+
+
Shares

उत्तरी भिरालोभन्दा दक्षिणी मोहडामा किन बढी जान्छ पहिरो ?  

नेपालको तीव्र भिरालो भूबनोटले गर्दा गुरुत्वाकर्षण बल बढी सक्रिय हुन्छ र माथिल्लो भागमा रहेका ढुङ्गा–माटो लेदोमा परिणत भई नदीले सहजै तल्लो तटीय भूभागतिर लग्दछ; जसकारण प्रायः नेपालका दक्षिणी ढलो पहाडहरू सुषुप्त डाइनामाइट हुन्, जसले कुनै पनि बेला ठूलो दुर्घटना निम्त्याउन सक्छन्।

डा. गोकर्णजङ्ग थापा डा. गोकर्णजङ्ग थापा
२०८३ असोज १२ गते १६:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका दक्षिणी भिरालो भूभागहरू तीव्र ढलान, कमजोर भौगर्भिक बनावट र मानवीय गतिविधिका कारण पहिरोको उच्च जोखिममा रहेको भू–आकृति विज्ञानले बताएको छ।
  • भू–आकृति विज्ञानले पहिरोलाई गुरुत्वाकर्षणका कारण भिरालो जमिनबाट चट्टान, माटो वा लेदो तल खस्ने, बग्ने वा चिप्लने प्राकृतिक प्रक्रिया भनेको छ।
  • लेखले मनसुनी वर्षा, नदीजन्य कटान, डोजरे विकास र वनविनाशले पहिरो बढाउने भन्दै उच्च जोखिम क्षेत्र र न्यूनीकरणका उपायहरू पनि प्रस्तुत गरेको छ।

भू–आकृति विज्ञानले तीव्र भिरालोपन, भारी मनसुनी वर्षा, कमजोर भौगर्भिक बनावट र जथाभावी गरिने मानवीय गतिविधिका कारण नेपालको पहाडी तथा हिमाली क्षेत्रमा अवस्थित दक्षिणी भिरालो भूभागहरू पहिरोको अत्यधिक जोखिम र संवेदनशील क्षेत्र हुन् भन्दछ।

चाहे त्यो रसुवाको राम्चे होस्, नवलपरासीको हुप्सेकोटमा अवस्थित राम्चे र रामेछापको मन्थली बजारको सिरानमा रहेको घ्याप्चेको पहिरो किन नहोस्; यी सबै राष्ट्रिय स्तरका पहिरोहरू प्रायः दक्षिणी ढलोमै छन्।

नेपालको पहाडी भूभाग विशेषगरी महाभारत शृङ्खला र चुरे क्षेत्र भूगर्भशास्त्रका हिसाबले कान्छो र कमजोर चट्टानहरूले बनेको छ; जसकारण यहाँको जमिन प्राकृतिक रूपमै पहिरोको उच्च जोखिममा रहेको छ। नेपालको तीव्र भिरालो भूबनोटले गर्दा गुरुत्वाकर्षण बल बढी सक्रिय हुन्छ र माथिल्लो भागमा रहेका ढुङ्गा–माटो लेदोमा परिणत भई नदीले सहजै तल्लो तटीय भूभागतिर लग्दछ। जसकारण प्रायः नेपालका दक्षिणी ढलो पहाडहरू सुषुप्त डाइनामाइट हुन्; जसले कुनै पनि बेला, कुनै पनि स्थानमा ठूलो दुर्घटना निम्त्याउन सक्छन्।

वर्तमान अवस्थामा बङ्गालको खाडीमा विकसित अर्नब चक्रवातले नेपालका विभिन्न स्थानमा भारी वर्षात् भइरहेको हुँदा विभिन्न स्थानमा पहिरोको जोखिमलाई अझै थप मद्दत पुग्ने निश्चितप्रायः छ।

भू–आकृति विज्ञानले पहिरो केलाई भन्दछ ?

नेपालको सन्दर्भमा भू–आकृति विज्ञानका अनुसार पहिरो भनेको- गुरुत्वाकर्षणको प्रत्यक्ष प्रभावका कारण भिरालो जमिनबाट चट्टान, माटो, ढुङ्गा–माटोको मिश्रण वा भग्नावशेषतलतिर खस्ने, बग्ने वा चिप्लने प्राकृतिक प्रक्रिया हो। अर्थात्, गुरुत्वाकर्षणको प्रभावले पहाड वा भिरालो जमिनबाट माटो, ढुङ्गा र लेदो उचाइबाट तल खस्ने वा बग्ने प्राकृतिक प्रक्रिया नै पहिरो (भूस्खलन) हो।

नेपालका पहाडहरूमा पहिरो जाने मुख्य भू–आकृतिक कारणहरू के हुन् ?

