+
+
Shares
इतिहास :

एकताबाट जन्मिएको कांग्रेस फुट्दै-जुट्दै

नेपाली कांग्रेसको इतिहास हेर्दा पार्टी भित्रको विवाद पटकपटक औपचारिक विभाजनसम्म पुगेको देखिन्छ । २००६ सालमा दुई फरक राजनीतिक धार एक भएर बनेको कांग्रेसले केही वर्षमै मातृकाप्रसाद कोइरालाको नेतृत्वमा पहिलो विभाजन बेहोरेको थियो । त्यसको पाँच दशकपछि २०५९ सालमा शेरबहादुर देउवा नेतृत्वमा दोस्रो ठूलो औपचारिक विभाजन भयो ।

केशव सावद केशव सावद
२०८३ असोज १४ गते २०:२५

१४ असोज, काठमाडौं । नेपाली कांग्रेस यतिबेला १५ ‌औं महाधिवेशनको चटारोमा छ । जेनजी आन्दोलनपछि पार्टीभित्र नेतृत्व परिवर्तनको मागसँगै विवाद चुलिएको थियो । त्यही विवादका बीचमा विशेष महाधिवेशनले गगन थापालाई सभापति चयन गर्‍यो । यो निर्णयमा चित्त नबुझाएको शेरबहादुर देउवा समूह कानुनी निरुपणका लागि अदालतमा गएको छ ।

तर पार्टी नेतृत्वको आधिकारिकता पाइसकेपछि कांग्रेसले आफ्नो विधान अनुसार १५ औं महाधिवेशन गर्दैछ । त्यसमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र १४औं महाधिवेशनमा सभापतिका प्रत्यासि रहेका डा. शेखर कोइराला पक्ष सहभागी हुनेछैनन् ।

पूर्वसभापति देउवा र पूर्वउपसभापति पूर्णबहादुर खड्काले फैसलाको पुनरावलोकन माग गर्दै छुट्टाछुट्टै निवेदन दिएका छन् । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहितको पूर्ण इजलासले पुनरावलोकनको अनुमति दिएपछि देउवा पक्ष १५औं महाधिवेशनको मूल प्रक्रियामा सहभागी भएको छैन ।

कांग्रेसले १५औं महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशन अघि बढाइरहेका बेला देउवा पक्षले अर्को महाधिवेशनको तयारी गरिरहेको छ । अब समानान्तर महाधिवेशन अघि बढे त्यसले पार्टीभित्र केही नेताहरू चोइटिनेछन् ।

तर, कांग्रेसका लागि यस्ता विवाद र विभाजन नयाँ विषय होइनन् । स्थापनाकालदेखि नै कांग्रेस नेतृत्व, नीति र कार्यदिशासम्बन्धी मतभेदका कारण पटकपटक फुट र पुनः एकताको अनुभव लिँदै आएको छ ।

एकताबाट जन्मिएको कांग्रेस

जहानियाँ राणा शासन अन्त्य गरी प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने उद्देश्यले गठन भएका दुई राजनीतिक शक्ति ‘नेपाली राष्ट्रिय कांग्रेस’ र ‘नेपाल प्रजातन्त्र कांग्रेस’बीच २००६ सालमा एकीकरण भएपछि नेपाली कांग्रेसको जन्म भएको थियो ।

‘नेपाली राष्ट्रिय कांग्रेस’ले अहिंसात्मक आन्दोलनमार्फत राणा शासन अन्त्य गर्ने नीति लिएको थियो भने ‘नेपाल प्रजातन्त्र कांग्रेस’ सशस्त्र संघर्षलाई समेत आन्दोलनको माध्यम मान्थ्यो । फरक रणनीति भए पनि दुवैको राजनीतिक लक्ष्य भने राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना थियो ।

२००३ साल माघ १२ र १३ गते कलकत्तामा आयोजित अधिवेशनबाट ‘नेपाली राष्ट्रिय कांग्रेस’ गठन भएको थियो ।

बीपी कोइराला, गणेशमान सिंहलगायत नेताहरूको सक्रियतामा गठन भएको पार्टीको अध्यक्षमा जेलमा रहेका प्रजा परिषद्का नेता टंकप्रसाद आचार्यलाई मनोनीत गरिएको थियो ।

