१५ असोज, काठमाडौं । बेलायती प्रधानमन्त्री एन्डी बर्नमले आरएएफ फेयरफोर्डमा भएको घटनामा इरानको संलग्नता रहेको कुराका बलिया सङ्केतहरू सरकारले प्राप्त गरेको दाबी गरेका छन्।
बीबीसीका अनुसार, प्रधानमन्त्री बर्नमले यस्तो दाबी गरेका हुन् । यद्यपि उनले यस दाबीको सम्बन्धमा कुनै विस्तृत जानकारी भने नखुलाएको बीबीसीले स्पष्ट पारेको छ ।
केही समयअघि मात्र बेलायतको आरएएफ फेयरफोर्ड एयरबेस नजिकै आतङ्कवादी हमलाको षड्यन्त्र रचेको आशङ्कामा पाँच जनालाई पक्राउ गरिएको थियो। यो सैन्य अखडा अमेरिकासँग पनि जोडिएको छ।
बेलायती प्रधानमन्त्रीले यसै घटनाको पछाडि इरानको भूमिका रहेको औँल्याएका हुन्।
बेलायती प्रधानमन्त्रीको यस भनाइप्रति इरानका विदेशमन्त्री अब्बास अरागचीले कडा प्रतिक्रिया दिएका छन्। उनले बेलायती नेताहरूले गलत दिशातर्फ निसाना लगाइरहेको बताएका छन्।
अरागचीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘प्रधानमन्त्री बर्नम आरएएफ फेयरफोर्ड घटनामा इरानको भूमिका रहेको कुरा बेलायत सरकारले पुष्टि गर्न सक्छ भन्छन् । तर म इरानको यो विश्वासलाई पुष्टि गर्न सक्छु कि, अन्य देशका लागि काम गर्ने कथित आतङ्कवादीहरूलाई रिहा गर्ने कदमले आफैँमा सबैथोक बोल्छ। तपाईंहरू गलत ठाउँमा निसाना लगाइरहनुभएको छ।‘
अरागचीले ती अभियुक्तहरूलाई किन धरौटीमा रिहा गरियो भन्नेतर्फ सङ्केत गरेका थिए। बीबीसीले पनि प्रधानमन्त्री बर्नमलाई यही प्रश्न सोधेको थियो।
यसको जवाफमा उनले अभियुक्तहरूलाई धरौटीका कडा सर्तहरूसहित मात्र रिहा गरिएको बताए।
बर्नमले भने, ‘मलाई लाग्छ मानिसहरूले के बुझ्न जरुरी छ भने, उनीहरूलाई छाडियो भन्नुको अर्थ मानिसहरूले सोचेजस्तो होइन। स्पष्ट रूपमा उनीहरूमाथि धरौटीका सबैभन्दा कडा सर्तहरू लागू गरिएका छन्। अधिकारीहरूले यस मामिलालाई निकै कडाइका साथ हेरिरहेका छन् र यसमाथि सूक्ष्म निगरानी भइरहेको छ। म तपाईंहरूलाई यस कुराको विश्वास दिलाउन सक्छु।‘
प्रतिक्रिया 4