१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफू जित्ने तयारीभन्दा नागरिकको विश्वास जित्ने राजनीतिक संस्कृतिलाई पहिलो प्राथमिकतामा राख्ने संकल्प गरेका छन् ।
१५औं महाधिवेशनको बन्द सत्रमा ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ शीर्षकमा रहेर पेस गरेको प्रतिवेदनमा उनले महाधिवेशन नेतृत्व परिवर्तन गर्नका लागि मात्रै नभएको बताएका छन् । नेतृत्व गर्ने संस्कार, संगठन गर्ने शैली र संगठनको चरित्रसमेत परिवर्तन गर्ने शर्माको प्रतिवद्धता छ ।
विगतमा पार्टीले गरेका अनुकरणीय पक्षलाई आत्मसात गरी कमजोरीमा आत्मालोचना गरेर अघि बढ्ने संकल्प उपसभापति शर्माले गरेका छन् ।
विगतमा भएका कमजोरीले समग्र राजनीतिप्रति विकर्षण बढाउन भूमिका खेलेको उल्लेख गर्दै उनले राजनीतिक संस्कृतिमा भएको क्षयलाई केलाउन र पुनर्जागरण गर्न १५औं महाधिवेशनबाट सुरु हुने प्रतिवेदनमा लेखेका छन् ।
‘१५औं महाधिवेशन आफ्नो भागको कमजोरीप्रति आत्मालोचित हुँदै अघि बढ्ने संकल्प गर्दछ । विशेष महाधिवेशनबाट क्रमशः बदलिएर प्रस्तुत भइरहेको कांग्रेस नेपाली राजनीतिक संस्कृतिको युगानुकूल रुपान्तरण र पुनर्जागरणका लागि गम्भीर पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्दछ,’ प्रस्तुत प्रतिवेदनमा भनिएको छ ।
लोकतान्त्रिक संस्कृतिलाई निरन्तर इमानका साथ प्रस्तुत गर्ने र पार्टी चुकेको स्थानमा सच्याउने प्रतिवद्धता प्रतिवेदनमा छ ।

कांग्रेस उपसभापति शर्माले कांग्रेस ज्येष्ठ दल मात्रै नभई ‘श्रेष्ठ’ भएको प्रमाणित गर्ने संकल्प गरेका छन् । विशेष महाधिवेशनबाट नेतृत्व, उर्जा र नयाँ सन्देश दिएको बताउँदै उनी त्यसलाई प्रचार गर्न चुनावको समय अभाव भएको बताउँछन् ।
‘त्यसलाई जनजनसम्म सार्थक सम्प्रेषण गर्न हामीलाई समय अपुग भयो । कांग्रेस ज्येष्ठ दल हो, सबैको ज्ञानमा छ । तर ज्येष्ठ मात्र होइन, श्रेष्ठ पनि छ भन्ने सबैको संज्ञानमा हामी स्थापित गर्न चाहन्छौं,’ उपसभापति शर्मा भन्छन्, ‘हाम्रा लागि दलको जित दोस्रो विषय हो । देश पहिलो हुने नारा मात्रै नभई प्रतिबद्धता हो ।’
यो महाधिवेशनले कांग्रेस नेतृत्व जमेको पोखरी जस्तो नभई बगेको नदी जस्तै सन्देश दिने विश्वास शर्माले व्यक्त गरे । उनीले भने, ‘१५औं महाधिवेशनमार्फत नेपाली कांग्रेस संकल्प गर्छ- अबको दिनमा नेपाली कांग्रेसले नेतृत्वलाई निरन्तर बग्ने नदी जस्तो ताजगी राख्नेछ ।’
