+
+
Shares
एमाले बैठक :

प्रदीप ज्ञवालीको प्रश्न : धेरै अवसर पाउने नै सबैभन्दा असन्तुष्ट देखिने कारण के हो ?

उनका अनुसार एमालेमा ठूलो वैचारिक समस्या नभए पनि केही विषयमा कोणको भिन्नता देखिएको छ। विशेषगरी भदौ २३/२४ देखि निर्वाचनसम्मको घटनाक्रमलाई हेर्ने विषयमा फरक दृष्टिकोण रहेको उनले उल्लेख गरे।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १४:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले नेता प्रदीप ज्ञवालीले केन्द्रीय कमिटी बैठकमा पार्टीभित्र सबैभन्दा धेरै अवसर पाउने नेताहरू नै असन्तुष्ट देखिनुको कारणबारे प्रश्न उठाए।
  • ज्ञवालीले एमाले, कम्युनिष्ट आन्दोलन, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा रहेको भन्दै पार्टी, आन्दोलन, लोकतन्त्र र राष्ट्रको एकता आवश्यक रहेको बताए।
  • उनले पार्टीको पछिल्लो धक्काको मुख्य कारण आन्तरिक एकता खलबलिनु र जनतासँगको सम्बन्ध पातलिनु रहेको भन्दै कार्यभारमा जनजीविकाका सवाललाई केन्द्रित गर्नुपर्ने सुझाव दिए।

७ असोज, काठमाडौं । एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीभित्र सबैभन्दा धेरै अवसर पाउने नेताहरू नै असन्तुष्ट देखिनुको कारणबारे प्रश्न उठाएका छन्। एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै ज्ञवालीले अवसर दिँदा मूल्याङ्कन नभएको हो कि ‘सन्देश नै प्राप्ति हो’ भन्ने सोच विकास भएको हो भन्ने प्रश्न गरेका हुन्।

‘सबैभन्दा धेरै अवसर पाउने नै सबैभन्दा असन्तुष्ट देखिने कारण के हो ? सन्देश नै प्राप्ति हो भन्ने दियौँ कि अवसर दिँदा मूल्याङ्कन भएन ?’ उनले प्रश्न गरे। ज्ञवालीले एमाले, कम्युनिष्ट आन्दोलन, लोकतन्त्र र राष्ट्र नै असाधारण संकटमा रहेको उल्लेख गर्दै अहिले पार्टी, आन्दोलन, लोकतन्त्र र राष्ट्रको एकता आवश्यक रहेको बताए। त्यसको अगुवाइ एमालेले गर्नुपर्ने उनको भनाइ छ।

रास्वपाअसफल हुने दाबी गर्दै उनले रास्वपा असफल हुँदैमा एमाले स्वतः सफल नहुने बताए। ‘विकल्पमा अर्को बुर्जुवा शक्ति तयार गरिँदैछ,’ उनले भनेका छन्। सत्तामा मात्र नभई प्रमुख प्रतिपक्षमा समेत रहन नदिने गरी षड्यन्त्र भइरहेको उल्लेख गर्दै त्यसलाई चिर्न एमाले आफैँ सुदृढ हुनुपर्ने उनको धारणा छ।

ज्ञवालीले राष्ट्रिय एकताको आधार र एमालेको पुनर्जागरणको प्रस्थानविन्दु पार्टीभित्रकै एकता भएको बताए । उनका अनुसार एमालेमा ठूलो वैचारिक समस्या नभए पनि केही विषयमा कोणको भिन्नता देखिएको छ। विशेषगरी भदौ २३/२४ देखि निर्वाचनसम्मको घटनाक्रमलाई हेर्ने विषयमा फरक दृष्टिकोण रहेको उनले उल्लेख गरे।

निर्वाचनको धक्कालाई सामूहिक चुनौती र जिम्मेवारीका रूपमा लिएर जनतामा आशा र भरोसा विस्तार गर्नुपर्ने समयमा पार्टीभित्र देखिएको अस्वस्थ अवस्था अनपेक्षित र दुःखद रहेको ज्ञवालीले बताए।

