+
+
Shares

रोल्पामा कांग्रेसका दुवै क्षेत्रीय सभापति निर्विरोध

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते ८:३८

१३ असोज, रोल्पा । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत रोल्पाका दुई प्रदेश क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट प्रदेश ‘क’ को क्षेत्रीय सभापतिमा बिमल कुमार जिसी र प्रदेश ‘ख’ को सभापतिमा प्रताप बुढा सर्वसम्मत निर्वाचित भएका छन्।

१५औं महाधिवेशनका लागि रोल्पा जिल्ला निर्वाचन अधिकृत सुदीप गौतमका अनुसार दुवै क्षेत्रको अधिवेशन सोमबार शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको हो । ‘रोल्पामा हामीले वडा, पालिका र क्षेत्रीय अधिवेशन भयरहित वातावरणमा सम्पन्न गरेका छौं’, गौतमले भने ।

नेपाली कांग्रेस रोल्पाका सचिव शेरबहादुर थापाका अनुसार दुईवटा प्रदेश क्षेत्रीय अधिवेशनबाट ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन्। त्यस्तै, दुवै प्रदेश क्षेत्रबाट २४/२४ जना प्रदेश प्रतिनिधि पनि सर्वसम्मत निर्वाचित भएका छन्। ‘रोल्पाका दुईवटा क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ। दुवै अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि सर्वसम्मत निर्वाचित भएका छन्,’ थापाले भने।

कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते वडा तथा असोज ७ गते गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको अधिवेशन गर्ने कार्यतालिका थियो।

रोल्पामा तीन वडा र एक गाउँपालिकामा निर्धारित समयमा अधिवेशन हुन सकेको थिएन। निर्धारित समयपछि असोज ७ गते थबाङ गाउँपालिका–१ र २ मा वडा अधिवेशन सम्पन्न भएको थियो।

थबाङ गाउँपालिका–१ ठूलो गाउँमा जानपुरा मगरनी र वडानम्बर २ झकेबाङमा कमलबहादुर रोका वडा सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्।

त्यस्तै, असोज ८ गते थबाङ गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ। थबाङ गाउँपालिका सभापतिमा खरिलाल डाँगी सर्वसम्मत निर्वाचित भएका छन्।

लुङ्ग्री गाउँपालिका–३ मा भने अझै वडा अधिवेशन हुन सकेको छैन।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?