+
+
Shares

अण्डाको उत्पादनसँगै खपत बढाउनुपर्नेमा जोड

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते ५:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनमा विश्व अण्डा दिवसका अवसरमा सरोकारवालाले अण्डाको उत्पादन र खपत दुवै बढाउन निजी क्षेत्र र सरकारी निकायबीच सहकार्य गर्नुपर्ने बताएका छन्।
  • नेपालमा प्रतिव्यक्ति वार्षिक अण्डा खपत ६९ वटा मात्र रहेको र विश्व औसत १८५ वटा पुगेकाले पोषणबारे जनचेतना बढाउनुपर्ने डा. दिनेश गौतमले बताए।
  • नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले सरकारले सहयोग गरे दैनिक ६५ देखि ७० लाख अण्डा उत्पादन गर्ने लक्ष्य रहेको बताए।

२४ असोजङ चितवन। मानव स्वास्थ्यका लागि आवश्यक पोषक तत्त्वको महत्त्वपूर्ण स्रोत अण्डाको उत्पादन र खपत दुवै बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपालमा अण्डाको उत्पादन बढ्दै गए पनि अन्य देशको तुलनामा खपत कम रहेकाले यसको पोषणसम्बन्धी महत्त्वबारे आम नागरिकलाई जानकारी गराउन र बजार विस्तार गर्न आवश्यक रहेको उनीहरूको भनाइ छ ।

विश्व अण्डा दिवसको अवसरमा नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबार चितवनमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागीले निजी क्षेत्र र सरकारी निकायबीच सहकार्य गरेर अण्डाको उत्पादन तथा उपभोग बढाउनुपर्ने बताएका हुन् । उनीहरूले किसानले उत्पादनको उचित मूल्य पाउने वातावरण बनाउन, विद्यालयको दिवा खाजामा अण्डा समावेश गर्न र यसको पोषणसम्बन्धी जानकारी जनस्तरसम्म पुर्‍याउनुपर्ने आवश्यकता औँल्याए ।

नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले सरकारले सहयोग गरेमा अण्डाको उत्पादन बढाउन किसान तयार रहेको बताए । उनका अनुसार अण्डाको उपभोग बढाउने अभियानलाई व्यवसायीको व्यावसायिक हितसँग मात्र जोडेर नहेरी जनस्वास्थ्य र पोषणसँग सम्बन्धित विषयका रूपमा अघि बढाउन आवश्यक छ ।

‘अण्डा उपभोग बढाउन हामीले गर्ने आग्रहलाई व्यवसायसँग जोड्ने भएकाले सरकारी तवरबाट जे हो, त्यस विषयलाई आम जनतासम्म पुर्‍याइदिनुपर्छ’, पोखरेलले भने ।

उनले अण्डाले लागतअनुसारको मूल्य पाउन थालेपछि कुखुरापालनमा किसानको आकर्षण बढ्न थालेको बताए । उत्पादनको उचित मूल्य सुनिश्चित भएमा थप किसान यस व्यवसायमा प्रवेश गर्ने र मुलुकको कुल उत्पादन बढाउन सकिने उनको भनाइ छ ।

‘भारतबाट भन्सार छलेर आउने अण्डा गत वैशाखदेखि रोकिएपछि किसानले राहत महसुस गरेका छन्’, पोखरेलले भने, ‘विद्यार्थीको दिवा खाजामा सबै दिन अण्डा खुवाउने व्यवस्था सरकारले गरेमा प्रतिअण्डा पाँच रुपैयाँ छुट दिन हामी तयार छौँ ।’

उनका अनुसार नेपालमा अहिले दैनिक करिब ३८ लाख अण्डा उत्पादन भइरहेको छ । कोभिड–१९ महामारीअघिको अवस्थामा जस्तै दैनिक ६५ देखि ७० लाख अण्डा उत्पादन गर्ने लक्ष्यसहित किसानलाई संगठित गर्ने र उत्पादन विस्तार गर्ने काम भइरहेको उनले बताए ।

चार वर्षअघि करिब १२० रहेका ठूला लेयर्स कुखुरापालक किसानको संख्या अहिले बढेर १८० पुगेको पोखरेलले जानकारी दिए । उनका अनुसार बजारमा एउटा क्यारेट अर्थात् ३० वटा अण्डाको मूल्य करिब ६०० रुपैयाँ पुगेको छ । व्यवसायीका अनुसार एउटा अण्डा उत्पादन गर्न औसत १९ रुपैयाँ १२ पैसा लागत लाग्ने गरेको छ ।

