२१ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको शृङ्खलाका लागि ओमानमा रहेको नेपाली क्रिकेट टोली ओमान ए विरुद्ध पहिलो अभ्यास खेलमा विजयी भएको छ ।
ओमान क्रिकेट एकेडेमी टर्फ २ मा बुधबार भएको खेलमा नेपालले ओमानलाई २ विकेटले पराजित गरेको हो । ओमानले १६१ रनको लक्ष्य दिएपछि नेपाली टोलीले लक्ष्य बढाएर २४० रन पछ्याउने गरी खेल्ने निर्णय गरेको थियो ।
२४० रनको लक्ष्य नेपालले १० बल बाँकी छँदा ८ विकेटको क्षतिमा भेट्टायो । इशान पान्डेले सर्वाधिक ७२ रन बनाए । आसिफ शेखले ३७ रन बनाउँदा देव खनाल ३४ रनमा अविजित रहे । गुल्शन झाले ३० रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमान ए ले ३९.५ ओभरमा अलआउट हुँदै १६० रन बनाएको थियो ।
कप्तान हम्माद मिर्जाले सर्वाधिक ५४ रन बनाए । जिक्रिया इस्लामले ३५ तथा सन्जु सजीवले ३४ रन बनाए ।
नेपालका लागि नन्दन यादवले ५ ओभरमा १७ रन दिएर ३ विकेट लिए । करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिँदा गुल्शन झा, ललित राजवंशी र शाहब आलमले १-१ विकेट लिए ।
ओमानमा आगामी सातादेखि नेपाल, ओमान र क्यानडा सम्मिलित लिग २ अन्तर्गतको ओडीआई शृङ्खला सुरु हुँदैछ ।
प्रतिक्रिया 4