News Summary
Generated by OK AI. Editorially reviewed.- परराष्ट्र मन्त्रालयले रसुवागढी बन्दपछि तातोपानी–झाङ्मु र लिजी–कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको जनाएको छ।
- मन्त्रालयले विदेशमा रहेका नेपालको ऐतिहासिक तथा पुरातात्विक सम्पदा र दस्तावेज स्वदेश फिर्ता ल्याउने काम अघि बढाएको छ।
- जर्मन नागरिक स्वर्गीय जोसेफ पिटर रिन्फ्लाइजको निजी संग्रहका १३औँदेखि २०औँ शताब्दीसम्मका ८ सयभन्दा बढी लिखित दस्तावेज नेपाललाई हस्तान्तरण गरिएको छ।
२३ असोज, काठमाडौं । तातोपानी–झाङ्मु र लिजी–कोराला नाका सुचारु गर्न चीनसँग आवश्यक समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
शुक्रवार सिंहदरबारस्थित मन्त्रालयमा नियमित पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाल–चीनबीचको व्यापार प्रभावित हुन नदिन वैकल्पिक नाकाहरू सञ्चालनमा ल्याउने विषयमा चीनसँग आवश्यक समन्वय भइरहेको बताए ।
‘गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चात रसुवागढी नाका बन्द भएको विषय अवगत नै छ । नेपाल–चीनबीचको आवागमन र व्यापारलाई सहज बनाउने दिशामा मन्त्रालयबाट तातोपानी–झाङमु र लिजी– कोराला लगायतका नाकाहरु खुलाउने विषयमा हाल आवश्यक समन्वय भइरहेको छ । रसुवागढी नाका बन्द चीनसँगको व्यापार बन्द नहोस् भन्ने उद्देश्यले परराष्ट्र मन्त्रालयले आवश्यक पहल गरिरहेको छ,’ उनले भने ।
गत १० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीपछि रसुवागढी नाका बन्द भएको थियो । नाका बन्द हुँदा नेपाल–चीनबीचको आवागमन तथा व्यापारमा सहजता कायम राख्न सरकारले तातोपानी नाका खुला गर्न चीन सरकारसँग आग्रह गर्दै आएको छ ।
प्रवक्ता क्षेत्रीले सरकारले विदेशमा रहेका नेपालको ऐतिहासिक तथा पुरातात्विक सम्पदा र दस्तावेज स्वदेश फिर्ता ल्याउने तथा संरक्षण र प्रवर्द्धन गर्ने कामलाई पनि अघि बढाएको बताए ।
सोहीअनुसार जर्मन नागरिक स्वर्गीय जोसेफ पिटर रिन्फ्लाइजको निजी संग्रहमा रहेका १३औँदेखि २०औँ शताब्दीसम्मका ८ सय भन्दा बढी लिखित दस्तावेज नेपाललाई हस्तान्तरण गरिएको जानकारी दिए । उनले क्षेत्रीय तथा उपक्षेत्रीय संगठनहरूमा नेपालको सहभागिता, नेतृत्व र प्रतिनिधित्वलाई राष्ट्रिय हितअनुकूल बनाउँदै आपसी हित प्रवर्द्धन गर्ने कामलाई समेत अघि बढाइएको बताए ।
प्रतिक्रिया 4