भू–आकृतिको सिद्धान्तअनुसार नेपालका पहाडी भूभागहरूमा पहिरो जानुको मुख्य कारणहरूमा— भिरालो जमिनमा हुने गुरुत्वाकर्षण बल, कमजोर भौगर्भिक बनावट र पानीको चापबीचको सन्तुलन बिग्रनु हो। भू–आकृतिको नियमअनुसार जब पहाडको भित्तामा पहिरो खसाल्न खोज्ने बल त्यहाँको माटो वा चट्टानको पहिरो रोक्ने प्रतिरोधात्मक क्षमताभन्दा बढी हुन्छ, तब पहिरो जान्छ।

  • तन्नेरी र कमजोर भूबनोट : नेपालको हिमालय क्षेत्र भूगर्भशास्त्रका अनुसार नयाँ र तन्नेरी मानिन्छ; जहाँका चट्टानहरूमा धेरै फल्ट र जोइन्टहरू छन्। इन्डियन र युरेसियन प्लेटको निरन्तर टक्करका कारण यहाँको जमिन निरन्तर उठ्ने र खलबलिने गर्छ, जसका कारण कमजोर भूभागमा पहिरो जाने गर्दछ।
  • तीव्र भिरालोपन : नेपालका पहाडहरूको कोण निकै भिरालो छ। भिरालोपन बढी हुँदा माटो र ढुङ्गालाई तलतिर तान्ने गुरुत्वाकर्षण बल अत्यधिक सक्रिय हुन्छ। यो प्रक्रियाले ठूलठूला पहिरो निम्त्याउने गर्दछ र तल्लो तटीय क्षेत्रमा धेरै नै विनाश गर्ने गर्दछ।
  • मनसुनी वर्षा र पानीको चाप : मनसुनमा हुने अत्यधिक वर्षाको पानी धाँजा र फाटेका जमिनको भूभागबाट माटोभित्र छिर्छ। जसकारण माटोका कणहरूबीचको आपसी सम्बन्ध कमजोर बनाउँछ र पोर वाटर प्रेसर बढाएर पहिरो रोक्ने प्रतिरोधात्मक क्षमता घटाउँछ र भूस्खलन हुने गर्दछ।
  • नदीजन्य कटान : नेपालका तीव्र गतिका पहाडी नदीहरूले पहाडको फेद काट्ने काम गर्छन्। फेदको सपोर्ट गुम्नासाथ माथिको पूरै पहाडी भित्ता असन्तुलित भई फेदीतिर खस्ने गर्दछ र बिस्तारै यसले पहिरोको रूप लिन्छ।
  • मौसमी एजेन्टद्वारा चट्टानको क्षयीकरण : घाम, पानी र तापक्रमको उतारचढावका कारण चट्टानहरू खिइँदै र गल्दै जान्छन्; जसले गर्दा ठोस चट्टान पनि सजिलै बग्ने माटो वा लेदोमा परिणत हुन्छ। यो भनेको चट्टानहरू प्राकृतिक रूपमा फुट्ने, गल्ने वा मक्किने प्रक्रिया हो।

मनसुनको समयमा निरन्तर पर्ने पानी चट्टानका धाँजाहरूमा पस्छ, यसले माटो र चट्टानबीचको घर्षण कम गराई जमिनलाई चिप्लो बनाउँछ। त्यसैगरी पानीले चट्टानमा भएका खनिज पदार्थहरू पगाल्छ वा रासायनिक प्रतिक्रिया गराउँछ; जसले गर्दा पहाडको जग कमजोर हुन्छ। यो रासायनिक प्रक्रिया हो।

नेपालको पहाडी क्षेत्रका उत्तरी भिरालो भूभागहरू दक्षिणी भिरालो भूभागहरूको तुलनामा बढी स्थिर र सुरक्षित छन्। यस्तो हुनुको मुख्य कारण— त्यहाँको चट्टानी संरचनाको बनोट, घामको कम प्रकाश, बाक्लो वनस्पति र कम मनसुनी वर्षा हो।