चार वर्षअघि अण्डा उत्पादन गर्ने धेरै किसान व्यवसायबाट विस्थापित भएको उल्लेख गर्दै पोखरेलले बाँकी किसानले संगठित भएर बजारीकरण गर्न थालेपछि लागतअनुसारको मूल्य पाउने अवस्था बनेको बताए । उत्पादन लागतअनुसार मूल्य नपाउँदा किसान व्यवसायबाट पलायन हुने जोखिम रहने भएकाले बजार व्यवस्थापन र मूल्य सुनिश्चिततामा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

नेपालमा प्रतिव्यक्ति वार्षिक ६९ अण्डा खपत

कार्यक्रममा पोषण विज्ञ डा. दिनेश गौतमले नेपालमा अण्डाको खपत अन्तर्राष्ट्रिय औसतभन्दा निकै कम रहेको तथ्यांक प्रस्तुत गरे । उनका अनुसार विश्वमा प्रतिव्यक्ति वार्षिक औसत १८५ वटा अण्डा खपत हुने गरेको छ । एसियामा यो संख्या १८७ छ भने दक्षिण एसियामा ८७ मात्रै छ ।

नेपालमा प्रतिव्यक्ति वार्षिक ६९ वटा अण्डा खपत हुने गरेको गौतमले बताए । उनका अनुसार भारतमा प्रतिव्यक्ति वार्षिक ११२, श्रीलंकामा १३२, बंगलादेशमा १३७, पाकिस्तानमा ४८ र अफ्रिकामा ४० वटा अण्डा खपत हुने गरेको छ ।

सन् २०१५ मा नेपालमा प्रतिव्यक्ति वार्षिक ६० वटा अण्डा खपत हुने गरेकोमा अहिले बढेर ६९ पुगेको उनले जानकारी दिए । उक्त अवधिमा अण्डाको खपत १५ प्रतिशतले बढेको र जनसंख्या वृद्धि ६ प्रतिशत रहेको उनको भनाइ छ ।

नेपालमा अण्डाको खपत क्रमशः बढे पनि पोषणको आवश्यकता र अन्य देशको औसतसँग तुलना गर्दा अझै विस्तार गर्नुपर्ने ठाउँ रहेको गौतमले बताए । विश्वमा सबैभन्दा बढी अण्डा उत्पादन गर्ने देश चीन हो भने भारत दोस्रो स्थानमा छ । ती देशमा ठूलो परिमाणमा उत्पादन भइरहेका बेला नेपालले पनि उत्पादन क्षमता विस्तारसँगै आन्तरिक खपत बढाउने नीति लिनुपर्ने उनले बताए ।

अण्डाको उपलब्धता बढाउनु मात्रै पर्याप्त नहुने भन्दै उनले यसको पोषणसम्बन्धी महत्त्व बुझाउने कार्यक्रमलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिए । आम नागरिकले दैनिक भोजनमा अण्डालाई समावेश गर्न सके पोषण सुधारमा सहयोग पुग्ने उनको भनाइ थियो ।

कृषि ऐनमार्फत किसानलाई प्रोत्साहन गर्ने तयारी

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा. रामानन्द तिवारीले अण्डाको उत्पादन बढाउनुका साथै खपत विस्तारमा पनि सरकारले ध्यान दिनुपर्ने बताए । उनका अनुसार अण्डाको प्रयोग बढाउन सरकारी तवरबाट प्रचारात्मक काम भइरहेको छ ।

किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषि ऐन जारी गर्ने तयारी भइरहेको जानकारी दिँदै तिवारीले त्यसमा किसानका सन्तानलाई छात्रवृत्ति, कृषि ढुवानीका साधनलाई छुट्टै नम्बर र किसान तथा परिवारलाई यातायातमा छुट दिने व्यवस्थाजस्ता विषय समावेश गरिएको बताए ।

कृषि पेसालाई सम्मानजनक र आकर्षक बनाउन किसानलाई आवश्यक सुविधा तथा प्रोत्साहन उपलब्ध गराउनुपर्ने उनको भनाइ छ । किसानले उत्पादनको उचित मूल्य पाउने र बजारमा सहज पहुँच हुने वातावरण बनेमा कृषि क्षेत्रमा लगानी तथा उत्पादन बढाउन सहयोग पुग्ने उनले बताए ।

