News Summary
Generated by OK AI. Editorially reviewed.- १६ सदस्यीय भुटानी कलाकार टोली फिल्म ‘टनेल २६’को प्रवर्धनका लागि सोमबार बिहान नेपाल आइपुगेको छ।
- २३ असोजमा प्रदर्शन तयारीमा रहेको ‘टनेल २६’को ट्रेलर मंगलबार सार्वजनिक हुने तयारीमा छ।
- निर्मातामध्येका सांगे सेल्ट्रिमले फिल्म एक वर्षभन्दा बढी मेहनत गरेर बनाएको र नेपाल–भुटान सहकार्य अन्तर्राष्ट्रिय स्तरमा जाने दाबी गरेका छन्।
काठमाडौँ । फिल्म प्रवर्धनको लागि १६ सदस्यीय भुटानी कलाकारको टोली सोमबार बिहान नेपाल आइपुगेको छ । थप कलाकार पनि आउने तयारीमा छन् । २३ असोजमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘टनेल २६’को प्रवर्धनका लागि उनीहरू नेपाल आएका हुन् । मंगलबार यो फिल्मको ट्रेलर सार्वजनिक हुने तयारीमा छ ।
उक्त कार्यक्रममा यी कलाकार सहभागी हुने फिल्मको निर्मातामध्येका एक सांगे सेल्ट्रिमले बताए । उनकै नेतृत्वमा रहेको टोली काठमाडौं आएको हो ।
काठमाडौं विमानस्थलमा संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले यो फिल्म हलिउड र बलिउडको लेभलमा निर्माण गरिएको दाबी गरे ।
नेपाली रिलिजलाई लिएर उत्साहित सुनिएका सांगेले भने भने, ‘धेरै उत्साहित छु । ‘टनेल २६’ हामीले एक वर्षभन्दा बढी मेहनत गरेर बनाएका हौँ । ट्रेलर धेरै राम्रो आएको छ । नेपाल र भुटानको सहकार्य अन्तर्राष्ट्रिय स्तरमा जाने निश्चित भएको छ ।’

यो फिल्मको निर्माणमा उनीसहित नेपालका व्यवसायी निर्वाण चौधरी र अभिनेता प्रदीप खड्का पनि संलग्न छन् । पिक एक्सभी स्टुडियोजको ब्यानरमा पनि यो फिल्मको निर्माण भएको हो ।
डीडी किन्ले यो फिल्मका लेखक, निर्देशक तथा सम्पादक हुन् । उनले पनि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै फिल्म रिलिजलाई लिएर निकै आशावादी रहेको बताए । यो फिल्ममा सांगेसहित अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादा मुख्य भूमिकामा छन् ।
प्रतिक्रिया 4