नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री जीवन परियारले विशेष महाधिवेशनपछि बनेको कार्यसमितिमा इलेक्सन ब्युरोको उपप्रमुख भएर काम गरे । विधान संशोधन मस्यौदा समिति सदस्यसमेत रहेका परियारको जोडबलमा समावेशितालाई प्राथमिकतामा राखेर विधान बनेको छ ।
परियार कांग्रेसको जारी १५औं महाधिवेशनमा समावेशीतर्फ उपसभापतिका उम्मेदवार बनेका छन् । महाधिवेशन प्रतिनिधिहरूसँग मत माग्न व्यस्त परियारसँग अनलाइनखबरले छोटो कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :
तपाईं १४औं महाधिवेशनमा निर्वाचित सहमहामन्त्री हुनुहुन्थ्यो । यस पटक उपसभापतिको प्रतिस्पर्धामा हुनुहुन्छ । उपसभापति पद नै किन रोज्नुभयो ?
पहिलो कुरा, नेपाली कांग्रेस आफैंमा एउटा समावेशी चरित्रको पार्टी हो । मुलुकका बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक सबै वर्ग र समुदायलाई समेट्ने पार्टी कांग्रेस नै हो । कांग्रेसले स्थापनाकालदेखि नै समावेशिताको चरित्र प्रमाणित गरेको छ ।
म एउटा कुरा स्मरण गर्न चाहन्छु- २००३ सालमा बीपी कोइरालाले देवदत्त परियारलाई सदस्य बनाउनुभएको थियो । त्यसैगरी सुवर्ण शमशेरले स्थापना गरेको पार्टी नेपाल प्रजातन्त्र कांग्रेसमा पनि आरबी गहतराज पार्टीको संस्थापक सदस्य हुनुहुन्थ्यो । दलितबाट देवदत्त परियारलाई र आरबी गहतराजलाई संस्थापक सदस्यको रूपमा हामी मान्छौँ । २००९ सालमा धनमान सिंह परियार कांग्रेसको महामन्त्री बन्नुभयो ।
मैले पनि समुदायकै प्रतिनिधित्व गर्ने भएको हुँदा यो प्रसंग जोडेको हुँ । म केन्द्रीय कार्यसमितिमा दुई कार्यकाल सदस्य र एक कार्यकाल सहमहामन्त्री भएँ । विधानमा समावेशी बनाउनुपर्छ भनेर विधान मस्यौदा समितिको सदस्यको रूपमा काम गरें । त्यहाँ लबिङ गरें । सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल यसमा अत्यन्त सकारात्मक हुनुभयो । उपसभापतिमा समावेशी पद राखियो ।
मेरो विगतको अनुभवसहित सबै वर्ग र समुदायको प्रतिनिधित्व गर्न सक्छु भन्ने लागेर उपसभापतिमा उम्मेदवारी दिएको हुँ ।
तपाईंले विगतमा गरेका कुनकुन कामहरूले गर्दा प्रतिनिधिले मत दिनुपर्छ भन्ने लाग्छ ?
मैले पार्टीले दिएको जिम्मेवारी संसद्, केन्द्रीय समितिमा बसेर सशक्त ढंगले पूरा गरेको छु । संसद्का विभिन्न समितिमा बसेर गरेको कामको मूल्यांकन पनि पार्टीले गरेको छ भन्ने मलाई लाग्छ ।
दोस्रो कुरा, पार्टीको जिम्मेवारीमा रहँदा विभिन्न समिति, उपसमितिहरूमा बसेर काम गरेको छु । पार्टीले खटाएको ठाउँ र संगठनलाई मजबुत बनाउन मेरो भूमिका छ । मलाई विश्वास छ, देशभरिका महाधिवेशन प्रतिनिधि जीवन परियारको भूमिकाको बारेमा जानकार हुनुहुन्छ ।
झण्डै सात हजारको संख्यामा महाधिवेशन प्रतिनिधि आउनुभएको छ । उहाँहरूले विगतमा केन्द्रीय सदस्य र सहमहामन्त्रीको रूपमा जिताएर पठाउनुभएको थियो । अहिले उपसभापति समावेशी क्लस्टरमा मैले उम्मेदवारी दिएको छु । मलाई अत्यधिक मतले विजयी गराउनुहुन्छ भन्नेमा विश्वस्त छु ।
विगतमा सदनमा पनि हुनुहुन्थ्यो । पार्टीमा समावेशिताको कुरा उठाइरहने तपाईंले नीति निर्माण तहमा समावेशिताको लागि यो यो काम गरें भन्ने के छ ?