त्यसैगरी, राणा शासनविरुद्ध सशस्त्र संघर्षको आवश्यकता महसुस गर्दै सुवर्णशमशेर राणा, महावीरशमशेर, सूर्यप्रसाद उपाध्याय, महेन्द्रविक्रम शाहलगायतको पहलमा २००५ साल साउन १ गते नेपाल प्रजातन्त्र कांग्रेस गठन भएको थियो ।

दुवै पार्टीबीच एकीकरणको प्रक्रिया अघि बढ्दै जाँदा २००६ साल चैत २७ गते कलकत्ता (भारत) को चौरंगीस्थित महावीरशमशेरको टाइगर सिनेमा हलमा बृहत् सम्मेलन आयोजना भयो । यही सम्मेलनबाट ‘नेपाली राष्ट्रिय कांग्रेस’ र ‘नेपाल प्रजातन्त्र कांग्रेस’बीच एकीकरण भयो र नेपाली कांग्रेस अस्तित्वमा आयो ।

दुवै दलले आ–आफ्नो पार्टीको नामको मध्य भागमा उल्लिखित ‘राष्ट्रिय’ र ‘प्रजातन्त्र’ शब्द हटाएर नयाँ पार्टीको नाम राखेका थिए । राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेसबीच एकता गराउन भारतीय समाजवादी दल र भारतीय कांग्रेसको सहयोग पनि देखिन्छ ।

इतिहासकार डा. राजेश गौतमका अनुसार एकीकरणपछि गठन भएको नयाँ दल नेपाली कांग्रेसको सभापतिमा मातृकाप्रसाद कोइराला (सभापति, नेपाली राष्ट्रिय कांग्रेस) र महामन्त्रीमा महेन्द्रविक्रम शाह (सभापति, नेपाली प्रजातन्त्र कांग्रेस) लाई चयन गरिएको थियो ।

एक–अर्काको भयले पार्टी एकीकरण

प्रजातन्त्र कांग्रेसका नेताहरू छिटोभन्दा छिटो राणा शासन समाप्त गरी नेपालमा प्रजातान्त्रिक व्यवस्था कायम गर्न चाहन्थे । नेपालमा प्रजातान्त्रिक व्यवस्था कायम गर्न उनीहरू राष्ट्रिय कांग्रेससँग एकीकृत हुन चाहिरहेका थिए ।

तर, प्रजातन्त्र कांग्रेसका नेताहरूलाई राष्ट्रिय कांग्रेस (बीपी समूह)ले अवलम्बन गरेको अहिंसात्मक नीतिप्रति विश्वास थिएन । ‘अहिंसात्मक आन्दोलनबाट राणा शासनलाई अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न सकिन्छ भन्ने कुरामा उनीहरू सहमत थिएनन्,’ इतिहासकार डा. गौतमले आफ्नो पुस्तक ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस–१’ मा लेखेका छन् ।

उनका अनुसार राष्ट्रिय कांग्रेसप्रति नेपाली जनताको बढ्दो आशा र विश्वासका साथै भारतीय नेताहरूको सहानुभूतिले प्रजातन्त्र कांग्रेसलाई पार्टी एकीकरणका लागि प्रेरित गरेको थियो ।

‘नेपाली जनताको बीचमा राष्ट्रिय कांग्रेस प्रसिद्ध भइसकेको थियो । यी सबैले गर्दा आफू पछाडि पर्ने हो कि भन्ने डर प्रजातन्त्र कांग्रेसका नेता सुवर्णशमशेर, महावीरशमशेरलाई भइरहेको थियो,’ पुस्तकमा भनिएको छ ।

अर्कोतिर, राष्ट्रिय कांग्रेसका नेता बीपी कोइराला पनि प्रजातन्त्र कांग्रेसको गतिविधिलाई सूक्ष्म रूपमा नियालिरहेका थिए । प्रजातन्त्र कांग्रेसले हिंसात्मक कारबाहीको तयारी धेरै अगाडि बढाइसकेको थियो ।

डा. गौतमका अनुसार प्रजातन्त्र कांग्रेसको तयारीले आफू पछि पर्ने डर बीपीमा परेको थियो । ‘यिनै कारणहरूले गर्दा राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेसका नेताहरूले मिल्ने कुरा गर्न छाडेका पनि थिएनन्, तर मिल्न पनि सकिरहेका थिएनन्,’ उनले भनेका छन् ।

