+
+
Shares

एआईजीदेखि चोलेन्द्रसम्म नेक्सस देखिएका इनमविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

अमेरिकाको पीआर रहेका इनम बीचमा बसेर सेटिङ मिलाउने पात्र रहेको बताइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते १७:०९

२२ असोज, काठमाडौं । सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहालदेखि पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग कनेक्सन देखिएका विवादित पात्र इनम सापकोटाविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका सापकोटाविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाएको हो । परिसर स्रोतका अनुसार, हिजो बुधबारबाटै सम्पत्ति सुद्धिकरणको कसुरमा म्याद लिएर इनमविरुद्ध अनुसन्धान सुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतले हिजो एक दिनको म्याद दिएको थियो । उक्त म्याद सकिएकाले आज बिहीबार फेरि म्याद थपका लाथि इनमलाई काठमाडौं जिल्ला अदालत लगिएको स्रोतले बतायो ।

‘म्याद थपका लागि अदालत लगेका छौं । अब कति दिन म्याद थप हुन्छ भन्ने विषय बाँकी नै छ,’ स्रोतले भन्यो । अमेरिकाको पीआर रहेका इनम बीचमा बसेर सेटिङ मिलाउने पात्र रहेको बताइएको छ ।

अदालतमा सेटिङ गर्न खोजेको भन्ने लगायत सूचनाका आधारमा प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रलाई पक्राउ गरेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मध्यराति घरबाटै पक्राउ गरेर उनलाई कार्यालय ल्याएर १२ घण्टापछि मात्रै छाडेको थियो । त्यतिबेला प्रहरीले चोलेन्द्रको मोबाइल नियन्त्रणमा लिएर हेरिसकेको थियो ।

त्यसपछि बल्ल इनम सापकोटाको बारेमा नयाँ तथ्य सार्वजनिक भएको थियो । उनले बिचमा बसेर काम गर्ने गरेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । दिल्ली जान लागेका बेला प्रहरीको विशेष ब्यूरोले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उनलाई पक्राउ गरेको थियो ।

एक दिन ब्यूरोले नियन्त्रणमा राखेर अनुसनधान गरेपछि बल्ल परिसर काठमाडौंको जिम्मा लगाएको थियो । इनमलाई पक्राउ गरेपछि एआईजी वंशीराज दाहालको कनेक्न पत्ता लागेको स्रोत बताउँछ ।

इनमसँगको कनेक्सनका साथै मध्यराति प्रहरीको नियन्त्रणमा रहेका व्यक्तिलाई कसैलाई जानकारी नगराई भेट गर्न गएको लगायतका आधारमा एआईजी दाहाललाई निलम्बन गरेर छानबिन सुरु गरिएको छ ।

उनले गम्भीर सूचना चुहाएको आरोप समेत छ । विशेष ब्युरोले इनमलाई पक्राउ गरी उनको मोबाइल जाँच गर्दा महत्वपूर्ण सूचनाहरू भेटिएको दाबी गरेको छ । उच्च स्रोतका अनुसार एआईजी दाहाल र इनमबीच प्रधानमन्त्री बालेन शाहका गतिविधिको सूचनासमेत आदानप्रदान भएको दाबी छ । ‘प्रमज्यूकै सूचनाको आदानप्रदान भएकोसमेत देखिएको छ,’ स्रोतले भन्यो ।

प्रधानमन्त्रीका गतिविधिका सूचना र आर्थिक कारोबारका विवरणहरू पनि भेटिएको दाबी छ । रकम नै उल्लेख गरेर कुराकानी भएको विवरणहरूसमेत फेला परेपछि निकै गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाइएको दाबी स्रोतको छ ।

अदालतमा विचाराधीन रहेका मुद्दामा अस्वाभाविक भेटघाट र चलखेल गरेको सूचना पाएपछि सरकारको टार्गेटमा परेका थिए, पूर्वप्रधानन्यायाधीश चोलेन्द्र ।

सम्पत्ति शुद्धीकरण, बीमा, धितोपत्र, बैंकिङ कसुरमा पक्राउ परेर पुर्पक्षका लागि कारागारमा रहेका व्यवसायी दीपक भट्टदेखि सुलभ अग्रवालको मुद्दामा समेत चलखेल गर्न लागेको लगायतका सूचना पाएपछि नियन्त्रणमा लिएर १२ घण्टा केरकार गरेर प्रहरीले उनलाई छाडेको थियो । यहाँबाट सूरु भएको अनुस्न्धान अहिले चोलेन्द्रमाथि सम्पत्ति सुद्धिकरणको समेत अनुसन्धान अघि बढेको छ ।

हिजो मात्रै सम्पत्ति सुद्धिकरण विभागले चालेन्द्रसहित उनका नातेदार र निकटस्थ व्यक्तिको घरमा छापा हानेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?