+
+
Shares

कांग्रेसको १९ जना निर्वाचित पदाधिकारीका लागि को-को बने उम्मेदवार ?

वरिष्ठ उपसभापति १, समावेशी अनुसार महिला उपसभापति (१) खुलातर्फ उपसभापति (२) हुने विधानको व्यवस्था छ । वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माको एकल उम्मदेवारी परेको छ । साथै उपसभापति पदमा महिला क्लष्टरमा पुष्पा भुसालको पनि एकल उम्मेदवारी परेको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८३ असोज २० गते २१:३५

२० असोज, काठमाडौं । कांग्रेसको १५ महाधिवेशनबाट पदाधिकारीमा चुनिनका लागि निर्वाचित हुने १९ पदाधिकारीका पद छन् ।

सभापति १, वरिष्ठ उपसभापति एक सहित चार उपसभापति, महामन्त्री ३, सहमहामन्त्री १५, कोषाध्यक्ष १ गरी २४ जना पदाधिकारी हुने व्यवस्था गरिएको छ । सहमहामन्त्रीमा चार जना र कोषाध्यक्ष एक जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ । त्यस अनुसार निर्वाचित हुने पदाधिकारी संख्या १९ जनाको हुनेछ ।

यो समाचार तयार पार्दासम्म १९ जना पदाधिकारीका लागि ५८ जनाको उम्मेदवारी परेकाे छ । यद्यपि निर्वाचन समितिले कति जनाको उम्मेदवारी दर्ता भएको भन्ने आधिकारिक डाटा उपलब्ध गराएको छैन ।

पार्टीको सर्वोच्च पदका लागि तीन जनाको उम्मेवारी परेको छ । सभापति पदमा सभापति गगन थापा, पूर्व सहमहामन्त्री किशोरसिंह राठोर र श्यामकृष्ण खड्गीको सभापति पदमा उम्मेदवारी परेको छ ।

सहमहामन्त्री राठोर पहिले देउवा समूहमा थिए । बर्दिया–२ का राठोर त्रिचन्द्र क्याम्पसमा स्ववियू सभापति हुँदा पार्टी सभापति गगन थापा विद्यार्थी संगठनको राजनीतिमा थिए । सभापति थापाका बनस्थली स्कूलमा पढ्दा शिक्षक रहेका खड्गी अहिले उनकै प्रतिस्पर्धी भएका छन् ।

वरिष्ठ उपसभापति १, समावेशी अनुसार महिला उपसभापति (१) खुलातर्फ उपसभापति (२) हुने विधानको व्यवस्था छ । वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माको एकल उम्मदेवारी परेको छ । साथै उपसभापति पदमा महिला क्लष्टरमा पुष्पा भुसालको पनि एकल उम्मेदवारी परेको छ । शर्मा र भुसाल दुबै जना हाल उपसभापति पदमा छन् ।

गत पुसमा विशेष महाधिवेशन आह्वान गर्न तत्कालीन शर्माले नेतृत्वदायी भूमिका खेलेका थिए । पहिले देउवा समूहमा रहेकी भुसाल विशेष महाधिवेशनको पक्षमा लागिन् । उनी उपसभापति बनिन् ।

उपसभापति समावेशी क्लष्टरबाट हुने एक जनाका लागि जीवन परियार, विनोद चौधरी, फरमुल्ल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्णले उम्मेदवारी दिएका छन् ।

खुला महिलातर्फ एक जनाको मात्रै उम्मेदवारी परेको छ ।

पूर्व सहहामन्त्री परियार गत वैशाखमा संस्थापन पक्षमा प्रवेश गरेका हुन् । उनी उपसभापति भुसालको नेतृत्वमा रहेको इलेक्सन व्यूरोको उप्रमुख एवं विधान मस्यौदा समितिको सदस्य रहेर काम गरेका छन् ।

उद्योगपति चौधरी विशेष महाधिवेशनमा पार्टीको नयाँ नेतृत्वसँग नजिकिएका थिए । गत निर्वाचनमा चौधरीले नवलपरासीबाट प्रतिस्पर्धा गरेका थिए । चौधरी पूर्व सभापति शेरबहादुर देउवाको कार्यकालमा केन्द्रीय सदस्य पदमा थिए ।

१४ औं महाधिवेशनमा देउवा पक्षबाट मुस्लिम क्लष्टरमा सहमहामन्त्री बनेका मन्सुर विशेष महाधिवेशन अघि नै सभापति थापासँग नजिकिएका थिए । पूर्वमन्त्री सीता गुरुङले समावेशी क्लष्टरमा उपसभापति पदमा उम्मेदवारी दिएकी छन् । अघिल्लो केन्द्रीय समितिमा रहेकी गुरुङ महाधिवेशनको नजिक संस्थापन पक्षमा खुलेकी हुन् । राष्ट्रिय सभा सदस्य रहेका रञ्जित कर्ण नेविसंघका पूर्व अध्यक्ष हुन् ।

