१४ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका कम्युनिस्टहरू कार्यनीतिक कमजोरीका कारण शिथिल बनेको बताएका छन्।
पर्साको वीरगञ्जमा आयोजित पार्टीको जिल्ला बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘सबै लोकतान्त्रिक अधिकारमाथि एकपछि अर्को प्रहार, संविधान मिच्ने काम र गणतन्त्रमाथि प्रहार भइरहेको छ। यसले गर्दा कुनै पनि बेला अर्को ठूलो दुर्घटना हुने हो कि भन्ने खतरा देखिएको छ,’ उनले भने।
सशस्त्र द्वन्द्व र जनआन्दोलनपछि प्राप्त सत्ता र उपलब्धिलाई कम्युनिस्ट विरोधीहरूले रुचाउन नसकेकै कारण रणनीतिक रूपमा घेराबन्दी भइरहेको उनको भनाइ थियो।
उनले कम्युनिष्ट आन्दोलनको कार्यनीतिमा जहाँ कमजोरी भएको छ त्यहिबाट सच्याउँदा मात्रै आन्दोलनले ठिक बाटो समाउन सक्ने औंल्याए। उनले कमजोरीलाई सच्याएर पुनः कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन बामपन्थीहरूमा धुर्वीकरण आवश्यक रहेको बताए ।
वर्तमान राजनीतिक परिस्थिति निकै जटिल र चुनौतीपूर्ण रहेको उल्लेख गर्दै प्रचण्डले भने, ‘तराई-मधेसमा पार्टी सफल हुनु नै सिङ्गो नेपाली कम्युनिस्ट पार्टीको राजनीतिक उद्देश्य पूरा हुनु हो।’ उनले प्रतिक्रान्तिकारी र दलाल शक्तिहरूलाई परास्त गर्न एमालेसँग कार्यगत एकताको तयारी भइरहेको समेत स्पष्ट पारे।
आफ्नो नेतृत्वको सरकारले गरिब, किसान, मजदुरका पक्षमा काम गर्नुका साथै ऊर्जा र पूर्वाधार विकासमा फड्को मारेको दाबी गर्दै उनले ती कामको जस भने अन्य दलहरूले लिन खोजेको गुनासो गरे। आफू र माधवकुमार नेपालको नेतृत्वमा भएको आन्दोलनकै बलमा संविधानसभाबाट संविधान निर्माण भई गणतन्त्र स्थापना सम्भव भएको उनको भनाइ थियो ।
प्रतिक्रिया 4