रूख तथा वनस्पतिहरूका जरा चट्टानका साना छिद्रहरूमा पस्छन् र जराहरू बढ्दै जाँदा चट्टानमा दबाब सिर्जना हुन्छ र चट्टानहरू टुक्रिन्छन्; यो जैविक प्रक्रिया हो। तीव्र हावाको बेगले चट्टानका कणहरूलाई बिस्तारै खियाउँदै लैजान्छ; जसले गर्दा भिरको तल्लो भाग कमजोर भई माथिल्लो भाग सन्तुलन गुमाएर खस्छ।

नेपालको हिमाली र उच्च पहाडी क्षेत्रमा दिउँसो पग्लिएको पानी चट्टानको दरारमा पस्छ र राति तापक्रम घट्दा जम्छ। पानी जम्दा यसको आयतन बढ्छ र चट्टानमा चर्कावट आउँछ। यो प्रक्रिया दोहोरिँदा चट्टानहरू फुट्छन् र पहिरोको रूपमा खस्छन्। यो तापक्रममा आउने उतारचढावको प्रक्रिया हो। 

नेपालको दक्षिणी मोहडाको पहाडी भूभागमा किन बढी पहिरो जान्छ ?

हिमालय पर्वतमाला संसारकै सबैभन्दा कान्छो र भूगर्भभित्र निरन्तर हलचल भइरहने क्षेत्र भएकाले यहाँका दक्षिणी भिरालो भूभागहरूमा पहिरोको जोखिम बढी हुन्छ। यसका मुख्य कारणहरू :

१. भौगर्भिक तथा टेक्टोनिक कारण :

  • निरन्तर सक्रिय भू–उथलपुथल : इन्डियन प्लेट निरन्तर रूपमा युरेसियन प्लेटको मुनितर धसिँदै गएको छ। यो आन्तरिक टक्करका कारण हिमालय क्षेत्र निरन्तरमाथि उठिरहेको छ; जसले गर्दा यहाँका दक्षिणी भिरालो भूभागहरू प्राकृतिक रूपमै निकै अस्थिर, भिराला र भूकम्पप्रति संवेदनशील छन्। जसकारण पहिरोहरू दक्षिणी मोहडामा सक्रिय छन्।
  • कमजोर र टुक्रिएका चट्टानहरू : दक्षिणी भिरालो क्षेत्रमा पाइने चट्टानहरू (जस्तै: सिस्ट, फाइलाइट र लेदोयुक्त कमजोर ढुङ्गाहरू) लामो समयको भौगर्भिक चापका कारण निकै टुक्रिएका, चिरा परेका र कमजोर अवस्थामा छन्। यस्तो कमजोर चट्टानी बनावटले माथिको माटोलाई बलियोसँग थाम्न सक्दैन; जसकारण पहिरोहरू दक्षिणी मोहडामा सक्रिय छन्।

२. मौसमी तथा जलवायु कारण :

  • अत्यधिक मनसुनी वर्षा : बङ्गालको खाडीबाट आउने जलवाष्पयुक्त मनसुनी हावालाई हिमालय पर्वतमालाको दक्षिणी भेगले प्राकृतिक पर्खाल बनेर रोक्छ; जसकारण यो क्षेत्रमा अत्यधिक वर्षा हुन्छ। कतिपय अवस्थामा केही घण्टामै मुसलधारे वर्षा (क्लाउडबर्स्ट) भई बाढी र पहिरो निम्त्याउँछ। यसलाई ओरोग्राफिक वर्षा भनिन्छ।
  • माटोमा पानीको उच्च चाप : भारी वर्षाको पानी जब माटो र चट्टानको भित्री तहसम्म पुग्छ, तब माटो निकै भारी हुन्छ। यसले माटो र चट्टानबीचको घर्षणलाई पूरै कम गराई जमिनलाई तलतिर बगाउँछ।

३. प्राकृतिक भूबनोट :

