News Summary
Generated by OK AI. Editorially reviewed.- फ्लाई दुबईले बुधबारदेखि पोखरा–दुबई नियमित व्यावसायिक उडान सुरू गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडेको छ।
- साँझ ६ बजेर १८ मिनेटमा दुबईबाट आएको जहाज १ सय १३ यात्रु लिएर पोखरा ओर्लिएको थियो र १ सय ५२ यात्रु बोकेर फर्किएको थियो।
- यात्रु, व्यवसायी र स्थानीय प्रतिनिधिले यो उडानलाई ऐतिहासिक भन्दै नियमित निरन्तरताको माग गरेका छन्।
८ असोज, पोखरा । बुधबार साँझ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दृश्य अरू दिनभन्दा फरक थियो ।
प्रमुख टर्मिनल भवन अगाडि ठूलो संख्यामा मानिस जम्मा भएका थिए । कोही आफन्तलाई बिदाइ गर्न आएका थिए, कोही वर्षौंपछि विदेशबाट आफ्नै घरनजिक ओर्लिएका आफन्तलाई स्वागत गर्न । कतै खुसीका चिच्याहट थिए, कतै अंगालोमा बेरिएर बिछोडको आँसु ।
विमानस्थलको प्रस्थान र आगमन कक्ष अगाडिको त्यो दृश्य पोखरेलीका लागि नौलो थियो । वर्षौंदेखि देखेको एउटा सपना बुधबार साँझ आँखै अगाडि साकार भएको थियो– पोखराबाटै अन्तर्राष्ट्रिय उडान र पोखरामै विदेशबाट आएका आफन्तको स्वागत ।
फ्लाई दुबईले बुधबारदेखि पोखरा–दुबई नियमित व्यावसायिक उडान सुरु गरेसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय हवाई सञ्जालमा प्रत्यक्ष जोडिएको हो ।
जहाज अवतरणसँगै पोखरामा उत्सव
साँझ ६ बजेर १८ मिनेटमा दुबईबाट आएको फ्लाई दुबईको बोइङ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरण गरेको थियो । जहाज नेपाली पाइलट सर्वजीत यादवसहितको टोलीले उडाएर ल्याएको थियो ।
जहाज अवतरण गर्नेबित्तिकै पानीका फोहोरा बर्साएर स्वागत गरिएको थियो । विमानस्थल परिसरमा उपस्थित पोखरेलीहरुले खुसीले हुटिङ गरे ।

१ सय ६६ सिट क्षमताको जहाजमा दुबईबाट १ सय १३ यात्रु पोखरा आएका थिए । उडान नम्बर एफजेड ११६६ बाट सोही जहाज साँझ ७ बजेर ५४ मिनेटमा १ सय ५२ यात्रु बोकेर दुबई फर्कियो ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार दुबईबाट पोखरा आउन ४ घण्टा ३० मिनेट लागेको थियो भने पोखराबाट दुबई पुग्न ४ घण्टा ५० मिनेट लागेको थियो ।
यो उडानसँगै पोखरा र संयुक्त अरब इमिरेट्स (यूएई) बीच प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएको छ ।
तर, यो केवल एउटा नियमित उडान सुरु भएको घटना मात्र थिएन । धेरैका लागि यो वर्षौंदेखिको प्रतीक्षाको अन्त्य थियो ।
घर नजिकै ओर्लिन पाउँदाको खुसी
दुबईमा पाँच वर्ष रोजगारी गरेर घर फर्किएकी म्याग्दीकी तारा सिंजालीमगर अन्तर्राष्ट्रिय आगमन कक्षबाट बाहिर निस्किँदा स्वागतका लागि ठूलो संख्यामा मानिस देखेर दंग परिन् ।
विदेशबाट फर्किन पाउनुको खुसी त थियो नै, त्योभन्दा बढी उनलाई आफ्नै प्रदेशको विमानस्थलमा ओर्लिन पाएकोमा खुसी थियो ।
‘पाँच वर्षपछि देश फर्किएकी छु । पोखरा विमानस्थलमा ओर्लन पाउँदा एकदमै खुसी लागेको छ,’ उनले भनिन् ।
स्याङ्जाका राजु पराजुलीका लागि पनि बुधबारको यात्रा विशेष थियो । ३० वर्षदेखि रोजगारीका क्रममा बहराइनमा रहेका पराजुली यसपटक दुबई हुँदै पोखरा ओर्लिए । तीन दशकको खाडी बसाइमा दर्जनौं पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेका उनले काठमाडौं ओर्लिएपछि गाउँ पुग्नुपर्ने, होटल खोज्नुपर्ने र परिवारलाई भेट्न समय लाग्ने पुराना दिन स्मरण गरे ।

