+
+
Shares

बाढी र डुबानको क्षतिको समीक्षा गर्दै तत्काल राहत प्याकेज घोषणा गर्न सांसद खनालको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १३:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अविरल वर्षापछि नारायणी नदीको उच्च बहावले नवलपुरको सुस्ता गाउँसहितका क्षेत्र डुबानमा परेर ११ सयभन्दा बढी नागरिक विस्थापित भएका छन्।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले बाढी प्रभावित क्षेत्रमा तत्काल राहत र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए।
  • बाढीले कालीगण्डकी करिडोर, बौदीकाली जोड्ने पुल र बौदीकाली–४, ऋचाङको मौलाथरमा क्षति पुर्‍याएपछि आवतजावत ठप्प भएको छ।

१२ असोज, काठमाडौं । अविरल वर्षाका कारण नारायणी नदीमा आएको उच्च बहावले नवलपुरको जनजीवन अस्तव्यस्त बनेको छ ।

बाढीका कारण सुस्ता गाउँसहित विभिन्न क्षेत्र डुबानमा परेपछि ११ सयभन्दा बढी नागरिक विस्थापित भएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले बाढी प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद खनालले नारायणीको बहाव उच्च हुँदा अमलटारी, सेरी, तमासपुर र बहुवन क्षेत्र उच्च जोखिममा परेको र सिङ्गो सुस्ता गाउँ नै डुबानको चपेटामा परेको जानकारी दिएका छन् ।

स्थानीय प्रशासनले २३५ घरधुरीका ११ सय नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरे पनि पानीको सतह घटेपछि पनि विस्थापितहरू अझै घर फर्कने अवस्था नरहेको उनले बताए ।

‘नदी तटीय क्षेत्रमा बाढी र डुबानले पुर्‍याएको क्षतिको गम्भीर समीक्षा गर्दै सरकारले तत्काल राहतको प्याकेज घोषणा गरोस्,’ सांसद खनालले भने, ‘साथै, यसको दीर्घकालीन समाधानका लागि विगतमा सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजनाले तयार पारेको कटान नियन्त्रणसम्बन्धी अध्ययन प्रतिवेदन तत्काल ऊर्जा मन्त्रालयबाट झिकाई कार्यान्वयन गर्न जरुरी छ ।’

बाढीका कारण कालीगण्डकी करिडोरमा पुगेको क्षति र बौदीकाली गाउँपालिका जोड्ने झोलुङ्गे तथा पक्की पुलमा भएको क्षतिले नागरिकको आवतजावत ठप्प भएको उनले बताए ।

यसका साथै बौदीकाली–४, ऋचाङको मौलाथरमा गएको पहिरोले पुर्‍याएको क्षतिप्रति पनि उहाँले सरकारको ध्यानाकर्षण गराए ।

प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन पूर्वतयारी र विस्तृत अध्ययनको खाँचो रहेको खनालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?