+
+
Shares

विस्फोटमा खुट्टा गुमाएकी मीरा कांग्रेस केन्द्रीय सदस्य उम्मेदवार

२०७४ साल मंसिर १३ गते उदयपुरको दनवारबेसीमा कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की सवार जिपमाथि विस्फोट भयो। विस्फोटमा मीरा गम्भीर घाइते भइन्। उनको देब्रे खुट्टा काट्नुपर्‍यो। उनै मीरा अहिले कांग्रेस केन्द्रीय सदस्य उम्मेदवार बनेकी छिन्।

अभिमन्यु लामिछाने अभिमन्यु लामिछाने
२०८३ असोज २१ गते १४:४१

२१ असोज, उदयपुर । राजनीति गर्नेहरूका आफ्नै कथा हुन्छन्। कसैका लागि राजनीति अवसर हुन्छ, कसैका लागि विचार र संघर्षको बाटो।

मीरा कटुवालको राजनीतिक यात्रा भने एउटा यस्तो पीडादायी घटनासँग जोडिएको छ जसले उनको शरीरको एउटा अंग खोस्यो, तर राजनीतिक यात्रालाई रोक्न सकेन।

२०७४ साल मंसिर १३ गते उदयपुरको दनवारबेसीमा चुनावी प्रचारका क्रममा बम विस्फोट भयो । कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की सवार जिपमाथि भएको विस्फोटमा मीरा गम्भीर घाइते भइन्। उनको देब्रे खुट्टा घुँडामुनिबाट काट्नुपर्‍यो। जिप चालक राजन कार्की पनि गम्भीर घाइते भए।

मीरा त्यस घटनालाई केवल दुर्घटना वा पीडाका रूपमा हेर्दिनन्, त्यसलाई ‘देशका लागि बगाएको रगत र पार्टीलाई दान गरिएको अङ्ग’का रूपमा लिन्छिन्।

घटनापछि लामो उपचार, शारीरिक पीडा र कृत्रिम खुट्टाको सहारामा नयाँ जीवन सुरु गर्नुपरे पनि मीराको राजनीतिक यात्रामा भने विराम लागेन। बरु संघर्षकै बीच उनले आफूलाई राजनीतिमा थप सक्रिय बनाउँदै लगिन्।

उदयपुरगढी गाउँपालिका–१, बाहुनीटारकी मीराले उदयश्री बहुमुखी क्याम्पस, कटारीबाट शिक्षा संकायमा स्नातक गरेकी छिन्। त्यसपछि उनले पद्मकन्या क्याम्पसबाट राजनीतिशास्त्रमा स्नातकोत्तर पूरा गरिन् ।

राजनीतिमा निरन्तर सक्रिय रहँदै आएकी मीरा तेह्रौँ महाधिवेशनको क्षेत्रीय प्रतिनिधि चौधौँ, पन्ध्रौँ महाधिवेशन प्रतिनिधि र दुई कार्यकाल नेविसंघको केन्द्रीय सदस्य बनिन्।

उनको राजनीतिक प्रवेशको आधार केवल संगठन वा पद थिएन। बाल्यकालदेखि देख्दै आएको सामाजिक विभेदले राजनीतितर्फ आकर्षित गरेको उनी बताउँछिन्।

छोरालाई निजी विद्यालयमा र छोरीलाई सरकारी विद्यालयमा पढाउने सामाजिक सोचले आफूलाई पीडा दिएको भन्दै उनले त्यस्ता विभेदविरुद्ध आवाज उठाउन राजनीतिलाई माध्यम बनाएको बताउने गरेकी छिन्।

२०७४ सालको विस्फोटबाट घाइते भएपछि मीरा लामो समय त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहिन्। करिब एक महिना १७ दिन अस्पतालमा बिताएपछि कृत्रिम खुट्टाको सहारामा पुनः हिँड्न सुरु गरिन्। शरीरमा आएको परिवर्तनलाई स्वीकार गर्दै उनले जीवनलाई अगाडि बढाइन्।

‘खुट्टा गयो, अब अपांग भएँ भन्ने त त्यही बेला थाहा भयो,’ घटनापछि आफ्नो अवस्था सम्झँदै उनले भनेकी थिइन्, ‘तर म अरूका लागि प्रेरणा बन्नुपर्छ भन्ने लाग्यो।’

त्यही सोचले आफूलाई राजनीतिमा सक्रिय रहन ऊर्जा दिएको मीरा बताउँछिन्।

अब उनको राजनीतिक यात्रा अर्को चरणमा प्रवेश गरेको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उनले कोशी प्रदेश युवा महिलातर्फ ३५ वर्षमुनिको समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन्।

विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा पार्टीको केन्द्रीय नेतृत्वसम्म पुग्ने प्रतिस्पर्धामा आइपुगेको हो।

मीरा भन्छिन्, ‘मेरा लागि यो उम्मेदवारी केवल एउटा राजनीतिक पदका लागि गरिएको दाबी मात्र होइन । लामो समयदेखि भोग्दै आएको संघर्ष, विद्यार्थी राजनीतिमा बिताएको समय र संगठनमा गरेको सक्रियताको निरन्तरता हो।’

राजनीतिलाई आफ्नो व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि सामाजिक परिवर्तनसँग जोडेर हेर्ने गरेको मीराले बताउँदै आएकी छिन्। महिला, युवा, शिक्षा र सामाजिक विभेदका विषयलाई राजनीतिमा प्राथमिकताका साथ उठाउने उनको धारणा छ।

मीराको जीवनमा आएको सबैभन्दा ठूलो शारीरिक चुनौतीले समेत राजनीतिक सक्रियतालाई रोक्न सकेन। कृत्रिम खुट्टाको सहारामा हिँड्दै उनी अहिले पनि राजनीतिक कार्यक्रममा सक्रिय छिन्। संगठनका गतिविधिमा सहभागी हुन्छिन् र आफ्नो राजनीतिक भविष्यका लागि अघि बढिरहेकी छिन्।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?