  • तीव्र भिरालोपन : तराईको समथर भूभागबाट एकाएक हजारौं मिटर अग्ला पहाड र हिमाल सुरु हुने हुनाले यहाँको जमिन निकै भिरालो छ। तीव्र भिरालोपनका कारण गुरुत्वाकर्षण बलले कमजोर माटो र ढुङ्गाहरूलाई सजिलै तलतिर तान्छ र पहिरो निम्त्याउँछ।
  • नदीहरूले फेद कटान गर्नु : तीव्र गतिमा बग्ने नदीहरूले वर्षायाममा पहाडको फेद (Toe) को माटो तीव्र रूपमा कटान गर्छन्। फेदको आड भत्किएपछि माथिको सिङ्गो पहाड नै पहिरो बनेर झर्छ। अत्यधिक वर्षाले नदीले नथेग्ने गरी बाढी निम्त्याउँछ; जुन हामीले हिउँको स्रोत भएको नदी होस्, वर्षात्‌को स्रोत भएको नदी होस्, नेपालको चुरे, महाभारत र उच्च पहाडी भेगमा पहिरोको जोखिम बढाउँछ। दार्चुलाको चौलानी नदी किनारको पहिरो होस्, कास्कीको किम्रिङ खोलामा आएको पहिरो होस् या चीनको न्यालाम पहिरोले सिन्धुपाल्चोकको भोटेकोसी थुनिएको होस्; यी सबै नदीले फेदीको कटान गरेर पहिरो निम्त्याएका हुन्।

४. मानवीय गतिविधि :

  • अव्यवस्थित सडक निर्माण : प्राविधिक अध्ययन र सही इन्जिनियरिङविना नै जथाभावी डोजर चलाएर बनाइने ग्रामीण सडकहरूले पहाडको प्राकृतिक सन्तुलन बिगारेको छ। पानी निकासको व्यवस्था नहुँदा यस्ता सडकका कारण धेरै पहिरो जाने गरेको छ।
  • डोजरे विकास : नेपालको मध्यपहाडी भूभागमा डोजरे विकासले धेरै पहिरोको जोखिम निम्त्याएको छ। ठूलाठूला मेसिनले पहाडहरू थर्काएका हुनाले ती भूभाग अस्थिर भएका छन् र उच्च पहिरोको जोखिममा छन्। खेतीपाती वा पूर्वाधार निर्माणका लागि जङ्गल फँडानी गर्दा माटोलाई बलियोसँग समात्ने रूखका जराहरू नष्ट हुन्छन्; जसले गर्दा पानी पर्दा जमिन सजिलै बगेर जान्छ।

नेपालको उत्तरी मोहडामा किन कम पहिरो जान्छ ?

नेपालको पहाडी क्षेत्रका उत्तरी भिरालो भूभागहरू दक्षिणी भिरालो भूभागहरूको तुलनामा बढी स्थिर र सुरक्षित छन्। यस्तो हुनुको मुख्य कारण— त्यहाँको चट्टानी संरचनाको बनोट, घामको कम प्रकाश, बाक्लो वनस्पति र कम मनसुनी वर्षा हो। भौगोलिक र वातावरणीय दृष्टिकोणले उत्तरी भिरालो क्षेत्रमा पहिरो कम जानुका मुख्य कारणहरू :

  • सुरक्षित चट्टानी अवस्थिति : हिमालय क्षेत्रमा चट्टानका तहहरू सामान्यतया उत्तरतर्फ नै झुकेका हुन्छन्। उत्तरी भिरालो भागमा जमिनको ढाँचा र चट्टानको झुकाव एउटै दिशामा हुने भएकाले चट्टानहरू एकअर्कामाथि अडिएर बस्छन्। यसको विपरीत, दक्षिणी भागमा चट्टानहरू भिरतिर खुला र झुकेका हुनाले सजिलै चिप्लिन्छन्।
  • कम चाप : युरेसियन र इन्डियन प्लेटको टक्करबाट सिर्जना हुने अत्यधिक चाप र घर्षण मुख्य रूपमा दक्षिणी मोहडातर्फ बढी केन्द्रित हुन्छ; जसले गर्दा उत्तरी ढलानका चट्टानहरू तुलनात्मक रूपमा कम फुटेका र बलिया हुन्छन्।
  • ओसको सन्तुलन र कम मौसमी क्षयीकरण (घामको कम प्रकाश) : उत्तरी भिरालो भागमा सूर्यको सीधा र कडा घाम पर्दैन। घाम कम लाग्ने भएकाले यहाँको माटोमा ओस लामो समयसम्म टिकिरहन्छ। माटो धेरै सुक्ने र धेरै गल्ने नहुने हुनाले यहाँका चट्टानहरूमा चिरा पर्ने वा फुट्ने प्रक्रिया कम हुन्छ।
  • हिउँ बिस्तारै पग्लनु : अलि उच्च पहाडी क्षेत्रमा उत्तरी भागमा जमेको हिउँ बिस्तारै पग्लिन्छ। यसले गर्दा माटोले बिस्तारै पानी सोस्न पाउँछ र दक्षिणी भागमा जस्तो अचानक जमिन गल्ने वा पानीको उच्च चाप बढेर पहिरो जाने सम्भावना कम हुन्छ।
  • बाक्लो वनजङ्गल र बलियो जराको सञ्जाल : ओसिलो वातावरण र अनुकूल तापक्रमका कारण उत्तरी भिरालो भागहरूमा दक्षिणी भागको तुलनामा निकै बाक्लो र ठूला रूखहरू भएका जङ्गलहरू हुन्छन्।
  • माटोको संरक्षण : यी बाक्ला वनस्पति र रूखका जराहरूले माटो र चट्टानलाई एउटा बलियो जालजस्तै गरी बाँधेर राख्छन्; जसले गर्दा तीव्र वर्षा हुँदा पनि माटो बगेर जान पाउँदैन र क्षयीकरणको सम्भावना कम हुन्छ।
  • कम जोखिमयुक्त वर्षा : बङ्गालको खाडीबाट आउने मनसुनी बादल पहाडको दक्षिणी भागमा ठोक्किएर त्यहीँ सबैभन्दा बढी र मुसलधारे वर्षा गराउँछ। पहाडको चुचुरो काटेर उत्तरी भागमा पुग्दा बादलमा पानीको मात्रा निकै कम भइसकेको हुन्छ। त्यसैले उत्तरी ढलानहरूमा बाढी र पहिरो निम्त्याउने खालको भीषण वर्षा कम हुन्छ।