एकअर्काको लोकप्रियता बढ्ने भयमा रहेका दुवै दललाई मिलनविन्दुमा ल्याउने मुख्य भूमिका बीपीले खेलेका थिए । बीपीले २००६ साल (असार–साउन) मा जारी गरेको वक्तव्यले दुई दललाई मिलनविन्दुमा ल्याएको थियो ।

‘स्वार्थी राणाहरूबाट सुधारको आशा गर्नु थारी गाईबाट दूध पाउने आशा गर्नु समान हुनेछ । त्यसैले नेपालीहरूले पापबाट मुक्त हुनका लागि सम्झौताको विचारमा नलागी संघर्षतर्फ नै अग्रसर हुनुपर्छ,’ सन् १९४७ को सेप्टेम्बरमा प्रकाशित ‘नेपाल टुडे’ नामक पत्रिकामा प्रकाशित बीपीको वक्तव्यमा उल्लेख थियो ।

सोही वक्तव्यले राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेसलाई एकत्रित गराउन ठूलो सघाउ पुगेको इतिहासकार गौतमको भनाइ छ । अन्तिम लक्ष्य एउटै बोकेका दुई दलबीच एकीकरण भएर जन्मिएको नेपाली कांग्रेसले अहिलेको अवस्थासम्म आइपुग्दा पटकपटक विभाजन पीडा भोगिसकेको छ ।

एकतापछिको पहिलो विभाजन

नेपाली कांग्रेस गठन भएको केही वर्षमै पार्टीभित्र नेतृत्व र सरकार सञ्चालनको विषयलाई लिएर मतभेद सुरु भयो । प्रजातन्त्र स्थापना भएपछि बीपी कोइराला र तत्कालीन प्रधानमन्त्री तथा पूर्वसभापति मातृकाप्रसाद कोइरालाबीचको सम्बन्धमा बढेको दूरी अन्ततः पार्टी विभाजनसम्म पुग्यो ।

२००९ साल भदौ १५ गते बसेको कांग्रेस महासमिति बैठकले तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र उनका केही मन्त्रीलाई तीन वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने केन्द्रीय कार्यसमितिको निर्णय अनुमोदन गर्‍यो ।

इतिहासकार पुरुषोत्तम बस्नेतका अनुसार १६३ महासमिति सदस्य रहेको बैठकमा १४९ जनाको उपस्थिति थियो । १५ जनाले बैठक बहिष्कार गरेपछि उपस्थित सदस्यमध्ये १३४ जनाले मतदान गरेका थिए । तीमध्ये ११८ जनाले कारबाहीको पक्षमा, सात जनाले विपक्षमा मतदान गरेका थिए भने ९ जना तटस्थ बसेका थिए ।

मन्त्रिमण्डल गठन तथा हेरफेरलगायत विषयमा बीपी र मातृकाबीच बढेको मतभेद नै विवादको मुख्य कारण बनेको थियो । महासमिति बैठकले कारबाही अनुमोदन गरेपछि मातृकाप्रसाद कोइराला मूल कांग्रेसबाट अलग भए ।

२००९ साल भदौ २१ गते मातृकाप्रसादको सभापतित्वमा ‘नेपाली कांग्रेस तदर्थ समिति’ गठन भयो । महेन्द्रविक्रम शाह महामन्त्री रहेको उक्त समूहले काठमाडौंमा छुट्टै कार्यालय खोलेर संगठन विस्तारको अभियान अघि बढायो । समूहले आफ्नो मुखपत्रका रूपमा ‘आलोक’ साप्ताहिकसमेत प्रकाशन सुरु गरेको बस्नेतले उल्लेख गरेका छन् ।

‘यसको काठमाडौंमा छुट्टै केन्द्रीय कार्यालय खोलियो र देशभरि नेपाली कांग्रेस विभाजनको अभियान थालियो,’ इतिहासकार बस्नेतको पुस्तक ‘नेपाली कांग्रेसको इतिहासको प्रारूप’ मा लेखिएको छ, ‘यसले आफ्नो मुखपत्रको रूपमा ‘आलोक’ साप्ताहिकको प्रकाशन प्रारम्भ गर्‍य । यसको सम्पादक विजयबहादुर मल्ल थिए ।’

