसन थापाले बताए । उनका अनुसार करिब एक दशकअघिदेखि सम्भाव्यता अध्ययन थालिएको योजनाले परीक्षण उडानको चरण पार गरेको हो । ‘करिब एक दशकअघिदेखि यसको सम्भाव्यता अध्ययन गर्दै आएका थियौँ । अहिले परीक्षण उडान सफल भएको छ’, थापाले भने, ‘अब आवश्यक प्रक्रिया पूरा गरेर छिट्टै व्यावसायिक उडान सञ्चालन गर्ने तयारीमा छौँ ।’
बुटवलमा पाराग्लाइडिङ सञ्चालन भएपछि यस क्षेत्रको पर्यटनमा नयाँ प्रडक्ट थपिने अपेक्षा गरिएको छ । विशेषगरी लुम्बिनी र आसपासका पर्यटकीय क्षेत्रमा आउने पर्यटकको बसाइ लम्ब्याउन पाराग्लाइडिङले सहयोग पुग्ने थापाको भनाइ छ ।
उनका अनुसार लुम्बिनी आउने पर्यटकलाई थप आकर्षित गर्न पाराग्लाइडिङ एउटा नयाँ साहसिक पर्यटन गतिविधि बन्न सक्छ । आकाशबाट बुटवल, तिनाउ क्षेत्र, पहाडी भूभाग तथा आसपासका प्राकृतिक दृश्य अवलोकन गर्न सकिने भएकाले यसले पर्यटन गतिविधि विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको थापाले बताए ।
परीक्षण उडानका लागि संघीय पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक उडान स्वीकृति लिइएको तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँग समेत समन्वय गरिएको अध्यक्ष थापाले जानकारी दिए ।
बुटवलको पर्यटनमा नयाँ प्रडक्ट
बुटवलमै प्रोजेक्ट बुटवल टुरिजम अभियान चलाइरहेका युवा उद्यमी पुकार थापाको समूहले पनि बुटवलमा पाराग्लाइडिङ सञ्चालनको तयारी गरिरहेका छन् । थापाले पाल्पाको बसन्तपुरबाट तिनाउ नदी किनार क्षेत्रमा उडान गर्ने गरी तयारी भइरहेको बताएका छन् ।
नुवाकोट– बदेलपोखरी परीक्षण उडान बुटवल उपमहानगरपालिका–१३ नम्बर वडा कार्यालयको आयोजनामा गरिएको वडा सदस्य झविलाल थापाले बताए ।

उनका अनुसार पाराग्लाइडिङको व्यावसायिक सञ्चालनपछि बुटवलको पर्यटन क्षेत्रमा नयाँ गन्तव्य र उत्पादन थपिनेछ । ‘बुटवलमा पाराग्लाइडिङ चलाउन सकिन्छ भन्ने आजको परीक्षण उडानले पुष्टी गरेको छ, अब व्यवसायिकरुपमा सञ्चालन हुनु यहाँको पर्यटनका लागि नयाँ सुरुवात हो’–थापाले भने–‘व्यावसायिक रूपमा सञ्चालनमा आएपछि पर्यटक आकर्षित हुनुका साथै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेका छौँ ।’
पाराग्लाइडिङ सञ्चालनका लागि करिब डेढ करोड रुपैयाँ लगानी आवश्यक पर्ने प्रारम्भिक सम्भाव्यता अध्ययनले देखाएको छ । यसबाट कम्तीमा १० जनाले प्रत्यक्ष र करिब सयजनाले अप्रत्यक्ष रोजगारी पाउने सम्भावना रहेको वडा सदस्य थापाले बताए ।
यसले पाराग्लाइडिङ उडानसँग मात्र सीमित नभई होटल, रेस्टुरेन्ट, यातायात, गाइड, फोटो–भिडियो तथा अन्य पर्यटन व्यवसायमा समेत आर्थिक गतिविधि बढाउने अपेक्षा गरिएको उनले बताए ।
बुटवल–१३ का सामाजिक अगुवा डिआर घिमिरेले पाराग्लाइडिङ बुटवलको पर्यटनका लागि बिल्कुलै नयाँ प्रडक्ट हुने बताए ।
उनका अनुसार बुटवलमा नयाँ साहसिक पर्यटन गतिविधि थपिँदा पर्यटकलाई यहाँ केही समय रोकिने र स्थानीय उत्पादन तथा सेवाको उपभोग गर्ने वातावरण बन्न सक्छ । ‘पाराग्लाइडिङ बुटवलको पर्यटनका लागि बिल्कुलै नयाँ प्रडक्ट हो’, घिमिरेले भने, ‘यसले पर्यटक आकर्षित गर्नुका साथै स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास छ ।’
बुटवलमा लामो समयदेखि पर्यटनका नयाँ सम्भावना खोजिँदै आए पनि साहसिक पर्यटनका गतिविधि अपेक्षाकृत कम छन् । यस्तो अवस्थामा नुवाकोट–बेलबास पाराग्लाइडिङले बुटवललाई साहसिक पर्यटनसँग जोड्ने नयाँ आधार तयार गर्ने स्थानीयको अपेक्षा छ ।
पाराग्लाइडिङ नेपालमा साहसिक पर्यटनको महत्वपूर्ण क्षेत्रका रूपमा विकास हुँदै आएको छ । नेपाल एयरस्पोर्टस् एसोसिएसनका अनुसार नेपालमा १३ वटा नियमन गरिएका पाराग्लाइडिङ साइट छन् ।
पोखरा पाराग्लाइडिङको प्रमुख केन्द्रका रूपमा रहेको छ । त्यसबाहेक धरान, बन्दीपुर, पाल्पा, सुर्खेतलगायतका क्षेत्रमा पनि पाराग्लाइडिङ गतिविधि विस्तार भएका छन् ।
नेपालमा हाल करिब ६० वटा पाराग्लाइडिङ कम्पनी, १३ वटा उडान क्षेत्र र ५ वटा पाराग्लाइडिङ स्कुल सञ्चालनमा रहेको तथ्यांक छ । त्यस्तै नेपालमा करिब ४०० पाराग्लाइडिङ पाइलट रहेको र तीमध्ये करिब २४० जना सक्रिय रहेको तथ्यांकले देखाउँछ ।
बुटवलमा पाराग्लाइडिङ सञ्चालनमा आएमा यसले लुम्बिनी प्रदेशको साहसिक पर्यटनको दायरा पनि विस्तार गर्नेछ । लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई बुटवल–पाल्पा क्षेत्रको प्राकृतिक तथा साहसिक पर्यटनसँग जोड्न सकेमा यस क्षेत्रको पर्यटन व्यवसायमा थप गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।
नुवाकोट डाँडाबाट बेलबाससम्मको परीक्षण उडान सफल भएसँगै अब नियमित व्यावसायिक उडानका लागि आवश्यक प्राविधिक, सुरक्षा र प्रशासनिक प्रक्रिया अघि बढाउने तयारी गरिएको छ । व्यावसायिक उडान सुरु भएपछि बुटवलको पर्यटन नक्सामा पाराग्लाइडिङसमेत नयाँ आकर्षणका रूपमा थपिनेछ ।
प्रतिक्रिया 4