कुन–कुन क्षेत्र पहिरोको उच्च जोखिममा छन् ?

भू–आकृतिक बनावट, सक्रिय भूकम्पीय फल्ट लाइन र अत्यधिक मनसुनी वर्षा हुने क्षेत्रका आधारमा नेपाललाई उच्च पहिरो जोखिम क्षेत्रमा वर्गीकरण गरिएको छ। त्यसमा पनि, नेपालमा उच्च पहिरोको जोखिम सबैभन्दा बढी मध्यपहाडी भूभाग, उच्च हिमाली क्षेत्रका भिरहरू र चुरेको रेन्ज (विस्तारित क्षेत्र) हुन्।

भूस्खलनको जीआईएस विश्लेषणबाट प्राप्त नतिजाअनुसार नेपालमा विभिन्न प्रदेशका बढी संवेदनशील जिल्लाहरू पहिरोको सबैभन्दा उच्च जोखिममा रहेका छन् :

  • कोशी प्रदेश : ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा र उदयपुर जिल्ला रहेका छन्।
  • मधेस प्रदेश : बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाअन्तर्गत पर्ने उत्तरी चुरिया भेग।
  • बागमती प्रदेश : सिन्धुलीको पूर्वी भूभाग, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवाको दक्षिणी भूभाग, धादिङ, काठमाडौं जिल्ला रहेका छन्।
  • गण्डकी प्रदेश : पूर्वी नवलपरासीको उत्तरी रेन्ज, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत र बागलुङ जिल्ला रहेका छन्।
  • लुम्बिनी प्रदेश : पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तुको उत्तरी रेन्ज, पाल्पा, अर्घाखाँची, रुकुम पूर्व, गुल्मी, प्युठान, रोल्पा, दाङ, बाँके र बर्दियाको चुरे क्षेत्र रहेका छन्।
  • कर्णाली प्रदेश : सल्यान, सुर्खेत, रुकुम पश्चिम र जाजरकोट जिल्ला रहेका छन्।
  • सुदूरपश्चिम प्रदेश : कैलाली र कञ्चनपुरको चुरे क्षेत्र, डोटी, डडेल्धुरा र बैतडी जिल्ला रहेका छन्।

नेपालको भूगोलमा कस्ता प्रकारको पहिरो जाने गर्दछ ?

नेपालका पहाडी भूभागहरूमा भू–आकृतिक र मौसमको विविधताका कारण विभिन्न प्रकारका पहिरोहरू जाने गर्दछन्। मुख्यतया चाल र संलग्न विभिन्न वस्तुहरू, माटो र ढुङ्गाको गति, बग्ने तरिकाको आधारमा नेपालमा देखिने पहिरोहरूलाई निम्नानुसार वर्गीकरण गर्न सकिन्छ :

