+
+
Shares

गुल्मीमा विपद्‍का ९ घटना, ३५१ जना प्रभावित

गुल्मीमा अविरल वर्षा, हावाहुरी, पहिरो तथा नदीको बहाव बढ्दा विभिन्न स्थानमा ९ वटा विपद्का घटना भएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते ७:५३

१३ असोज, गुल्मी । गुल्मीमा अविरल वर्षा, हावाहुरी, पहिरो तथा नदीको बहाव बढ्दा विभिन्न स्थानमा घर तथा बस्ती जोखिममा परेका छन् । जिल्ला प्रहरी कार्यालय तथा सम्बन्धित प्रहरी इकाइबाट प्राप्त विवरणअनुसार १०-१२ असोजसम्म जिल्लाका विभिन्न स्थानमा ९ वटा विपद्का घटना भएका छन् ।

मुसिकोट नगरपालिका–१ पौदी अमराईस्थित रातामाटा निवासी ५५ वर्षीय मानप्रसाद श्रेष्ठको घरमा १० असोज राति पहिरो गएपछि घर पूर्णरूपमा उच्च जोखिममा परेको छ । घरमा रहेका २ जनालाई नजिकैको गोठमा स्थानान्तरण गरिएको छ ।

सोही दिन बिहान सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकको माझगाउँमा निरन्तर वर्षा र हावाहुरीका कारण रमेश सुनार र सूर्य सुनारको घरको गारो भत्किएको छ । दुवै घरका ६ परिवारलाई आफन्त यादव सुनारको घरमा सारिएको छ ।

रुरुक्षेत्र गाउँपालिका–१ रिडी बजार नजिक लामाचौपारीमा कालिगण्डकी नदीको बहाब बढेपछि पसल गरी बसेका ६–७ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो । मुसिकोट नगरपालिका–२ झरुवामा अमरबहादुर कुमालको ढुंगा–माटोले बनेको दुईतले घरमाथिबाट पहिरो आई घरको पछाडिको भाग पुरिएको छ ।

घर अगाडिको ढिस्कोसमेत खसेपछि घर पूर्णरूपमा जोखिममा परेको थियो। प्रहरीले स्थानीयको सहयोगमा घरका मानिस तथा सरसामान सुरक्षित स्थानमा सारेको छ । रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारमा ठाकुरप्रसाद ज्ञवालीको दुईतले पक्की घर अविरल वर्षाका कारण करिब २ फिट भासिएको छ ।

घरमा हार्डवेयरका सामान रहेको र घरधनी पुरानो घरमा सरेका छन् । सोही स्थानमा बालकुमारी रानाको तीनतले पक्की घरको दायाँतर्फको सिँढी चर्किएको छ । यी घटनामा मानवीय क्षति भएको छैन ।

मदाने गाउँपालिका–६ पुर्कोटदहको ठुम्कामा हावाहुरी र वर्षाका कारण ३७ वर्षीय सन्तोष चुदाराको ढुंगा–माटोले बनेको टिनले छाएको घरको छानो उडाएको छ । घटनामा मानवीय तथा चौपाया क्षति भएको छैन ।

चन्द्रकोट गाउँपालिका–३ भुल्केमा बार्जिङ–सल्यार सामुदायिक वनमाथिबाट पहिरो जाँदा सल्लाका रुखहरू बगेका छन् । सो क्षेत्रमा रहेका ४० घरधुरीका २५० जनालाई आफन्तको घरमा स्थानान्तरण गरिएको छ ।

थप जोखिम बढे उदय माध्यमिक विद्यालयको छात्रावासमा स्थानान्तरण गर्ने तयारी गरिएको छ । असोज ११ गते चन्द्रकोट गाउँपालिका–७ रुपाकोटको सोटामा बडिगाड खोलाको बहाब बढ्दा विष्णुप्रसाद भण्डारीको घर डुबानमा परेको थियो ।

घरमा रहेका ३ जनालाई आफन्तकोमा स्थानान्तरण गरिएको छ भने सो क्षेत्रमा करिब २० रोपनी धानबाली डुबानमा परेको छ । त्यसैगरी, असोज १२ गते रुरुक्षेत्र गाउँपालिका–१ रिडी बजारबाट रिडी–रुद्रवेणी जाने तल्लो सडकखण्डमा कालिगण्डकी नदीको बहाव बढेर खेलमैदान डुबानमा परेको थियो ।

नदी सडकसम्म आएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै ७ घरधुरीका सरसामान सुरक्षित स्थानमा सारिएको थियो । यसैबीच, मुसिकोट नगरपालिका–३ खिल्लीमा घरतलबाट पहिरो गएपछि सुनिल गन्धर्व, होमबहादुर गन्धर्व, पम्फा गन्धर्व, डिमबहादुर गन्धर्व, सागर गन्धर्व, बसन्त गन्धर्व र कमला गन्धर्वलगायत ७ घरधुरी जोखिममा परेका छन् ।

प्रहरी र स्थानीयको सहयोगमा सरसामान सुरक्षित स्थानमा सारिएको छ । उक्त घटनाबाट ३७ जना विस्थापित भई आफन्तको घरमा बसोबास गरिरहेका छन् गुल्मीमा उक्त अवधिमा ९ वटा विपद्का घटना भएका छन् ।

ती घटनामा कम्तीमा ३५१ जना प्रत्यक्ष रूपमा स्थानान्तरण/विस्थापित भएका छन् । साथै करिब २० रोपनी धानबाली डुबानमा परेको, ४० घरधुरी उच्च जोखिममा परेको, तथा विभिन्न स्थानमा घरमा पहिरो, भासिने, गारो तथा सिँढी चर्किने र छाना उड्ने क्षति भएको छ । हालसम्म प्राप्त विवरणमा मानवीय तथा चौपाया मृत्यु भएको उल्लेख छैन ।

वर्षाका कारण जिल्लाका अधिकांश क्षेत्रका सडक सञ्जाल टुटेका छन् । अहिले स्थानीय सरकारले बाटो खुलाउने कार्यमा लागेका छन् । त्यस्तै विद्युतका पोल्ने बग्ने ढल्ने गरेकाले धेरै ठाउँमा बत्ती लामो समयसम्म गएको थियो । अहिले मर्मत पछि धेरै ठाउँमा सहज हुँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?