१३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत दैलेख–२ मा महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन हुनुपर्ने माग राख्दै उम्मेदवारहरूले निर्वाचन समितिको कार्यालयमा तालबन्दी गरेका छन् ।
सर्वसम्मतिको नाममा सूचना टाँस गरेर महाधिवेशन प्रतिनिधिहरू चयन गर्ने प्रयास गरिएको भन्दै उम्मेदवारहरूले मंगलबार निर्वाचन समितिको कार्यालयमा तालबन्दी गरेका हुन् ।
महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दर्ता गरेकामध्येका एक रामचन्द्र भण्डारीले सर्वसम्मत प्रतिनिधि चयन गर्न नपाइने माग राखेर आफूहरूले कार्यालयमा तालबन्दी गरेको जानकारी दिए ।
उनले मनोनयन दर्ता गरेका उम्मेदवारहरूलाई जानकारी नै नदिएर सर्वसम्मतिका नाममा सूचना टाँस गरेर महाधिवेशन प्रतिनिधिहरू चयन गर्ने तयारी गरिएपछि तालाबन्दी गर्नु परेको पनि बताए ।
नेता भण्डारीका अनुसार मनोनयन दर्ता गरेका २२ जना उम्मेदवारहरूले चुनावी प्रक्रिया अगाडि बढाउनु पर्ने माग गर्दै क्षेत्र, जिल्ला र केन्द्रीय निर्वाचन समितिमा उजुरी दिइएका छन् ।
दैलेख–२ को क्षेत्रीय अधिवेशनबाट भरत रिजाल सर्वसम्मत क्षेत्रीय सभापतिमा निर्वाचित भइसकेका छन् भने महाधिवेशन प्रतिनिधिहरूको टुंगो लाग्न सकेको छैन ।


प्रतिक्रिया 4