  • गेग्रान र लेदोसहितको पहिरो : अत्यधिक मनसुनी वर्षाका कारण माटो, ढुङ्गा र रूखका हाँगाबिँगा पानीसँग मिसिएर तीव्र गतिमा लेदो बनेर बग्ने प्रक्रिया हो। यो नेपालको पहाडी क्षेत्रमा सबैभन्दा बढी विनाशकारी रूपमा देखिन्छ। साना खोल्साहरूबाट सुरु भई यसले तलका बस्ती र खेतबारी सोहोरेर लैजान्छ।
  • सतही पहिरो : यसमा जमिनको माथिल्लो सतहको माटो (साधारणतया १ देखि २ मिटर गहिराइसम्म) मात्र उक्किएर तल झर्छ। वर्षायाममा पहाडी सडकका भित्ताहरू र वनविनाश भएका भिरालो जमिनमा यस्ता हजारौं साना पहिरोहरू एकैपटक जान्छन्।
  • चट्टान खस्ने : एकदमै ठाडो वा भिरपहराबाट ठूलाठूला चट्टान वा ढुङ्गाहरू गुरुत्वाकर्षणका कारण सीधै तल खस्ने, गुड्ने वा उछिट्टिने प्रक्रिया हो। विशेषगरी सुक्खा मौसममा वा भूकम्प जाँदा र सडक खन्ने क्रममा चट्टान खलबलिँदा बढी हुन्छ। नारायणगढ–मुग्लिन सडकखण्ड र माथिल्लो हिमाली भेगका सडकमा यो ठूलो समस्या हो।
  • गहिरो वा धँसानी पहिरो : यसमा जमिनको निकै गहिरो भागसम्मको माटो चट्टानको ठूलो हिस्सा अक्षीय रूपमा घुमेर वा चिप्लिएर तलतिर धसिन्छ। यो बिस्तारै तर निरन्तर भइरहने पहिरो हो। यसले गर्दा सिङ्गो गाउँ वा बजार नै बिस्तारै तलतिर सर्ने वा धाँजा फाट्ने (जस्तै: भूकम्पपछिका धेरै पहाडी बस्तीहरूमा) समस्या देखिन्छ।
  • चट्टान चिप्लने : चट्टानको तह वा चिराहरू पहाडको भिरालोपनसँग समानान्तर हुँदा पूरै चट्टानको ढिस्को स्ल्याब जसरी चिप्लिएर तल झर्छ। मध्यपहाडी र उच्च पहाडी क्षेत्रका कमजोर भौगर्भिक बनावट भएका स्थानहरूमा यस्तो पहिरो बढी भेटिन्छ।

नेपालमा मनसुन (जुनदेखि सेप्टेम्बर) को समयमा लेदो बहाव र सतही पहिरो सबैभन्दा बढी मात्रामा र बारम्बार दोहोरिने गर्दछन्।

(नवलपरासी हुप्सेकोट वार्ड नं. ५ अन्तर्गतको राम्चे पहिरो)

(रामेछाप, मन्थली नगरपालिकाको सिरानमा रहेको घ्याम्चेको पहिरो ।) 

सुक्खा पहिरो भनेको के हो, यो कहिले जान्छ ?

नेपालको पहाडी र हिमाली क्षेत्र निकै भिरालो छ। यहाँका पहाडहरू भौगर्भिक रूपमा युवा र काँचा छन्; जसका कारण चट्टान र माटोहरू स्वभावैले खुकुला र अस्थिर हुन्छन्। सुक्खा पहिरो भनेको पानी नपरीकन वा वर्षाको मौसम नभए तापनि अचानक जमिनको भाग वा चट्टानहरू खसेर जाने पहिरो हो।

नेपालजस्तो पहाडी भूगोल भएको देशमा यो एक गम्भीर र विनाशकारी प्राकृतिक प्रकोप हो। ठूला भूकम्प (जस्तै: २०७२ को भूकम्प) का कारण पहाडका भित्री चट्टानहरूमा चिरा पर्ने वा धाँजा फाट्ने हुन्छ। ती कमजोर बनेका चट्टानहरू पछि समयक्रममा आफैं वा हावाको दबाबले गर्दा सुक्खा पहिरोको रूपमा खस्छन्।

नेपालको पहाडी र हिमाली भूभागमा पहिरोको जोखिमबाट बच्न र यसको न्यूनीकरण गर्न इन्जिनियरिङ प्रविधि, जैविक विधि र सामुदायिक सचेतनाको एकीकृत प्रयोग आवश्यक पर्दछ।