खुलाबाट दुई जना उपसभापति हुने व्यवस्था छ । त्यसतर्फ डा. चन्द्र भण्डारी, डा मिनेन्द्र रिजाल, देवराज चालिसे, मधु आचार्य, धनराज गुरुङ, डा. चन्द्रमोहन यादव, सुरेन्द्र पाण्डे, गोविन्द भट्टराई र दीपक गिरीले उम्मेदवारी दिएका छन् ।

भण्डारी गत महाधिवेशनमा उपसभापतिमा पराजित भएका थिए । उनी गत निर्वाचनमा चुनावी प्रतिस्पर्धी थिए । गत महाधिवेशनबाट उपसभापति बनेका धनराज गुरुङ त्यही पदका लागि उम्मेदवार बनेका छन् ।

अघिल्लो महाधिवेशनमा महामन्त्रीका प्रतिस्पर्धी डा.रिजाल खुला तर्फ उपसभापति पदमा उम्मेदवार बनेका छन् । प्रवक्ता चालिसे उपसभापतिको उम्मेदवार बनेका छन् । उनी विशेष महाधिवेशनको अगुवा समेत हुन् । विशेष महाधिवेशनकै अर्का अगुवा मधु आचार्य पनि उपसभापतिको उम्मेदवार बनेका छन् ।

उनी उपसभापति शर्मा नेतृत्वको नीति प्रतिष्ठानको उपप्रमुख समेत हुन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे पनि उपसभापतिको प्रतिस्पर्धी बनेका छन् । गत महाधिवेशनमा उनी देउवा पक्षमा थिए । प्रतिनिधि सभा सदस्य डा. चन्द्रमोहन यादव पनि खुला उपसभापति पदमा उम्मेदवार बनेका छन् ।

संशोधित विधानले एक महिला सहित तीन महामन्त्री हुने व्यवस्था गरेको छ । दुई जना खुला तर्फबाट छानिने छन् । महामन्त्रीद्धय प्रदीप पौडेल र गुरुराज घिमिरे सोही पदमा दोहिरिने इच्छा राखेका छन् ।

सहमहामन्त्री उदय शमशेर राणाले महामन्त्री पदमा उम्मेदवारी दिए । पूर्व केन्द्रीय सदस्य एवं नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महर खुला महामन्त्री पदका उम्मेदवार बने । पूर्व सांसद सुनिल शर्मा पनि महामन्त्रीको उम्मदेवार बनेका छन् ।

लुम्बिनीका सभापति अमरसिंह पुन र युवा विश्लेषक शंकर तिवारीले कार्यकारी पद महामन्त्रीको उम्मेदवार बनेका छन् । युवा उमेर समूहका डा.प्रकाश उपाध्याय महामन्त्रीको उम्मेदवार बनेका छन् । विगतमा नेविसंघको राजनीति गरेका उनले एमबीबीएस तहको अध्ययन सकेका छन् । उनी अछाम निवासी हुन् ।

महिलातर्फबाट महामन्त्री पदमा एक महिला छानिने व्यवस्था छ । महिला क्लष्टरबाट महामन्त्री पदमा तीन जनाको उम्मेदवारी परेको छ । डिला संग्रौला, महालक्ष्मी उपाध्याय डिना र रिता खनालले उम्मेदवारी दर्ता गरेका छन् ।

१४ औं महाधिवेशनमा महालक्ष्मी ‘डिना’ले महिला क्क्लष्टरबाट सहमहामन्त्रीमा निर्वाचित भएकी थिइन् । तत्कालीन समयमा सहमहामन्त्रीको आकांक्षी संग्रौलाले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेर जितिन् । त्यस समय दुबै जना पूर्व सभापति शेरबहादुर देउवा समूहमा थिए ।

संग्रौला गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनको पक्षमा लागिन् । सर्वसम्मत् नेतृत्व चयन गरी संग्रौला महिला क्लष्टरमा सहमहामन्त्री बनिन् ।

अर्कोतर्फ, १५ औं महाधिवेशनको निकटमा पूर्व सहमहामन्त्री डिना संस्थापनमा प्रवेश गरिन् । १४ औं महाधिवेशनमा एउटै समूहमा रहेका महिला नेतृहरु यसपटक महामन्त्री पदमा प्रतिस्पर्धा गर्दैछन् ।

संग्रौला र डिनासँगै प्रतिस्पर्धामा उत्रने अर्को महिला नेता रिता खनाल छन् । पूर्व सभापति देउवाको कार्यकालमा कांग्रेसको राजनीति छोडेकी खनाल विशेष महाधिवशेनसँगै कांग्रेसमा प्रवेश गरेकी थिइन् । उनी मकवानपुरकी हुन् ।

