+
+
Shares

जडीबुटी खोज्न जाँदा बेपत्ता भएका मुगुका दुई जना मृत भेटिए

जडीबुटी संकलनका क्रममा असोज ११ गते दुई पक्षबीच झडप भएको थियो ।

हेमन्त केसी हेमन्त केसी
२०८३ असोज २२ गते १९:४०

२२ असोज, सुर्खेत । हुम्ला–मुगुको सीमावर्ती मिमी पाटन क्षेत्रमा जडीबुटी खोज्न गएका मुगुका दुई जना मृत भेटिएका छन् । मुगुम कार्मारोङ गाउँपालिका–९ का अङ्गबहादुर रोकाया र ललितजङ्ग बडुवाल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक(डीएसपी) रविराज थपलियाका अनुसार रोकायाको शव असोज १७ गते मिमी पाटन क्षेत्रमा हिउँले पुरिएको अवस्थामा फेला परेको थियो । बुधबार बडुवालको शव पनि सानो मिमी क्षेत्रमै फेला परेको उनले बताए ।

दुवै जनाको शव फेला परेसँगै जडीबुटी खोज्न गएर सम्पर्कविहीन भएका दुई जनाको खोजी टुंगिएको प्रहरीले जनाएको छ ।

झडपछि बेपत्ता

मृत फेला परेका दुवै जनासहित मुगुम कार्मारोङ गाउँपालिका–९ पापु र छाइलाका १३ जना जडीबुटी खोज्न असोज १० गते गाउँबाट निस्किएका थिए ।

जडीबुटी संकलनका क्रममा असोज ११ गते दुई पक्षबीच झडप भएको थियो । झडपमा मुगुम कार्मारोङ गाउँपालिका–९ पापुका २२ वर्षीय गणेशबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको थियो ।

टोलीका अन्य १० जना सम्पर्कमा आएपनि अङ्गबहादुर र ललितजङ्ग सम्पर्कविहीन भएका थिए ।

उनीहरूको खोजीका लागि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार नेपाली सेनाको नेतृत्वमा संयुक्त सुरक्षा टोली परिचालन गरिएको थियो । जसमा सेनाका सात, नेपाल प्रहरीका सात र सशस्त्र प्रहरीका छ गरी २० जनाको टोली असोज १९ गते घटनास्थलतर्फ गएको थियो ।

संयुक्त टोलीले अत्यधिक उचाइ, बाक्लो हिउँ, कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमबीच खोजी अघि बढाएको थियो । घटनास्थलसम्म पुग्नै कठिन रहेको र बाक्लो हिउँका कारण शव उद्धार तथा खोजी प्रभावित भएको यसअघि प्रहरीले जनाएको थियो ।

जडीबुटी जोखिम

मुगु र हुम्लाको सीमामा पर्ने मिमी पाटन उच्च हिमाली क्षेत्र हो । यस क्षेत्रमा कुट्की, जटामसीलगायत बहुमूल्य जडीबुटी पाइने भएकाले मुगुम कार्मारोङ गाउँपालिकाका वडा नम्बर ७, ८ र ९ लगायतका स्थानीय लामो समयदेखि जडीबुटी संकलनका लागि जाने गरेका छन् ।

स्थानीयका अनुसार जडीबुटी संकलन गर्ने वनक्षेत्रको सीमा र उपयोगका विषयमा विगतदेखि नै विवाद रहँदै आएको छ ।

यही क्रममा यसपटक दुई पक्षबीच झडप भएको र त्यसपछि दुई जना सम्पर्कविहीन भएका थिए । घटनाबारे सम्बन्धित निकायले अनुसन्धानसमेत अघि बढाएको थियो ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?