जाडो र गर्मी महिनामा हुने अत्यधिक तापक्रमको परिवर्तनले चट्टानहरू खुम्चने र फैलिने गर्छन्। यसले गर्दा चट्टानहरू फुट्छन् र आफ्नो पकड गुमाएर तल खस्छन्। भिरालो जमिनमा रहेका खुकुला ढुङ्गा र माटोलाई पृथ्वीको गुरुत्वाकर्षण बलले निरन्तर तलतिर तानिरहेको हुन्छ। कुनै बाह्य अवरोध नहुँदा ती अचानक तल खस्छन्।

पहाडी क्षेत्रमा डोजर प्रयोग गरेर विनाइन्जिनियरिङ सडक खन्दा पहाडको तल्लो भाग (Toe) कमजोर बन्छ। यसले गर्दा वर्षा नभए पनि माथिल्लो भाग सन्तुलन गुमाएर सुक्खा पहिरोको रूपमा खस्छ। नेपालमा विशेष गरी हिउँद र सुक्खायाम (फागुनदेखि जेठसम्म) मा यस्ता सुक्खा पहिरोहरू बढी जाने गर्दछन्।

पहिरो जान लागेको पूर्वसङ्केतहरू कसरी थाहा पाउने ?

वैज्ञानिक उपकरण नभएका ठाउँमा स्थानीय ज्ञान र सीपहरू भरपर्दा छन्। नेपालका ग्रामीण तथा पहाडी भेगमा वर्षौंदेखि बस्दै आएका स्थानीय बासिन्दाहरूले आफ्नो अनुभव र वातावरणको सूक्ष्म अवलोकनका आधारमा पहिरो जानुअघि देखिने पूर्वसङ्केतहरू अड्कलबाजी लगाउने गर्दछन्।

पूर्वसङ्केतहरू :

  • जमिनवरिपरि देखिने भौतिक परिवर्तनको आकलन : नयाँ धाँजा वा चिराहरू पर्नु, घरको आँगन, खेतका गरा वा पहाडको पाखोमा अचानक नयाँ चिराहरू देखा पर्नु वा पुराना चिराहरू दिनानुदिन चौडा हुँदै जानु निकट भविष्यमा पहिरो जाने सङ्केत हो।
  • वनस्पति र रूखहरूको अवस्था : भिरालो जमिनमा रहेका रूखहरू, बिजुलीका पोलहरू वा तारबारका खम्बाहरू अचानक एकैतिर ढल्किएका छन् भने त्यसको मतलब जमिनको भित्री तह बिस्तारै तलतिर सरिरहेको छ। जराहरू कड्किएको आवाज आउनु, शान्त रातमा वा दिउँसो पहाडको भित्ताबाट रूखका जराहरू च्यातिएको वा कड्किएको आवाज सुनिनु भनेको जमिनमा ठूलो तनाव पैदा भइरहेको छ भने त्यो पहिरो निम्त्याउने सङ्केत हो।
  • पानीका मुहान र पँधेराको परिवर्तन : वर्षौंदेखि चलिरहेको पानीको मुहान वा पँधेरो अचानक सुक्नु अथवा सुक्खा ठाउँमा अचानक नयाँ पानीको मुहान फुट्नुले जमिनभित्र पानीको बाटो परिवर्तन भइरहेको छ भने त्यो पहिरो निम्त्याउने सङ्केत हो। हिजोअस्तिसम्म सफा बग्ने पानीका मुहान वा खोल्साको पानी अचानक धमिलो वा माटो मिसिएको लेदोजस्तो भएर आउनु भनेको माथिल्लो भागमा जमिन खस्किसकेको सङ्केत हो।
  • प्रकृति र जनावरहरूको व्यवहार : पहाडको माथिल्लो भागबाट सानासाना ढुङ्गाहरू लगातार खसिरहनु र जमिनभित्रबाट गडगडाहट आवाज आउनु तत्कालै पहिरो जान लागेको ठूलो सङ्केत र चेतावनी हो। घरपालुवा जनावरले गोठभित्र बस्न नमान्ने जस्ता अस्वाभाविक व्यवहार देखाउँछन्। चराचुरुङ्गीहरू एकाएक कराउँदै वन छाडेर भाग्नुलाई पनि निकट भविष्यमा पहिरो जाने सङ्केतको रूपमा लिन सकिन्छ र सतर्कता बढाउन मद्दत पुग्दछ।

नेपालमा पहिरो न्यूनीकरणका प्रमुख उपायहरू केके हुन सक्छन् ?

