९ असोज, काठमाडौं । स्कटल्यान्डमा नेपाली व्यवसायीद्वारा सञ्चालित बेय लिफ ग्रुपले एसियन रेस्टुरेन्ट अवार्ड्समा एकैपटक तीनवटा उपाधि हात पारेको छ।
एडिनबरामा आयोजित अवार्ड समारोहमा बेय लिफले उत्कृष्ट हस्पिटालिटी र स्वादका लागि उक्त सफलता प्राप्त गरेको हो। समूहद्वारा लिभिङस्टनमा सञ्चालित शाखाले बेस्ट इन्डियन रेस्टुरेन्ट इन वेस्ट लोथियन को अवार्ड जितेको छ भने बाथगेट शाखाले बेस्ट फाइन डाइनिङ रेस्टुरेन्ट अफ द इयरको उपाधि चुमेको छ।
यसैगरी, रेस्टुरेन्टको उत्कृष्ट व्यवस्थापन र आतिथ्य सेवा प्रदान गरेबापत बेय लिफका सञ्चालक सागर भण्डारी व्यक्तिगत विधामा म्यानेजर अफ द इयर घोषित भएका छन्।
हस्पिटालिटी क्षेत्रमा लामो अनुभव सँगालेका टीका खरेल र सागर भण्डारीले सन् २०१३ मा बेय लिफको सुरुवात गरेका थिए। खानाको स्वाद, गुणस्तर र उत्कृष्ट ग्राहक सेवालाई प्राथमिकतामा राखेर अघि बढेको यस समूहले छोटो समयमै वेस्ट लोथियन क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ।
यस समूहले हरेक वर्षजसो अन्तर्राष्ट्रिय अवार्डहरू हात पार्दै आएको छ। गत वर्ष पनि समूहका सञ्चालक खरेलले बेस्ट म्यानेजर अफ द इयर र बलराम कँडेलले बेस्ट सेफ अफ द इयरको अवार्ड जितेका थिए।
यस वर्षको उपलब्धिबारे खुसी व्यक्त गर्दै सञ्चालक खरेलले यो सफलताको श्रेय सम्पूर्ण कर्मचारीको मिहिनेत र ग्राहकलाई दिएका छन्।
‘हामीले सुरुवातदेखि नै स्वाद, सेवा र ग्राहकको विश्वासलाई सर्वोपरि मान्यौँ,’ उनले भने, ‘हरेक वर्ष पाइने यस्ता सम्मानले हामीलाई अझ जिम्मेवार र उत्कृष्ट बन्न प्रेरणा दिन्छन्। यो सफलता हाम्रा कर्मचारीको अहोरात्र मिहिनेत र ग्राहक वर्गको अगाध मायाको प्रतिफल हो।’
प्रतिक्रिया 4