+
+
Shares

द ब्रोकन टेबल : खण्डित स्मृतिहरूको सुदृढ कथा

प्रभा एकदिन गिरिको अफिसमा पुग्छिन् । प्रभाले त्यो चर्किएको टेबलमा एउटा रुखको चित्र बनाउँछिन् । टेबलको त्यो चिरा रुखको एक हाँगाको रूपमा परिणत हुन्छ ।

कञ्चन कञ्चन
२०८३ असोज ६ गते १२:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिन्तन शारदाको २३ मिनेटको शर्ट फिल्म ‘द ब्रोकन टेबल’ ले सेलेक्टिभ एम्नेसियाबाट पीडित वृद्ध गिरिको जीवन र स्मृतिको कथा देखाएको छ।
  • नसिरुद्दीन शाह र रसिका दुगल अभिनीत फिल्ममा केयरगिभर दीप्ति र गिरिबीचको सम्बन्ध तथा वैवाहिक तनाव मूल द्वन्द्व बनेको छ।
  • फिल्ममा प्रभाले भत्किएको टेबलको चिरालाई रुखको हाँगाजस्तो बनाएको दृश्य र अन्त्यमा दीप्तिको नाकमा नोजरिङ देखिएको उल्लेख छ।

स्मृतिहरू बिना, विगतका डोबहरू बिना मानिसको जीवन के हुँदो हो ? अथवा त्यसलाई जीवन भन्न मिल्छ कि मिल्दैन ? निसन्देह मिल्दैन । स्मृति नहुँदो हो त मानिसको प्राण कहाँ अल्झिदो हो र ! पुराना दन्त्यकथाहरूमा शक्तिशाली राक्षसहरूलाई निमिट्यान्न पार्न उनीहरूका प्राण अल्झिएका ठाउँ या तत्व पत्ता लगाउनुपर्थ्यो । प्राण अल्झिएका कुरालाई नष्ट गरिसकेपछि ती पात्रहरूको अन्त्य हुन्थ्यो।

त्यसकारण जति पनि मानिस जीवित छन्, भविष्यको बाटो चुन्नमा अन्योलमा परिरहेका छन् या बाटो भेट्टाएर हिँडिरहेका छन्, तिनमा कुनै न कुनै स्मृति कारक छन् । अथवा जो मृत्यु पर्खेर बसिरहेका छन्, ती पनि कुनै न कुनै स्मृतिलाई मगजमा हुँडलेर बसेका छन् ।

जब स्मृति हराउँदै जानु, खण्डित हुँदै जानुले नै रोगको रूप लिन्छ, त्यो मानिस कस्तो होला ? अथवा यो प्रश्नलाई यसरी हेरौँ, रोगले अधकल्च्याएको स्मृतिलाई मनको ठोक्राभरि लिएर बाँचेको मान्छेको जीवन कस्तो होला ? एउटा शर्ट फिल्मले यही प्रश्नलाई फुकाएर उत्तर दिएको छ – द ब्रोकन टेबल ।

चिन्तन शारदाद्वारा निर्देशित २३ मिनेटको यस फिल्म सेलेक्टिभ एम्नेसियाबाट पीडित एक वृद्ध व्यक्तिको वरिपरि घुमेको छ । एक रोगीको कथाबाट दुईवटा समानान्तर उपचार गरेको छ ।

एक सेवानिवृत्त अधिवक्ता गिरिधर (नसिरुद्दीन शाह) मा अल्झाइमर रोगका प्रारम्भिक लक्षणहरू देखिन थालेका छन् । उनको हेरचाहका लागि परिवारले एक केयरगिभर नियुक्त गर्ने निर्णय गर्छ । एम.ए. मनोविज्ञानकी विद्यार्थी दीप्ति (रसिका दुगल) को प्रवेश हुन्छ, जो अध्ययनका लागि पहिलो ‘जीवन्त विषय’ लाई भेट्ने सम्भावनाले आफ्नो ‘उत्साह’ रोक्न सक्दिनन् । विवाहमा जान लागेका गिरिका परिवारका सदस्यहरूलाई आफ्नो योग्यताको आश्वासन दिँदै, दीप्तिले पछिल्ला केही दिनदेखि अशान्त र अत्तालिएका गिरिका लागि केयरगिभरको रूपमा आफ्नो कार्यसमय सुरु गर्छिन् ।