नेपालको पहाडी र हिमाली भूभागमा पहिरोको जोखिमबाट बच्न र यसको न्यूनीकरण गर्न इन्जिनियरिङ प्रविधि, जैविक विधि र सामुदायिक सचेतनाको एकीकृत प्रयोग आवश्यक पर्दछ। भू–आकृति र भूगर्भशास्त्रका सिद्धान्तहरूका आधारमा पहिरोको जोखिमबाट बच्ने मुख्य उपायहरूलाई तल बुँदाहरूमा स्पष्ट पारिएको छ :

  • बायो–इन्जिनियरिङ (बुट्यान र घाँस रोप्ने) : माटोको जरालाई तल्लो सतहसम्म बेजोडले समात्न सक्ने वनस्पतिहरू (जस्तै: अम्रिसो, भेटिबर, भुजेत्रो, निगालो अनि अन्य बाँस प्रजाति, बाबरी र केतुकी जस्ता) गहिरो जरा जाने वनस्पतिहरू भिरालो जग्गामा लगाउनुपर्छ। यस्ता वनस्पतिका जराहरूले खुकुलो माटोलाई बलियोसँग बाँधेर राख्छन् र सतही पहिरो जानबाट रोक्छन्। यो प्रविधि सस्तो र वातावरणमैत्री हुन्छ।
  • इन्जिनियरिङ संरचना : पहाडको फेदमा ढुङ्गा र जालीको पर्खाल वा कङ्क्रिटको रिटेनिङ पर्खाल लगाइन्छ। यसले नदीको कटान रोक्छ र माथिबाट आउने माटोको चापलाई थेगेर पहाडको भित्तालाई स्थिरता दिन्छ।
  • पानी निकासको व्यवस्थापन : पहाडको भित्तामा पानी जम्न नदिन पक्की नालाहरू र सतही ड्रेनेजको निर्माण स्थायी रूपमा गरेमा यसले माटोभित्र पानी पस्न दिँदैन; जसले गर्दा पहिरो खसाल्ने मुख्य कडी पोर वाटर प्रेसर बढ्न पाउँदैन र पहिरो जाने सम्भावनालाई न्यूनीकरण गर्न मद्दत गर्दछ।
  • प्रकृतिमैत्री/सकारात्मक पूर्वाधारको निर्माण : डोजरे विकासको अन्त्य गरी इन्जिनियरिङ डिजाइन र भौगर्भिक अध्ययन विना जथाभावी पहाड काट्ने काम बन्द गर्नुपर्छ। सडक खन्दा निकै ठाडो पार्नुको सट्टा स्टेप–स्टेप बनाएर काट्नुपर्छ र काटिएका भित्ताहरूमा तत्कालै जियोटेक्स्टाइल जालीको प्रयोग गर्नुपर्छ।
  • पूर्वसूचना प्रणाली र सामुदायिक तयारी : गाउँगाउँमा स्वचालित वर्षामापन यन्त्रहरू जडान गरी एउटा निश्चित सीमाभन्दा बढी पानी पर्नासाथ तल्लो क्षेत्रमा साइरन बज्ने व्यवस्था मिलाउने। कुनकुन ठाउँ बस्न अयोग्य छन् ? भनी जोखिम नक्साङ्कन गर्ने र पहिरोको जोखिम भएका बस्तीहरूलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने।
  • चिराहरू/धाँजाहरू पुर्ने : वर्षायाम सुरु हुनुअघि वा वर्षाको बीचमा संवेदनशील क्षेत्रमा जमिनमा देखिएका धाँजा र चिराहरूलाई सामूहिक प्रयासमा माटो वा प्लास्टिकले थुनेर भित्र पानी पस्नबाट रोक्ने।
  • ड्रोनबाट बीउ छर्ने प्रविधि : असुरक्षित सडक सञ्जाल, दुर्गम, विकट, कठिन र अत्यन्तै भिरालो पहाडी भूगोलका कारण मानिस पुग्न नसक्ने हुँदा नेपालमा पहिरो नियन्त्रण र स्थिरीकरणका लागि ड्रोनको माध्यमबाट हवाई बीजारोपण एक अत्यन्तै महत्त्वपूर्ण र प्रभावकारी प्रविधि बन्दै गएको छ।

(लेखक भूगोलविद् र संरक्षण वैज्ञानिक हुन्। यो लेखले उनी कार्यरत कार्यालयको प्रतिनिधित्व गर्दैन। यो लेखमा प्रयोग भएका सम्पूर्ण नक्सा र तस्बिरहरू लेखक स्वयंको हो।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?