त्यसको केही महिनापछि २००९ असोज २५ गते विराटनगरमा तदर्थ समितिको पहिलो औपचारिक बैठक बस्यो । २००९ फागुन २ र ३ गते काठमाडौंमा बसेको बैठकले कांग्रेससँग सहमति कायम हुन नसकेको निष्कर्ष निकाल्दै छुट्टै सम्मेलन गर्ने निर्णय गर्‍यो ।

बैठकको निर्णयअनुसार २०१० साल वैशाख १५ गते वीरगञ्जमा सम्मेलन आयोजना गरियो । विभिन्न जिल्लाबाट करिब २५० नेता–कार्यकर्ता सहभागी सम्मेलनले नेपाली कांग्रेसबाट विधिवत् अलग भएर छुट्टै पार्टी गठन गर्ने निर्णय गर्‍यो ।

नयाँ पार्टीको नाम के राख्ने भन्ने विषयमा पनि छलफल भयो । इतिहासकार बस्नेतले आफ्नो पुस्तकमा ‘नेपाली राष्ट्रिय कांग्रेस’ र ‘नेपाल प्रजातन्त्र कांग्रेस’ एकीकरण हुँदा हटाइएका ‘राष्ट्रिय’ र ‘प्रजातन्त्र’सँग जोडिएको नामलाई समायोजन गर्दै नयाँ पार्टीको नाम ‘राष्ट्रिय प्रजा पार्टी’ राखिएको उल्लेख गरेका छन् ।

‘त्यो सम्मेलनमा सर्वसम्मत रूपमा मातृकाप्रसाद कोइरालाको नेतृत्वमा एउटा छुट्टै पार्टी गठन गर्ने कुराको तय भयो । त्यसको नाम ‘नेपाली कांग्रेस’ नै राख्ने वा अन्य नाम राख्ने भन्नेबारे व्यापक छलफल भयो,’ इतिहासकार बस्नेतले लेखेका छन्, ‘अन्ततः नेपाली कांग्रेसमा एकीकृत हुने दुई पार्टी नेपाली राष्ट्रिय कांग्रेस एवं नेपाल प्रजातन्त्र कांग्रेससित जोडिएको तर, एकीकरणमा हटाइएको नाम ‘राष्ट्रिय’ र ‘प्रजातन्त्र’ लाई समायोजन गरेर राष्ट्रिय प्रजा पार्टी नामकरण गरियो ।’

यससँगै नेपाली कांग्रेस स्थापनाको तीन वर्षमै पहिलो पटक औपचारिक विभाजनमा पुग्यो ।

दोस्रो ठूलो विभाजन : कांग्रेस प्रजातान्त्रिक

कांग्रेस विभाजनको इतिहासमा २०५९ साल अर्को महत्वपूर्ण मोड बन्यो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टी सभापति गिरिजाप्रसाद कोइरालाबीच माओवादी द्वन्द्व, संकटकाल, प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनलगायत विषयमा विवाद चर्कियो ।

देउवा नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि पार्टीभित्रको विवाद थप गहिरियो । अन्ततः कांग्रेसले देउवालाई पार्टीबाट निष्काशन गर्‍यो ।

त्यसपछि देउवा पक्षले २०५९ असारको पहिलो साता काठमाडौंको नयाँ बानेश्वरमा महाधिवेशन प्रतिनिधिहरूको भेला आयोजना गर्‍यो । उक्त भेलाले गिरिजाप्रसाद कोइरालालाई पार्टी सभापतिबाट हटाएको घोषणा गर्दै शेरबहादुर देउवालाई सभापति चयन गर्‍यो ।

निर्वाचन आयोगले कोइराला नेतृत्वको समूहलाई नेपाली कांग्रेसको आधिकारिक नाम र ‘रुख’ चुनाव चिह्न दिएपछि देउवा पक्षले ‘नेपाली कांग्रेस (प्रजातान्त्रिक)’ नाममा छुट्टै पार्टी अघि बढायो ।

यो कांग्रेस औपचारिक रूपमा विभाजित भएको दोस्रो घटना थियो । तर पछिल्लो विभाजनलाई कोइराला र देउवाले स्थायी भने राखेनन् । २०६४ सालमा नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक) बीच एकीकरण भयो ।

