+
+
Shares

अस्ट्रेलियाकी गभर्नर जनरलले भनिन्- दोस्रो पुस्ताका नेपालीले गभर्नर जनरल बन्ने सपना देखून्’

प्रदीप तिमल्सिना प्रदीप तिमल्सिना
२०८३ असोज २४ गते ११:०९

२४ असोज, क्यानबेरा । अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित गभर्नर जनरलको सरकारी निवास वर्षमा एक दिन सर्वसाधारणका लागि खुला हुँदा यसपटक नेपाली समुदायका लागि विशेष रह्यो।

हजारौँ आगन्तुकको भिडमा अस्ट्रेलियाका गभर्नर जनरल साम मोस्टिनले नेपालीको इमानदारी र मेहनतको खुलेर प्रशंसा मात्र गरिनन्, नेपाली युवालाई देशकै सर्वोच्च पदसम्म पुग्ने सपना देख्न प्रेरितसमेत गरिन्।

शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र खुला गरिएको उक्त निवासमा हजारौँ मानिसको घुइँचो लागेको थियो। सामान्यतया अति विशिष्ट पाहुनालाई मात्र प्रवेश दिइने बैठक कक्ष, बसोबास क्षेत्र, ग्यालरी र सुन्दर बगैँचामा सर्वसाधारणले सहजै अवलोकन गर्न पाए।

अर्को वर्ष निर्माणको एक शताब्दी पूरा गर्न लागेको यस ऐतिहासिक भवनको हरियाली चौरमा धेरै परिवारले पिकनिक मनाउँदै रमणीय वातावरणको आनन्द लिएका थिए।

नेपालको विपत्तिप्रति गभर्नर जनरलको चासो

अवलोकनका क्रममा गभर्नर जनरल मोस्टिनले अनलाइनखबरसँग कुराकानी गर्दै नेपालमा हालै गएको बाढीपहिरो, उद्धार र पुनर्निर्माणको अवस्थाबारे गहिरो चासो र सहानुभूति व्यक्त गरिन्।

उनले अस्ट्रेलियाको विकासमा यहाँ बसोबास गर्ने नेपालीहरूले देखाएको इमानदारी र मेहनतको मुक्तकण्ठले प्रशंसा गर्दै नेपाली खानपान र संस्कृतिप्रति आफ्नो विशेष रुचि रहेको बताइन्।

नेपाली युवालाई सर्वोच्च पदको लक्ष्य राख्न प्रेरणा

सोही अवसरमा प्रान्तीय निर्वाचनमा उम्मेदवार बनेकी नेपाली मूलकी राजनीतिज्ञ स्नेहा लता केसीले पनि गभर्नर जनरल मोस्टिनसँग भेट गरिन्।

भेटपछि अनलाइनखबरसँग कुरा गर्दै केसीले भनिन्, ‘गभर्नर जनरलले दोस्रो पुस्ताका नेपाली मूलका युवाहरूलाई ठूला सपना देख्न र भविष्यमा अस्ट्रेलियाकै गभर्नर जनरल बन्नेसम्मको उच्च लक्ष्य राख्न प्रोत्साहित गर्नुभयो।’

लेखक
प्रदीप तिमल्सिना

तिमल्सिना अस्ट्रेलिया क्यान्बेरामा कार्यरत सञ्चारकर्मी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?