+
+
Shares

युवालाई विदेश पठाएर र बाह्य स्रोतको भर परेर देश बन्दैन : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राजनीतिक आन्दोलन र बहसलाई केवल अधिकार प्राप्तिको विषयमा मात्र सीमित नराखी मुलुकको आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते १८:०१

१४ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राजनीतिक आन्दोलन र बहसलाई केवल अधिकार प्राप्तिको विषयमा मात्र सीमित नराखी मुलुकको आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताएका छन्।

बुधबार काठमाडौंमा कांग्रेस नेता बद्री अर्यालद्वारा लिखित दुई पुस्तक ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ को संयुक्त विमोचन गर्दै उनले यस्तो बताएका हुन्। महामन्त्री पौडेलले राजनीतिक दलका घोषणापत्र र सरकारको प्राथमिकतामा आर्थिक एजेन्डाले अझै पनि उचित स्थान पाउन नसकेको भन्दै चिन्ता व्यक्त गरे।

‘हामीले हाम्रो राजनीतिक दर्शन, समाज र विद्यालयको पाठ्यक्रमलाई आर्थिक विषयसँग जोड्न सकेनौँ। त्यसैकारण समाजले आर्थिक उन्नतिको विषयमा पर्याप्त ज्ञान पाउन सकेन,’ पौडेलले भने, ‘अधिकारको लडाइँ स्वाभाविक भए पनि राजनीतिभित्र आर्थिक विषय बहसको प्राथमिकतामा नपरेसम्म मुलुक समृद्ध हुन सक्ने स्थिति रहँदैन।’

युवा जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाएर र बाह्य स्रोतको मात्र भर परेर देश नबन्ने उनको दाबी छ। मुलुकभित्र उपलब्ध प्राकृतिक तथा अन्य स्रोतसाधनको वैज्ञानिक परिचालनमार्फत मात्रै आर्थिक स्रोत जुटाउन र विकासलाई गति दिन सकिने उनले स्पष्ट पारे।

विश्वको पुँजी वितरणको दृष्टान्त दिँदै उनले दक्षिण एसिया आर्थिक रूपमा निकै पछाडि परेको उल्लेख गरे। ‘आज संसारको ४८ प्रतिशत पुँजी १.८ प्रतिशत मानिसको हातमा छ। तीमध्ये ३५ प्रतिशत अमेरिकामा र १८ प्रतिशत चीनमा छन्,’ उनले भने, ‘तर, भारतबाहेक समग्र दक्षिण एसियामा त्यो सीमित धनाढ्यको सूचीमा पर्ने मानिस नै छैनन्। हामीले आर्थिक विषयमा जुन परिस्थिति निर्माण गर्नुपर्ने हो, त्यो गर्न सकेका छैनौँ।’

सतही बहसमा मात्र नअल्झिई कृषि र औद्योगीकरणका माध्यमबाट देशको विकास गर्न स्पष्ट नीति र ठोस कार्ययोजनासहित अघि बढ्नुपर्नेमा महामन्त्री पौडेलले जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?