१९ असोज, काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पुनर्निर्माणमा झण्डै चार करोडभन्दा बढी रकम लागेकोे देखिएको छ ।
कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले १५ औं महाधिवेशनको बन्दसत्रमा पेश गरेको आर्थिक प्रतिवेदनमा केन्द्रीय कार्यालय पुनर्निर्माणमा चार करोड ५९ लाख ३९ हजार ४१ रुपैयाँ खर्च भएको उल्लेख छ ।
२०८२ साल भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा केन्द्रीय कार्यालय भवनमा ठूलो क्षति पुगेपछि कार्यालयलाई पुनः सञ्चालनयोग्य बनाउने उद्देश्यले पुनर्निर्माण, मर्मत, फर्निचर, फर्निसिङ तथा आवश्यक कार्यालय उपकरण व्यवस्थापनको कार्य अघि बढाइएको थियो ।
‘सो खर्चको व्यवस्थापनका लागि पार्टी सदस्यहरूबाट प्राप्त सहयोग, कोषाध्यक्षको पहलबाट संकलित सहयोग, कोषाध्यक्षको स्वयंको योगदान तथा पार्टीका अन्य स्रोतबाट भुक्तानी गरिएको छ भने केही रकम आपूर्तिकर्ताहरुलाई भुक्तानी गर्न बाँकी रहेको छ,’ प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार पार्टी सदस्यहरूबाट १८ लाख ८४ हजार १६८, कोषाध्यक्षको पहलबाट ५९ लाख ९० हजार ६७८ र कोषाध्यक्षको व्यक्तिगत योगदान एक करोड दुई लाख ५१ हजार ७९१ रुपैयाँ रहेको उल्लेख छ ।
यस्तै एक करोड २८ लाख ९९ हजार ६८६ रुपैयाँ पार्टीका अन्य स्रोतबाट भुक्तानी भएको र एक करोड ४९ लाख १२ हजार ७१८ रुपैयाँ भुक्तानी गर्न बाँकी दायित्व रहेको प्रतिवेदनमा देखाइएको छ ।
प्रतिक्रिया 4