प्रोटिनसँगै विभिन्न पोषक तत्त्वको स्रोत अण्डा

कार्यक्रममा वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले अण्डा प्रोटिनको स्रोत मात्र नभई शरीरको वृद्धि, विकास र समग्र स्वास्थ्यका लागि आवश्यक विभिन्न पोषक तत्त्वको महत्त्वपूर्ण स्रोत भएको बताए । उनका अनुसार अण्डामा उच्च गुणस्तरको प्रोटिन पाइन्छ र यो तुलनात्मक रूपमा सहजै उपलब्ध हुने खाद्य पदार्थ हो ।

‘एउटा अण्डामा करिब ६ ग्राम प्रोटिनसँगै भिटामिन ए, बी समूह, डी, ई, फोलेट, फस्फोरस, सेलेनियम र जिंकजस्ता विभिन्न पोषक तत्त्व पाइन्छन्’, अधिकारीले भने ।

अण्डाको पहेँलो भागमा पनि पोषक तत्त्व पाइने भएकाले त्यसलाई अनावश्यक रूपमा फाल्न नहुने उनले बताए । बालबालिकाको खानामा अण्डा समावेश गर्दा उमेरअनुसार उपयुक्त परिकार बनाएर खुवाउनुपर्ने उनको भनाइ थियो । ‘अण्डाका परिकार बनाउँदा नै दुई अण्डालाई एउटा सम्झेर बनाउनुपर्छ’, उनले भने ।

अण्डाको पोषणसम्बन्धी गुणबारे सही जानकारी नहुँदा यसको उपभोग अपेक्षाकृत कम हुन सक्ने भएकाले स्वास्थ्यकर्मी, पोषण विज्ञ र सरकारी निकायले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने अधिकारीले बताए ।

कार्यक्रममा युसेक अमेरिकन सोयका कन्ट्री मार्केट लिड डा. अशेष भट्टराईले नेपालमा अण्डाको उत्पादन र बजारीकरणमा आफ्नो संस्थाले सहयोग गर्दै आएको बताए । उनले निजी क्षेत्र र सरकारी निकायबीच सहकार्य भएमा उत्पादन बढाउन तथा बजार विस्तार गर्न सहज हुने धारणा राखे ।

अण्डामा पाइने पोषक तत्त्व र मानव स्वास्थ्यमा त्यसको भूमिकाबारे आम नागरिकलाई जानकारी गराउनुपर्नेमा पनि उनले जोड दिए ।

विद्यालयको दिवा खाजामा अण्डा समावेश गर्न सुझाव

कार्यक्रममा सहभागीले अण्डाको खपत बढाउन विद्यालय तहदेखि नै पोषणसम्बन्धी शिक्षा दिनुपर्ने सुझाव दिएका छन् । विद्यालयका पाठ्यक्रममा अण्डाको पोषणसम्बन्धी महत्त्व समावेश गरी पठनपाठनको व्यवस्था गर्नुपर्ने उनीहरूको भनाइ छ ।

त्यसैगरी विद्यालयको दिवा खाजामा नियमित रूपमा अण्डा समावेश गर्न सके बालबालिकाको पोषण सुधार हुनुका साथै अण्डाको बजार विस्तारमा पनि सहयोग पुग्ने सहभागीले बताए । सरकारले यस्तो कार्यक्रम कार्यान्वयन गरेमा किसानलाई उत्पादन बढाउन प्रोत्साहन मिल्ने र विद्यार्थीले पोषणयुक्त खाना पाउने उनीहरूको धारणा थियो ।

अण्डाको उत्पादन लागतअनुसार किसानले मूल्य पाउने अवस्था सिर्जना गर्नुपर्नेमा पनि सहभागीले जोड दिएका छन् । उत्पादन लागत बढ्ने तर बजारमा उचित मूल्य नपाउने अवस्था रहेमा किसान व्यवसायबाट पलायन हुन सक्ने भएकाले मूल्य, बजार व्यवस्थापन र सरकारी प्रोत्साहनका विषयलाई सँगसँगै अघि बढाउनुपर्ने उनीहरूको सुझाव छ ।

नेपालमा अण्डाको उत्पादन विस्तार, किसानको संरक्षण र उपभोक्तामा पोषणसम्बन्धी चेतना अभिवृद्धि गर्न सके यसले कृषि व्यवसाय र जनस्वास्थ्य दुवै क्षेत्रमा योगदान पुर्‍याउन सक्ने सरोकारवालाको निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?