‘बहराइनबाट काठमाडौं ओर्लिंदा होटल खोज्नुपर्थ्यो । गाउँबाट परिवार पुग्न पनि दु:ख हुन्थ्यो,’ उनले भने, ‘एयरपोर्ट ओर्लनेबित्तिकै आफ्नो आमालाई देख्ने इच्छा हुन्छ । त्योबेला आमा आउनु है भन्दा यहाँबाट गाडी लिएर जाँदा विचरा आमा कुरेर बस्नुहुन्थ्यो । टेलिफोन थिएन, धेरै कुराको असहज थियो ।’
अब भने ती दिन बदलिएका छन् । ‘अहिले आफ्नै बासस्थानमा अवतरण गर्न पाउँदा एकदमै खुसी लागेको छ,’ उनले भने ।
पोखराबाट अन्तर्राष्ट्रिय उडान नियमित चल्नुपर्ने उनको अपेक्षा छ । ‘अब पोखरामा पनि विकास हुन्छ । यो नियमित चल्नुपर्छ,’ पराजुलीले भने ।
तनहुँका सुमन घर्ती रोमानियाबाट दुबई हुँदै पोखरा ओर्लिए । उनका आफन्त पोखरामै थिए । विमानस्थलमा उनलाई लिन आएका आफन्तको उत्साह पनि उस्तै थियो ।
दुबईमा रोजगारी गरेर घर आएका नरेश केही समयपछि फेरि विदेश फर्किंदैछन् । तर, अब काठमाडौं होइन, पोखराबाटै यात्रा गर्ने उनको चाहना छ । ‘अब अन्तर्राष्ट्रिय जहाज नियमित चल्नुपर्छ, यहीँबाट फर्किने हो,’ उनले भने ।
कास्कीको मालेपाटनकी रुगी तिमिल्सिना नर्बेबाट दुबई हुँदै पोखरा आइन् । छोराछोरीसँग समय बिताएर फर्किएकी उनी आफ्नै जिल्लाको विमानस्थलमा अन्तर्राष्ट्रिय उडानबाट ओर्लन पाइन्छ भन्नेमा विश्वस्त थिइनन् । ‘मलाई त बहुत खुसी लाग्यो, यही जहाजमा आउँला भनेर सोचेकी थिइनँ,’ उनले भनिन् ।
युरोप, अमेरिका र खाडी मुलुकबाट दुबई हुँदै पोखरा ओर्लिएका यात्रुको प्रतिक्रिया लगभग एउटै थियो– यो सेवा अब निरन्तर चल्नुपर्छ ।

ऐतिहासिक दिन
आगमन कक्षमा खुसीका आँसु थिए । प्रस्थान कक्षमा भने बिछोडका।
दुबई हुँदै बेलायत अध्ययन गर्न जान लागेकी नातिनी देवका गौतमलाई बिदाइ गर्न विमानस्थल पुगेकी उनकी हजुरआमा भक्कानिइरहेकी थिइन् ।
परिवारका सदस्यले उनलाई सम्हाले । देवकालाई दही खुवाइयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नाम देखिने गरी तस्वीर खिचियो ।
त्यो तस्वीर केवल एउटा यात्राको सम्झना थिएन । परिवारका लागि त्यो दिन एउटा नयाँ सुरुवातको प्रमाण पनि थियो ।
१५ वर्षदेखि दुबईमा रोजगारी गरिरहेका लेखनाथका नवीन गुरुङ छुट्टीमा घर आएका थिए । पोखराबाट पहिलो अन्तर्राष्ट्रिय उडानमै दुबई फर्किने उनको योजना थियो । ‘पोखराबाट पहिलो फ्लाइटमा जान्छु भनेर नै कुरेर बसेको हुँ,’ उनले भने ।
अध्ययनका लागि बेलायत जान लागेकी रुपा गाउँपालिकाकी रेजिना कुमालका लागि पनि पोखराबाटै दुबई हुँदै यात्रा गर्न पाउनु सहजताको विषय थियो ।
अमेरिकामा सांगीतिक कार्यक्रम सकेर फर्किएका कन्दरा ब्यान्डका प्रमुख गायक विवेक श्रेष्ठ र संगीतकार सुनील थापाले पनि पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानबाट ओर्लिने अवसर पाए ।
पहिलो उडान पोखरा फर्किने समय कुरेर बसेका उनीहरूले यसलाई पोखरेलीको सपनासँग जोडे । ‘पोखरेलीका निम्ति यो एउटा सपना थियो । त्यो सपनाको साक्षी बस्ने ऐतिहासिक अवसर हामीले उपयोग गर्यौं,’ विवेकले भने ।
पाँच दशकदेखिको सपना
