+
+
Shares

चुरे संरक्षणको विषय सरकार र दलहरूले गम्भीर लिएनन् : पूर्वराष्ट्रपति यादव

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते २०:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वराष्ट्रपति डा. रामवरण यादवले विश्वका शक्ति राष्ट्र र नेपालका राजनीतिक नेतृत्वले जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक नलिएको बताए ।
  • नेपाल मधुमेही समाजको ३६ औं वार्षिक साधारण सभामा उनले चुरे संरक्षणले हिमाल, पहाड र तराई बच्ने भन्दै आफ्ना सुझाव सरकार र दलले नलिएको गुनासो गरे ।
  • उनले केही शक्तिशाली नेताले जलवायु परिवर्तनलाई ‘झुट’ भन्नु र वैज्ञानिक प्रतिवेदन अस्वीकार गर्नु पृथ्वीको भविष्यका लागि थप संकट भएको बताए ।

२४ असोज, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले विश्वव्यापी जलवायु परिवर्तन र वातावरणीय संकटप्रति विश्वका शक्ति राष्ट्रदेखि नेपालका राजनीतिक नेतृत्व गम्भीर नभएको गुनासो गरेका छन् ।

शनिबार काठमाडौंमा नेपाल मधुमेही समाजको ३६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । वैज्ञानिक प्रमाणहरूले बारम्बार चेतावनी दिँदा पनि नीति निर्माण तहमा रहेका नेतृत्वले यसलाई सामान्य रूपमा लिनु वा ‘झुट’ भन्नु दुर्भाग्यपूर्ण भएको उनको टिप्पणी छ ।

पूर्वराष्ट्रपति डा. यादवले आफ्नो कार्यकालमा चुरे संरक्षणको मुद्दालाई उच्च प्राथमिकतामा राखेको बताउँदै चुरे क्षेत्रको विनाश रोक्नसके मात्रै हिमालको हिउँ जोगिने, पहाडको पर्यावरण सुरक्षित हुने र तराईको उर्वर भूमि मरुभूमीकरण हुनबाट बच्ने तथ्य बारम्बार औंल्याउँदै आएको दाबी गरे ।

तर सरकार वा कुनैपनि राजनीतिक दलले आफ्नो सुझावलाई गम्भीरतापूर्वक नलिएकोमा उनको गुनासो छ । डा. यादवले विश्वव्यापी रूपमा जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिकहरूको संस्थाले दिइरहेको चेतावनी र तथ्यपरक रिपोर्टलाई समेत बेवास्ता गर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे ।

‘विश्वले अहिले वातावरणीय सङ्कट र ग्लोबल वार्मिङको गम्भीर चुनौती भोगिरहेको छ । तर यस विषयमा विश्वका नेतृत्व र हाम्रो देशका राजनीतिक दलहरूमा समेत आवश्यक दूरदृष्टि देखिएको छैन । राष्ट्रपति हुँदा मैले चुरे संरक्षणको आवश्यकता औँल्याउँदै आएको थिएँ । चुरे जोगाउनसके हिमालको हिउँ, पहाडको वातावरण र तराईको उर्वर भूमि संरक्षण गर्न सकिन्छ । तर सरकारले र राजनीतिक दलहरूले यस विषयलाई गम्भीरतापूर्वक लिएनन्,’ उनले भने ।

अमेरिका लगायतका केही मुलुकका शक्तिशाली नेतृत्वले नै जलवायु परिवर्तनको बहसलाई ‘झुट’ भन्नुले पृथ्वीको भविष्य थप संकटमा परेको उनको भनाइ छ । वातावरणीय मुद्दामा देखिएको यो राजनीतिक उपेक्षाले मानव अस्तित्व र प्राकृतिक स्रोत–साधनको दोहनलाई थप जटिल बनाउने चेतावनी उनले दिए ।

‘दु:खको कुरा, विश्वका केही नेताहरूले जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक प्रतिवेदनलाई समेत अस्वीकार गर्दै यसलाई झुटो भन्ने गरेका छन् । जबकि संयुक्त राष्ट्रसंघका वैज्ञानिकहरूले जलवायु परिवर्तनका जोखिमबारे निरन्तर चेतावनी दिँदै आएका छन् । अब पनि हामीले वातावरण संरक्षणलाई प्राथमिकतामा राखेनौँ भने यसको गम्भीर असर भविष्यका पुस्ताले भोग्नुपर्नेछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?