समाजमा रहेको आवेग, अनपेक्षित द्वन्द्व, निराशा लगायतबाट प्रतिपक्षी दलले लाभ लिने गरी नकारात्मक सोच नराख्ने शर्माले बताएका छन् । प्रमुख प्रतिपक्ष झनै जिम्मेवार ढंगले प्रस्तुत हुने उनी बताउँछन् । प्रतिपक्षको यो जिम्मेवारीले मुलुकलाई हुने लाभबारे उनी भन्छन्, ‘नागरिकको प्रश्नलाई एकातर्फ बलियो बनाउँछ, अर्कातर्फ समाजमा आशाको दियोलाई निभ्न दिँदैन ।’
पार्टीभित्र कुनै व्यक्तिले गरेको खराब कार्यको दोष संस्थाले बोक्न नहुने दृष्टिकोण उपसभापति शर्मा राख्छन् । पार्टीको वडा तहदेखि केन्द्रसम्म कुनै पनि सदस्यले कानुन उल्लंघन गरे त्यसको भागिदार स्वयं व्यक्ति हुनुपर्ने उनले प्रतिवेदनमा लेखेका छन् ।

परम्परागत परिभाषामा ‘लोकतन्त्र भन्नु बोल्ने अधिकार’ लाई विश्लेषण गरिँदै आए पनि अहिलेको समयमा त्यसको परिभाषा बदलिएको शर्माको दाबी छ । उनी भन्छन्, ‘आजको समयमा बोलेको सुनियो कि सुनिएन, सुनुवाइ भयो कि भएन, लोकतन्त्रको परीक्षण अब यसरी हुन्छ ।’
कांग्रेस उपसभापति शर्माले विगत ३५ वर्षमा केही पनि भएन भनी बनाइएको भाष्य चिनुपर्ने प्रतिवेदनमा लेखेका छन् । २०७२ सालपछि प्रधानमन्त्री पदको ‘म्युजिकल चेयर’ ले युवामाझ थप निराशा देखिएको शर्माको विश्लेषण छ । तर विगत ३५ वर्षमा भएका पूवाधार क्षेत्रका कार्यले केही पनि भएको थिएन भन्ने भाष्य चिरिने उनी बताउँछन् । जलविद्यत्, पुल, बाटो लगायतका क्षेत्रमा भएका कार्यलाई नजरअन्दाज गर्न नमिल्ने उनको भनाइ छ ।
लोकतन्त्रमा प्रश्न विरासतको होइन, विचारको हुनुपर्ने उनको धारणा छ । कुनै पनि विचारको आयतन कम्पनी रजिस्ट्रारको कार्यालयमा गएर आधिकारिकता लिने र संस्थाको नामसारी गरे जस्तो नहुने शर्मा दाबी गर्छन् । उनी प्रतिवेदनमा लेख्छन्, ‘बीपीले स्थापित गरेको पार्टीलाई हामी पछिल्लो पुस्ताको काँध र मस्तिष्कमा भरोसायोग्य ढंगले स्थापित गर्नेछौं । त्यो पुस्ता त झनै प्रबल ढंगले स्पष्ट छ- लोकतन्त्रमा प्रश्न विरासतको होइन विचारको हुन्छ ।’
उपसभापति शर्माले यो महाधिवेशनबाट गरिने संकल्पसहित कार्ययोजना र विशेष पहलहरू पनि प्रतिवेदनमा उल्लेख गरेका छन् । प्रतिवेदनमा व्यक्तिको देवत्वकरण या दानवीकरण गर्ने प्रवृत्ति नपछ्याउने संकल्प गरिएको छ । पार्टीभित्र समूहका नाममा गुट बनाउने प्रवृत्ति भत्काउन जरुरी रहेको शर्माले बताए ।
उम्मेदवार छनोटमा पहुँच र सम्बन्धको प्रभावलाई भत्काएर ‘इलेक्सन ब्युरो’ गठन गरिने शर्माले बताए । कुनै व्यक्ति पदमा पुगेपछि पद त्याग्न नखोज्ने प्रवृत्तिलाई विधिको माध्यमबाट नियन्त्रण गरिने संकल्प शर्माले गरेका छन् ।