पोखराबाट सिधै विदेश उड्ने पोखरेलीको सपना आजको होइन । झण्डै पाँच दशकदेखि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा हुँदै आएको थियो । २०७९ पुस १७ अर्थात् सन् २०२३ जनवरी १ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेका थिए ।
तर, विमानस्थल उदघाटन भएको लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुन सकेन ।
चार्टर उडान भएका थिए। हिमालयन एयरलाइन्सले चीनका विभिन्न सहरमा व्यावसायिक उडान गर्ने प्रयास गरेको थियो । पोखराबाट चीन र भुटानमा चार्टर उडान पनि भए । तर नियमित उडान नहुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्यलाई लिएर प्रश्न उठिरहे ।
भारतले पोखरालाई लक्षित गर्दै आवश्यक हवाई रुटको अनुमति नदिएको विषय पनि पटकपटक उठ्दै आएको थियो । विमानस्थल आन्तरिक उडानमै सीमित हुने हो कि भन्ने चिन्ता पोखरेलीमा थियो । फ्लाई दुबईको नियमित उडानले भने अहिले ती आशंकामाथि नयाँ बहस सुरु गरिदिएको छ ।

‘गण्डकीकै लागि ब्रेक थ्रु’
दुबईबाट आएका यात्रुलाई स्वागत गर्न विमानस्थल पुगेका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नियमित अन्तर्राष्ट्रिय उडानको सुरुवातलाई ऐतिहासिक उपलब्धिका रूपमा लिए ।
‘अन्तर्राष्ट्रिय उडान हुन्छ हुँदैन भन्ने द्विविधालाई चिर्दै एउटा ऐतिहासिक थालनी भएको छ,’ उनले भने ।
उनका अनुसार यसअघि चार्टर उडान भए पनि नियमित व्यावसायिक उडान हुन सकेको थिएन । ‘फ्लाई दुबईको पाइलट पनि नेपाली नै हुनुहुँदो रहेछ । यहाँबाट फेरि १५३ जना जाँदै हुनुहुन्छ, खुसीको कुरा हो । हामी सबै खुसी छौं, सबैलाई बधाई छ,’ आचार्यले भने ।
फ्लाई दुबईबाट आएका यात्रुलाई स्वागत गर्न पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधि विमानस्थल पुगेका थिए ।
नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले नेपाल सरकार, पर्यटनमन्त्री खडकराज पौडेल ‘गनेस’, पोखरा महानगरपालिका र पोखराका संघसंस्था तथा सरोकारवालाको निरन्तर पहलपछि नियमित उडान सुरु भएको बताए ।
पर्यटन व्यवसायी गोपी भट्टराईका लागि पनि यो दिन विशेष थियो । ‘पोखराबाट अन्तर्राष्ट्रिय उडान नै नहुने हो कि, ठूला जहाज आउनै नसक्ने हो कि भन्ने आशंका पनि हटेको छ,’ उनले भने, ‘गण्डकी क्षेत्रकै लागि आज ब्रेक थ्रु भएको दिन हो ।’
उनका अनुसार पर्यटनको आधार नै हवाई तथा अन्य प्रकारको कनेक्टिभिटी हो । ‘पर्यटनको आशा भनेकै कनेक्टिभिटी हो । यो उडान नियमित हुनैपर्छ, त्यसका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नैपर्छ,’ भट्टराईले भने ।
पर्यटन व्यवसायलाई पनि प्रत्यक्ष लाभ हुने विश्वास
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार दुबईसँग पोखराको हवाई सम्पर्कले सम्भावनाको दायरा फराकिलो बनाएको छ ।
दुबई विश्वका धेरै गन्तव्यसँग जोडिएको प्रमुख हवाई हब भएकाले पोखराबाट दुबई हुँदै अन्य देशसम्म यात्रा गर्न सहज हुनेछ ।
‘संसारका २ सय ५० भन्दा बढी गन्तव्यमा दुबईबाट हवाई सेवा जोडिएको छ,’ श्रेष्ठले भने, ‘मध्यपूर्वमा गण्डकी र आसपासका क्षेत्रबाट ठूलो श्रमशक्ति छ । त्यहाँका पर्यटक र एनआरएनलाई पोखरामा ल्याउन सकिन्छ ।’
उनको बुझाइमा नियमित उडानले यात्रु मात्र होइन, पर्यटन व्यवसायलाई पनि प्रत्यक्ष लाभ पुर्याउन सक्छ ।
अब प्रश्न— निरन्तरता कसरी दिने ?
