२४ असोज, चितवन । स्तन क्यान्सरसम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ चितवनको भरतपुरमा स्तन क्यान्सर सचेतना दौड गरिएको छ ।
सीएमसी क्यान्सर इन्स्टिच्यूट र माईन प्लस युवा क्लबको आयोजनामा भएको सचेतना दौडमा सहभागीहरुले स्तन क्यान्सर सम्बन्धी सचेतना जगाउने विभिन्न प्लेकार्ड लिएका थिए ।
करिब ६ किलोमिटर दूरीको दौडको शुभारम्भ चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गरेका थिए । समयमै पहिचान, नियमित जाँच र सही उपचारले स्तन क्यान्सरविरुद्धको लडाइँलाई प्रभावकारी बनाउन सकिन्छ भन्ने सन्देश प्रवाह गर्न कार्यक्रम दौड आयोजना गरिएको चितवन मेडिकल कलेजका प्रमुख प्रशासकिय अधिकृत प्रताप देवकोटाले जानकारी दिए ।
उनले स्तन क्यान्सरको समयमा नै पहिचान र उपचारबाट निको हुन सक्ने भएकोले पूर्व सावधानी र सचेतना आवश्यक रहेको बताए । अक्टोबर महिनालाई विश्वभरी स्तन क्यान्सर सचेतना महिनाका रुपमा मनाउने गरिन्छ ।
स्तन क्यान्सर सचेतनामा फैलाउने अक्टोबर महिनालाई गुलावी महिना रुपमा लिने गरिन्छ । यसै अवसरमा अस्पतालले एक महिनाभरी स्तन क्यान्सर निःशुल्क परीक्षण समेत सुरुवात गरेको प्रमुख प्रशासकिय अधिकृत देवकोटाले बताए ।
सीएमसी क्यान्सर इन्ष्टिच्यूटले भरतपुर महानगर भित्रका स्वास्थ्य स्वयंसेविकाहरुलाई स्तन क्यान्सर सम्बन्धी सचेतना र स्तन क्यान्सरको जोखिमका बारेमा अन्र्तक्रिया तथा सचेतना कार्यक्रम गरेको थियो । स्वंयसेविकाहरु नागरिकको घरघरसम्म पुग्ने भएकोले स्तन क्यान्सरको बारेमा पहिलो सचेतना स्वंयसेविकाहरुलाई नै आवश्यक रहेको देवकोटाले बताए ।
संघीय सरकारले एक लाख र बागमती प्रदेश सरकारले ५० हजार क्यान्सर उपचारका लागि दिदै आएको छ । साथै स्तन र पाठेघरको क्यान्सरका लागि त्यसमा पनि थप ५० हजार प्रदेशले सहयोग गर्दै आएको छ ।
चितवनमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजमा क्यान्सर रोगको उपचार हुँदै आएको छ । पछिल्लो समयमा स्तन क्यान्सरका बिरामीको संख्या बढ्दै गएको छ । वीपी कोइराला क्यान्सर अस्पतालमा सन् २०२५ मा ७३१ जनामा स्तन क्यान्सर भएको पुष्टि भएको थियो ति मध्ये २० जना पुरुषमा स्तन क्यान्सर भएको थियो ।
प्रतिक्रिया 4