त्यसपछि सुरु हुन्छ यात्रा अथवा पटाक्षेप, जसले गिरिको आन्तरिक परिदृश्यभित्र लैजान्छ । उनको क्लान्तरत सम्झनाले विगतका आग्लोहरू खोल्न पुग्छ । विगत र वर्तमानलाई छुट्याउने रेखा गुमाइसकेका गिरि आफ्नो अफिस जाने कुरा गरिरहन्छन्, सुनुवाईमा जाने कुरा गरिरहन्छन् । यद्यपि, उक्त सुनुवाई वर्षौँअघि भइसकेको थियो। गिरिको दिमागमा समय र स्थान सबै गिजोलिएका छन् ।

गिरिले आफ्नी पत्नी प्रभासँग सम्पर्क गर्न प्रयास गरिरहेका छन् । जो आफू फर्किने कुनै अत्तोपत्तो नदिई गायब भएकी जस्तो देखिन्छ। यहाँसम्म कि उनको फोन पनि नेटवर्क क्षेत्रबाहिर छ । घरको मूलढोकाबाट बाहिर जान नपाएका गिरिलाई आफ्नो घर पिँजडा र आफू त्यहाँ थुनिएको चराजस्तै महसुस हुन्छ । उनी यसलाई ‘गैरकानुनी थुना’ को संज्ञा दिन्छन् ।

दीप्तिले गिरिको व्यवहारलाई आफ्नो डायरीमा टिपोट गर्छिन् । उनी त्यतिबेला गिरिलाई मानिसको रूपमा भन्दा पनि आफ्नो अनुसन्धानको विषयको रूपमा हेर्छिन् । गिरि र प्रभाको विवाहका बारेमा जान्न उत्सुक भएर दीप्तिले गिरिको परिवार विवाहबाट नफर्कुन्जेल उनलाई व्यस्त राख्नका लागि मात्र गिरिसँग मानव सम्बन्धको विषयमा सल्लाह लिएको नाटक गर्छिन् । गिरिले बिर्सिसकेका छन् कि दीप्ति उनकी केयरगिभर हुन् । उनी दीप्तिलाई आफ्नो क्लायन्टको रूपमा हेर्छन् । गिरिले आश्वासन दिन्छन् कि उनले प्रकट गरेका विवरणहरू पूर्ण रूपमा ‘गोप्य’ राखिनेछन्।

दीप्ति बाध्य भएर अनिच्छापूर्वक आफ्ना पति ध्रुवसँगको आफ्नो सम्बन्धको बारेमा बताउँछिन् । यहीँबाट फिल्मको मूल द्वन्द्व सुरू हुन जान्छ र दीप्ति पनि आफ्नो वैवाहिक जीवनलाई केलाउन थाल्छिन् । आफ्नो पतिमा हावी भएको व्यवहारिक प्रवृति र आफूमा कायम भावुक एवम् प्रेमिल प्रवृत्तिलाई अवलोकन गर्छिन् । विवाहको आकारमा ढालिँदा आफूले गर्नुपरेका पाटाहरू गिरिसामु व्यक्त गर्छिन् ।

यहाँ भूमिकाहरू फेरिएका छन् । दीप्ति र गिरिको समीकरणमा केही भंगता आएको छ । गिरिको मनोविज्ञान टिपीरहेकी दीप्तिकै मनोविज्ञान गिरिले पनि टिपिरहेका छन् । यसैक्रममा दीप्तिको नोजरिङ एउटा महत्वपूर्ण बिम्बको रूपमा प्रस्तुत हुन्छ । कुराकानीका क्रममा दीप्तिले आफ्नो पतिले मन नपराएको कारण आफूले नोजरिङ नलगाएको कुरा गर्छिन् ।