उनले सामाजिक सञ्जालको दुरुपयोगका सन्दर्भमा बहस आवश्यक भएको बताएका छन् । उनी भन्छन्, ‘सामाजिक सञ्जाललाई लोकतान्त्रिक संस्कृतिको विकासमा सदुपयोग गर्न सकिन्छ, सक्नुपर्छ । यसबारे आवश्यक बहसको पहलकदमी जरुरी छ ।’
विशेष महाधिवेशनबाट आएको नेतृत्वले ‘डिजिटल कांग्रेस’का लागि उल्लेखनीय कार्य गरेको शर्माले दाबी गरे । पार्टीको निर्णय प्रक्रियामा बहुसंख्यकको भावना प्रतिनिधित्व गर्न डिजिटलको प्रयोग अनिवार्य रहेको उनले बताए ।
‘डिजिटल युगमा राजनीतिक संगठन केवल कार्यालय र भौतिक उपस्थितिको बैठकमा सीमित रहन सक्दैन । डिजिटलाइज्ड बन्दै जानु भनेको प्रविधिमैत्री विषय मात्र होइन,’ उपसभापति शर्मा भन्छन्, ‘निर्णय प्रक्रियामा बहुसंख्यक पार्टी सदस्यको भावना बुझ्ने माध्यमको विकास पनि हो । यो नागरिक एवं पार्टी सदस्यको भावना विपरीतका निर्णय थोपरिएका विगतका कतिपय गलत प्रवृत्तिलाई पूर्णबिराम लगाउने महत्त्वपूर्ण प्रक्रिया हो ।’
प्रतिवेदनमा शर्माले वर्तमान सरकारले जनताको विपक्षमा गर्ने निर्णयको प्रतिवादमा कांग्रेस उत्रने पनि उल्लेख गरेका छन् । रास्वपाले प्राप्त गरेको जनादेशको सरकार सञ्चालन गरे पनि त्यही प्रवृत्तिबाट अघि बढ्न ‘मौन अनुमति’ नहुने उनी बताउँछन् ।
प्रतिवेदनमा यो महाधिवेशनबाट व्यक्ति केन्द्रित राजनीति नगर्ने र विचारविहीन गुट बनाउने प्रवृत्तिलाई निरुत्साहित गरिने संकल्प गरिएको छ । परम्परागत गुटहरू भत्काउनुको अर्थ नयाँ गुटको जग हाल्नु नभएको प्रष्टीकरण उपसभापति शर्माले दिएका छन् ।
‘गुटको वास्तविक विकल्प विचार हो । यसको अर्थ भिन्न मतलाई निषेध होइन, लोकतान्त्रिक पार्टीभित्र प्रश्न, विमति र विरोधलाई स्वाभाविक रूपमा लिइन्छ, लिनुपर्छ,’ उनी भन्छन्, ‘कांग्रेसले त्यही रूपमा यसलाई अंगिकार गर्छ । तर गुट परम्पराको अतिसय राजनीतिबाट विशेष अधिवेशनपछि मुक्तिको घोषणा गरेको कांग्रेसले अब आन्तरिक स्वतन्त्र विवेकहरूलाई निषेध नगरी नीति बहसको दिशामा सार्थक ढंगले सबैलाई अभिप्रेरित गर्नेछ ।’

चुनावी घोषणापत्रलाई ‘ऋण लिएर बिर्सने तमसुक’ जस्तै गरी सीमित नगर्ने, कानुनी प्रक्रियामा राजनीतिक संरक्षणलाई अस्वीकार गर्ने, सार्वजनिक पदलाई निजी लाभको माध्यम नबनाउने, सामाजिक सञ्जाललाई आन्तरिक विवादको अखडा नबनाउने, परिपक्व एजेन्डालाई एजका कारणले रोक्ने कार्य नगरिने प्रतिवद्धता गरिएको छ ।
कांग्रेस उपसभापति शर्माले नेता-कार्यकर्ताका लागि नयाँ अवधारणा पनि ल्याएका छन् । पार्टीका लागि तीन दिन र आफ्नो दैनिक जीवनका लागि चार दिन हुने गरी आय आर्जनका काम लाग्नुपर्ने उनको दृष्टिकोण छ ।
प्रतिक्रिया 4