त्यसपछि देउवा मूल कांग्रेसमै फर्किए । पुनः एकीकृत कांग्रेसको नेतृत्वमा सक्रिय रहँदै देउवा १३औं र १४औं महाधिवेशनबाट लगातार दुई कार्यकाल सभापति निर्वाचित भए ।

फुट्दै–जुट्दै आएको इतिहास

नेपाली कांग्रेसको इतिहास हेर्दा पार्टी भित्रको विवाद पटकपटक औपचारिक विभाजनसम्म पुगेको देखिन्छ । २००६ सालमा दुई फरक राजनीतिक धार एक भएर बनेको कांग्रेसले केही वर्षमै मातृकाप्रसाद कोइरालाको नेतृत्वमा पहिलो विभाजन ब्यहोरेको थियो ।

त्यसको पाँच दशकपछि २०५९ सालमा शेरबहादुर देउवा नेतृत्वमा दोस्रो ठूलो औपचारिक विभाजन भयो । पार्टी विभाजनका दुवै घटनामा विवादको प्रकृति भने फरक देखिन्छ ।

पहिलो विभाजनमा पार्टी र सरकार सञ्चालन तथा नेतृत्वको मतभेद प्रमुख थियो भने दोस्रो विभाजनमा पार्टी नेतृत्व, सरकार सञ्चालन, माओवादी द्वन्द्व र संसद् विघटनलगायत विषय जोडिएका थिए । तर दुवै विभाजनको अन्त्य भने पुनः एकीकरणमै भएको कांग्रेसको इतिहास छ ।

इतिहासकार बस्नेतका अनुसार मातृकाप्रसाद कोइरालाले पार्टी विभाजन गर्नुभन्दा पहिले भद्रकाली मिश्रले नेपाली कांग्रेसबाट अलग भएर ‘नेपाल जनकांग्रेस’ गठन गरिसकेका थिए । यस्तै, बालचन्द्र शर्मा र केदारमान व्यथितहरूले अर्को फुट ल्याएर ‘वामपन्थी नेपाली कांग्रेस’ खडा गरेको उनको पुस्तकमा उल्लेख छ ।

सांगठनिक आधारमा सानै रेक्टर स्केलको भए पनि ती फुटहरूले नेपाली कांग्रेसलाई केही न केही धक्का त पुर्‍याएका थिए । तर ती धक्काले कांग्रेसलाई उल्लेखनीय क्षति पुर्‍याउन सकेनन् ।

‘नेपाली कांग्रेस नेपालको सबैभन्दा ठूलो पार्टीको रूपमा यथावत् रहिरह्यो,’ बस्नेतले पुस्तकमा लेखेका छन्, ‘यसको प्रत्येक जिल्ला र गाउँ–गाउँसम्म पुगेको संगठनको आधारशिलालाई राष्ट्रिय प्रजा पार्टी र अरू कुनैले खास असर पु¥याउन सकेनन् ।’

नेपाली कांग्रेस गठन हुनुअघि नै ‘नेपाली राष्ट्रिय कांग्रेस’ले समेत विभाजनको धक्का खाइसकेको थियो । ‘नेपाली प्रजातन्त्र कांग्रेस’सँग एकीकरण हुँदाका बखत ‘नेपाली राष्ट्रिय कांग्रेस’ बीपी समूह र रेग्मी (डिल्लीरमण रेग्मी) समूहमा विभक्त थियो ।

‘नेपाली प्रजातन्त्र कांग्रेस’सँग ‘नेपाली राष्ट्रिय कांग्रेस’को बीपी समूहसँग एकता भएको थियो । दुई पार्टी मिलेर नेपाली कांग्रेसले राजनीतिक गतिविधिहरू अघि बढाउँदा छुट्टै अस्तित्वमा रहेको ‘नेपाली राष्ट्रिय कांग्रेस’ रेग्मी समूह २००९ जेठमा विभाजन भएको थियो ।

‘२००९ जेठमा पार्टीका महामन्त्री ऋषिकेश शाह तथा जीवराज शर्मा, शंकरप्रसाद नेपाल र शोभामोहन भट्टराईसमेत केहीले वक्तव्य दिएर त्यस पार्टीबाट अलग भएको र ‘नेपाली राष्ट्रिय कांग्रेस शाह गुट’ गठन गरेको घोषणा गरे,’ ‘नेपाली कांग्रेसको इतिहासको प्रारूप’ मा लेखिएको छ ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?