संविधानसभा सदस्य रहेको बेला म पार्टीको केन्द्रीय सदस्य थिएँ । संविधान निर्माणको क्रममा पनि दलित समुदायको हक-अधिकारका लागि विषय उठाइरहें । पछाडि परेका वर्ग, समुदाय, महिला, जनजाति, मधेशी, थारु लगायतलाई राज्यको नीति निर्माण तहमा पुर्याउनुपर्छ भनेर संविधान मस्यौदा समिति सदस्यको रूपमा भूमिका खेलेको थिएँ ।
दोस्रो कुरा, म दलित समुदायबाटै प्रतिनिधित्व गरेको हुनाले पनि स्थानीय तह निर्वाचन ऐन बनाउँदा सक्रिय भएर काम गरें । प्रत्येक वडामा निर्वाचित हुने सदस्यमा दुई महिलामध्ये एक दलित हुनुपर्छ भनेर संशोधन प्रस्ताव राखें । उक्त ऐन पारित भएपछि प्रत्येक वडामा एक जना दलित महिला वडा सदस्य हुन पाउने अवस्था बनेको छ ।
जातीय भेदभाव, छुवाछुत उन्मूलनसम्बन्धी ऐन निर्माण गर्नेदेखि पार्टीको खटाएका सबै जिम्मेवारीहरूमा काम गरें । ऐन-कानुनहरू निर्माण गर्ने क्रममा मानवअधिकार, कानुन न्याय तथा मानवअधिकार समितिमा बसेर काम गरेको अनुभव छ । संसदीय सुनुवाइ समितिमा बसेर पनि काम गरेको छु । निजामती ऐनमा जुन खालको त्रुटि भयो, त्यसमा छानबिन समिति बनाउँदा सभापति भई काम गरें ।
पार्टीको विधान मस्यौदा बनाउन काम गरें । पार्टीको नियमावली बनाउने कार्य गरें । पार्टीले बनाएको निर्वाचन ब्युरोको सहसंयोजक भएर काम गरेको छु ।
प्रतिनिधिहरूको मत प्राप्त गर्न तपाईंले उठाएका एजेन्डा चाहिं केके छन् ?
पार्टीलाई चुस्त र सक्रिय बनाउने मेरो पहिलो एजेन्डा हो । युवा र नयाँ पुस्ताहरूलाई कांग्रेससँग जोड्न भूमिकासहित नीति केन्द्रित पार्टी बनाउने मेरो एजेन्डा छ । पार्टीले जनतासँग प्रत्यक्ष सम्बन्ध राख्नुपर्छ । त्यसका लागि ‘कांग्रेस जनतासँग’ कार्यक्रम ल्याउने मेरो दृष्टिकोण छ ।
पार्टीमा गुटबन्दी हटाउन संस्थागत निर्णय गर्ने परिपाटीको विकास गर्नुपर्छ । महिला, दलित, आदिवासी, जनजाति, मधेशी, थारु मुस्लिम, तराई क्षेत्र, अपाङ्गता, अल्पसंख्यक लगायतको प्रतिनिधित्व जबसम्म हुँदैन, पार्टीलाई समावेशी पार्टी बनाउन सकिँदैन । त्यसकारण समावेशी कांग्रेस निर्माण गर्ने मेरो अर्को एजेन्डा हो ।
डिजिटल कांग्रेसको निर्माण, प्रशिक्षण र वैचारिक पुनर्जागरण मेरा एजेन्डा छन् ।
प्रतिक्रिया 4