महिलातर्फ महामन्त्रीमा प्रतिस्पर्धी डिना गत महाधिवेशनमा मकवानपुर–१ बाट उम्मेदवार बनेकी थिइन् । महामन्त्रीको अर्को उम्मेदवार संग्रौला मोरङ–६ निवासी हुन् ।

संशोधित विधानबाट १५ जना सहमहामन्त्री हुने व्यवस्था छ । खुला २, आदिवासी जनजाति, दलित, मधेसी, खस आर्य, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक÷ अपांगता क्लष्टरबाट १/१ हुने गरी ११ जना निर्वाचित हुनेछन् । ४ जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ ।

सहमहामन्त्रीमा महिलातर्फ एक पदका लागि प्रतिमा गौतमको उम्मेदवारी परेको छ । पूर्व सांसद गौतम विशेष महाधिवेशनबाट समिति सदस्य हुन् । उनी विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा प्रवेश गरेकी हुन् ।

सहमहामन्त्रीमा खुलातर्फ रामहरि खतिवडा, देवेन्द्रराज कंडेल, डिल्लिराम सुवेदी, रमेश धमला, अजयबाबु शिवाकोटी र विकास कोइरालाले उम्मेदवारी दिएका छन् । खतिवडा राज्य व्यवस्था समितिका पूर्व सभापति हुन् ।

१४ औं महाधिवेशनमा उनी खुलाबाट केन्द्रीय सदस्यमा चयन भएका थिए । पूर्व संस्थापनमा रहेका देवेन्द्रराज कँडेल पछिल्लो समय संस्थापनतर्फ ढल्किएका थिए ।

गण्डकी प्रदेश सांसद सुवेदीले खुलातर्फबाट सहमहामन्त्रीको उम्मेदवार बने । विद्यार्थी संगठनको राजनीतिबाट पार्टी राजनीतिमा आएका उनी विशेष महाधिवेशन पक्षधर हुन् । विशेष महाधिवशेनबाट केन्द्रीय सदस्य बनेका रमेश धमला खुला महामन्त्री पदको उम्मेदवार बनेका छन् । उनी धादिङका पूर्व सभापति हुन् ।

पिछडिएको क्षेत्रबाट एक जना सहमहामन्त्रीका लागि जीवनबहादुर शाही, मीन भाम र कर्णबहादुर बुढाको उम्मेदवारी परेको छ । शाही १४ औं महाधिवेशनमा यही क्लष्टरमा पराजित भएका थिए ।

शाहीको प्रतिस्पर्धीमा फिल्म निर्देशक मीन भाम बनेका छन् । भाम चलचित्रकर्मी हुन् । उपसभापति शर्माको नेतृत्वमा रहेको नीति प्रतिष्ठानको सदस्यको भूमिका भाम थिए । बुढा विशेष महाधिवेशनबाट पिछडिएको क्षेत्रबाट सहमहामन्त्री बनेका थिए ।

खस आर्यबाट सहमहामन्त्रीको एक पदमा केन्द्रीय सदस्य, दिनेश कोइराला, नेविसंघका पूर्व महामन्त्री मनोजमणि आचार्य, नुवाकोटका पूर्व जगदिश्वरनरसिंह केसी, शंकरदेव क्याम्पसमा पूर्व स्ववियू सभापति शुभराम बस्नेतले पनि सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन् ।

सहमहामन्त्री पदका लागि आदिवासी जनजातिर्फ बहादुरसिंह लामा र तारामान गुरुङको उम्मेदवारी परेको छ । लामा विशेष महाधिवशेनबाट यही क्लष्टरमा सहमहामन्त्री बनेका थिए । विशेष महाधिवेशनबाट आएको नेतृत्वले गुरुङलाई अनुशासन समितिको प्रमुख बनाएको थियो । उनले केही दिन अघि उक्त पदबाट राजीनामा दिएका थिए ।

थारुबाट सहमहामन्त्रीमा तेजुलाल चौधरी र योगेन्द्र चौधरी प्रतिस्पर्धी छन् । तेजुलाल पूर्व सांसद हुन् भने योगेन्द्र विशेष महाधिवेशनबाट थारु क्लष्टरको सहमहामन्त्री बनेका थिए । अल्पसंख्यक क्लष्टरबाट आङगेलु शेर्पाको उम्मेदवारी परेको छ । मुस्लिमबाट सहमहामन्त्रीमा अब्दुल सत्तार र अतहर कमाल मुसलमानको उम्मेदवारी परेको छ ।

मधेसी समुदायबाट सहमहामन्त्रीका लागि एक पदका लागि अभिषेक प्रताप शाह र रामपल्टन साहको उम्मेदवारी परेको छ । दलित क्लष्टरमा प्रकाश स्नेही रसाइली, लक्ष्मी परियार, मानबहादुर नेपाली र नरेन्द्र पासवानले सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन् ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?