यसको प्रत्युत्तरमा गिरिले दीप्तिलाई वकिलका रूपमा आफ्ना प्रारम्भिक सङ्घर्षका दिनहरूमा प्रभाका बारेमा आफू कति हीनता साँचेर बसेका थिए भनेर बताउँछन् । भाडामा लिइएको सानो कोठामा राखिएको उनको पुरानो टेबलमा पनि एउटा ठूलो चिरा परेको थियो । उनमा प्रभालाई आफ्नो थोत्रो कार्यालयमा आमन्त्रित गर्ने आँट थिएन । तर प्रभा एकदिन गिरिको अफिसमा पुग्छिन् । प्रभाले त्यो भत्किएको टेबलमा एउटा रुखको चित्र बनाउँछिन् । टेबलको त्यो चिरा रुखको एक हाँगाको रूपमा परिणत हुन्छ ।

यस दृश्यको उल्लेखनीयता के हो भने दैनिक जीवनका पक्षहरूलाई नै बिर्सिरहेका गिरि दशक अघिका स्मृतिको भने हरेक सुक्ष्म विवरणहरू सम्झिन्छन् । लेखक विक्रम गुप्ता र चिन्तन सार्डाले मानिसहरूको यो रहस्यलाई उत्कृष्ट रूपमा उजागर गरेका छन् ।

यसलाई फिल्ममा प्रभाले रूल नं १ को नाम दिएकी छिन् । जुन रूलले मानिसलाई आफ्नो जीवनको मौलिकता, पृथकता र स्वायत्ततालाई स्वीकार्न आग्रह गर्छ । यही रूलको परिणामस्वरूप, हामी फिल्मको अन्त्यमा दीप्तिको नाकमा उज्ज्वल नोजरिङ देख्न सक्छौ ।

अभिनेताहरूको जीवन्त अभिनय र उत्कृष्ट सिनेमाटोग्राफीको सुन्दर संयोजन नै २५ मिनेटको यो छोटो फिल्मको सबैभन्दा सबल पक्ष हो । मुख्य भूमिकामा रहेका दिग्गज अभिनेता नासिरुद्दीन शाहले अल्जाइमर रोगबाट ग्रसित वृद्धको भूमिकामा बिर्सने बिरामीको मानसिक अवस्था, आक्रोश र आफ्नी श्रीमतीप्रतिको साँचो प्रेमलाई असाध्यै गम्भीरताका साथ पर्दामा उतारेका छन् ।

 

त्यसैगरी, एक साइकोलोजिस्ट बन्न लागेकी र आफ्नै जीवनको मानसिक तनावसँग जुधिरहेकी केयरगिभरको भूमिकामा रसिका दुगलको अभिनय ‘मास्टरक्लास’ छ । जहाँ उनले संवाद बिना नै आफ्ना आँखा र अनुहारको हाउभाउबाट भावनाहरू व्यक्त गरेकी छिन् । पर्दामा यी दुई परिपक्व कलाकार बीचको द्वन्द्व र सम्बन्ध नै फिल्मको मुटु बनेको छ।

प्राविधिक पाटोमा, अर्कोदेव मुखर्जीले सम्हालेको सिनेमाटोग्राफीले कथालाई थप उचाइ दिएको छ । एउटा घरभित्रै खिपिएको मसिनो क्यानभासमा पनि मिनिमल दृश्य र क्लोज-अप सटहरूले पात्रहरूको भित्री छटपटी र अल्जाइमरको धमिलो सम्झनालाई सुन्दर रूपमा कैद गरेका छन् ।

क्यामेराका एङ्गल र फ्रेमहरूले फिल्मको अन्त्यसम्मै एउटा रहस्य र उदासीको वातावरण कायम राख्दै यसलाई ‘भिजुअल ट्रिट’ बनाएका छन् ।

समग्रमा, अभिनय र भिजुअल प्रेजेन्टेसनकै उत्कृष्ट तालमेलका कारण यो फिल्मले दर्शक र समीक्षक दुवैको मन जित्न सफल भएको छ।

लेखक
कञ्चन

कञ्चन अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?