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा उद्योगी, व्यवसायी, नागरिक समाजदेखि स्थानीयवासीसम्मले आन्दोलन र दबाबका कार्यक्रम गरेका थिए ।
चिनियाँ निर्माण कम्पनीले २२ अर्ब रुपैयाँभन्दा बढी लागतमा निर्माण गरेको विमानस्थल सञ्चालनमा आए पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा लगानी र पूर्वाधारको उपयोगितामाथि प्रश्न उठ्दै आएको थियो ।
भूराजनीतिक जटिलता, अन्तर्राष्ट्रिय हवाई रुट, विमानस्थल सञ्चालनका चुनौती तथा संघीय सरकारको अन्तर्राष्ट्रिय समन्वयलगायत विषयमा पोखरेलीले लामो समयदेखि चासो राख्दै आएका छन् ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु भएर पनि निरन्तरता पाउन नसकेको उदाहरण पोखरेलीका लागि अर्को चिन्ताको विषय हो ।
त्यसैले बुधबारको खुसीसँगै उनीहरूको अर्को आग्रह पनि स्पष्ट थियो– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान नियमित हुनुपर्छ ।

फ्लाई दुबईको भाडामा छुट
फ्लाई दुबईले असोज ७ गतेदेखि कम्तीमा ६ महिनाका लागि दैनिक उडानको टिकट बुकिङ खुला गरेको बताइएको छ । नियमित उडान आकर्षित गर्न पोखराका होटल, रेस्टुरेन्ट तथा साहसिक पर्यटन व्यवसायीले विभिन्न छुट तथा प्रवर्द्धनात्मक योजना घोषणा गरिरहेका छन् ।
फ्लाई दुबईले काठमाडौंको तुलनामा पोखरा आउने यात्रुलाई ५ हजार रुपैयाँसम्म भाडा छुट दिएको बताएको छ ।
बुधबार साँझ पोखरा विमानस्थलमा उत्रिएको फ्लाई दुबईको जहाजसँगै केवल १ सय १३ जना यात्रु पोखरा आएनन् । उनीहरूसँगै धेरै पोखरेलीको वर्षौंदेखिको प्रतीक्षा पनि अवतरण भयो ।
उता १ सय ५२ जना यात्रु पोखराबाट दुबईतर्फ उडे । उनीहरूसँगै पोखराबाट अन्तर्राष्ट्रिय यात्राको नयाँ सम्भावना पनि सुरु भयो । पोखरेलीका लागि फ्लाई दुबईको एउटा विमानको उडान मात्र थिएन, वर्षौंदेखिको सपनाले पखेटा हालेको दिन थियो ।
अब त्यो सपना कति लामो उडान भर्छ भन्ने कुरा भने यसको नियमितता, सरकारको तदारुकता, यात्रुको संख्या, पर्यटन प्रवर्द्धन र थप अन्तर्राष्ट्रिय गन्तव्यसँग जोडिने क्षमताले तय गर्नेछ ।
प्रतिक्रिया 4