२२ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किङ्सले श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादलाई मुख्य प्रशिक्षकका रूपमा निरन्तरता दिएको छ ।
प्रसादले आगामी सिजन पनि विराटनगरको प्रशिक्षण तथा रणनीतिक नेतृत्व सम्हाल्नेछन् । अन्तर्राष्ट्रिय क्रिकेट र फ्रेन्चाइज क्रिकेटमा लामो अनुभव भएका प्रसादलाई टोलीले उनको बलिङ प्रशिक्षण, खेलाडी विकास तथा टोली व्यवस्थापनको अनुभवलाई मध्यनजर गर्दै निरन्तरता दिएको जनाएको छ ।
दायाँहाते फास्ट बलर प्रसादले श्रीलंकाका लागि २५ टेस्ट, २४ एकदिवसीय र १४ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । प्रशिक्षकका रूपमा उनले अमेरिका राष्ट्रिय क्रिकेट टोलीमा सहायक तथा बलिङ प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् । उनले नेपाल र ओमान राष्ट्रिय टोलीको बलिङ प्रशिक्षकका रूपमा पनि काम गरेका छन् ।
फ्रेन्चाइज क्रिकेटमा प्रसादले लङ्का प्रिमियर लिगमा कोलम्बो किङ्सका बलिङ प्रशिक्षक, क्यान्डी बोल्ट्सका प्रशिक्षण निर्देशक र क्यान्डी रोयल्सका सहायक प्रशिक्षकका रूपमा काम गरेका थिए । उनले केम्यान आइल्यान्ड म्याच ६० मा फ्लोरिडा लायन्स तथा बिग क्रिकेट लिगमा गुजरात डायमण्ड्सको प्रशिक्षकको जिम्मेवारीसमेत सम्हालेका छन् ।
विराटनगरमा पुनः जिम्मेवारी पाउँदा प्रसादले खुसी व्यक्त गरेका छन् । गत सिजन प्लेअफ पुगेर बाहिरिएको क्षणलाई पीडादायी अनुभवका रूपमा लिँदै उनले यसपटक टोली अझ बलियो भएर फर्किने बताएका छन् ।
‘विराटनगर किङ्ससँग यो सिजन पनि जोडिन पाउँदा म निकै खुसी र उत्साहित छु । गत सिजन हामी प्लेअफबाट बाहिरिनुपर्दा त्यो क्षण निकै पीडादायी र निराशाजनक थियो । हामीले धेरै मेहनत गरेका थियौँ, तर अपेक्षित नतिजा हासिल गर्न सकेनौं’ प्रसादले भने ।
उनले गत सिजनको अनुभवबाट सिक्दै यसपटक टोलीले आफ्नो शतप्रतिशत दिने बताए ।
‘त्यसको पीडा हामी सबैसँग अझै छ। यही अनुभवले यसपटक हामीलाई अझ बलियो र प्रतिबद्ध बनाएको छ। यसपटक हामी आफ्नो शतप्रतिशत दिनेछौँ र ट्रफीका लागि अन्तिम बलसम्म लड्नेछौं’ उनले भने ।
एनपीएलको तेस्रो संस्करणको तयारीका लागि विराटनगर किङ्स हाल भारतको उत्तर प्रदेशस्थित पूर्वाञ्चल क्रिकेट एकेडेमीमा प्रशिक्षण गरिरहेको छ ।
टोलीले त्यहाँ रणजी ट्रफी खेलिसकेका भारतीय खेलाडीहरूसँग फ्लडलाइटमा अभ्यास खेल खेलिरहेको छ। प्रसादले भारतमा भइरहेको प्रशिक्षणबाट टोलीको तयारी थप बलियो भइरहेको बताएका छन् ।
‘भारतमा हाम्रो प्रशिक्षण राम्रो भइरहेको छ। खेलाडीहरूले राम्रो प्रशिक्षण पाइरहेका छन्। रणजी ट्रफीमा खेलिसकेका अनुभवी खेलाडीहरूसँग अभ्यास खेल खेल्दा हाम्रो तयारी अझ बलियो भइरहेको छ। एनपीएलका लागि हामी उत्कृष्ट तयारी गर्ने लक्ष्यमा छौं’ उनले भने।
प्रसादको नेतृत्वमा विराटनगर किङ्सले एनपीएलको तेस्रो संस्करणमा गत सिजनको प्रदर्शन सुधार गर्दै उपाधिका लागि प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया 4