पार्टी पुनर्गठनको बहस तलसम्म पुग्दा त्यसले ध्रुवीकरण बढाएको र व्यक्ति केन्द्रित भएको उनको भनाइ छ। ‘पहिला औषधिको प्रेस्क्रिप्सन, त्यसपछि रोगको डायग्नोसिस गर्न खोजेजस्तो’ अवस्था देखिएको टिप्पणी गरे । उनले एकातिर पार्टीका सम्पूर्ण समस्याको कारक अध्यक्ष रहेको र उहाँलाई विस्थापन नगर्दासम्म पार्टी अगाडि नबढ्ने तर्क तथा अर्कोतिर पुनर्गठनको बहस नै विभाजन हो भन्ने अतिवादी धारणा देखिएको बताए।

यसले पार्टी पङ्क्तिलाई भावनात्मक रूपमा विभाजित गरेको उनको निष्कर्ष छ। ज्ञवालीले कार्यदलको प्रतिवेदनलाई ‘कट अफ पोइन्ट’ मानेर पार्टीलाई एकताबद्ध गराउने दायित्व अध्यक्षको भएको बताए।

अध्यक्षले पार्टीभित्रको आन्तरिक लडाइँमा जित्नुपर्ने कुनै लडाइँ नरहेको भन्दै उनले योजनाबद्ध नेतृत्व विकास र अभिभावकीय भूमिकामा ध्यान दिनुपर्ने धारणा राखे।  एमालेको पछिल्लो धक्काको मुख्य कारण पार्टीको आन्तरिक एकता खलबलिनु र जनतासँगको सम्बन्ध पातलिनु रहेको ज्ञवालीको भनाइ छ।

पार्टी निर्माणका क्रममा स्थानीय प्रतिस्पर्धा र स्वाभाविक द्वन्द्व व्यवस्थापन हुन नसक्नु तथा त्यसमा नेतृत्वको नाम अनावश्यक रूपमा जोडिँदा ध्रुवीकरण बढेको उनले बताए। ‘प्रतिस्पर्धालाई एकतामा कसरी रूपान्तरण गर्ने ? नयाँ विधि खोज्नै पर्ने भएको छ,’ उनले भने। स्थायी कमिटीका नेताहरूले निष्पक्ष र अभिभावकीय भूमिका खेल्नुपर्नेमा पनि उनले जोड दिए।

ज्ञवालीले एमालेको कार्यभारमा जनजीविकाको विषय छुटेको भन्दै अब पार्टीको ऊर्जा र ध्यान जनजीविकाका सवालमा केन्द्रित गर्नुपर्ने बताए। त्यसका लागि कार्यभारमा नयाँ बुँदा थप्नुपर्ने वा लोकतन्त्र, राष्ट्रिय हित र जनजीविकाको रक्षाका रूपमा त्यसलाई परिभाषित गर्नुपर्ने उनको सुझाव छ।

आफ्नो नाममा छुट्टै प्रतिवेदन नरहेको स्पष्ट पार्दै ज्ञवालीले आफूले सार्वजनिक रूपमा लेख्दै र बोल्दै आएको बताए। आफूले दर्जनभन्दा बढी पुस्तक प्रकाशित गरेको, एक हजारभन्दा बढी लेख पत्रपत्रिकामा प्रकाशित भएको र अन्तर्राष्ट्रिय फोरममा २० भन्दा बढी पेपर प्रस्तुत गरेको उल्लेख गर्दै उनले ‘छद्म रूपमा लेख्नुपर्ने आवश्यकता’ आफूलाई नरहेको बताए।

पार्टीभित्र समस्या उत्पन्न हुँदा समन्वयको भूमिकामा उभिनु अपराध नभएको उनको भनाइ छ। ध्रुवीकरण चर्किएको अवस्थामा अतिवादी धारणा राख्दा मिडिया कभरेज पाइने भए पनि आफूलाई त्यसको लोभ नरहेको उनले बताए। ‘मिडिया ट्रायलले एकछिनलाई न्यानो दिन्छ। मिडिया हाइपले एकछिनलाई सन्तुष्टि देला, तर काम लाग्दैन,’ ज्ञवालीले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?