२५ असोज, सुर्खेत । रुकुमपश्चिमको पुरानो सडकखण्ड शीतलपोखरी–झुल्खेत–चुन्वाङ सडकको स्तरोन्नति तथा कालोपत्रेको काम २७ वर्षपछि सुरु भएको छ। पटक-पटक बजेट विनियोजन भए पनि निर्माण सम्पन्न हुन नसकेको उक्त सडकको काम पुनः सुरु भएपछि स्थानीयवासीमा वर्षौँदेखिको सास्ती अन्त्य हुने आशा पलाएको छ।
मुसिकोट नगरपालिकास्थित शीतलपोखरीबाट झुल्खेत हुँदै चुन्वाङ जोड्ने १८.४ किलोमिटर सडकको स्तरोन्नति तथा कालोपत्रे गर्न ग्रामीण सडक सञ्जाल सुधार आयोजनामार्फत काम अघि बढाइएको हो। सडक निर्माणका लागि रायमाझी थुदुङ पाण्डे जेभीसँग गत असोज १ गते सम्झौता भएको छ।
आयोजना प्रमुख हरि ओलीका अनुसार सडक निर्माणका लागि ३४ करोड १८ लाख दुई हजार ८२९ रुपैयाँ ५८ पैसा लागतमा सम्झौता गरिएको छ। सम्झौताअनुसार दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ।
ठेक्का रद्द भएपछि पुनः सुरु भयो निर्माण
शीतलपोखरी–झुल्खेत–चुन्वाङ सडक निर्माणको काम २०५६ सालदेखि सुरु भएको थियो। तत्कालीन जिल्ला विकास समितिमार्फत २०७३ सालसम्म वार्षिक रूपमा बजेट विनियोजन गरी सामान्य निर्माणका काम हुँदै आएका थिए। तर, पर्याप्त प्रगति हुन नसक्दा सडक लामो समयसम्म अधुरै रह्यो।
२०७५ सालमा ग्रामीण सडक सुधार आयोजनामार्फत ठेक्का लागेपछि निर्माणले गति लिने अपेक्षा गरिएको थियो। तर, निर्माण कम्पनीले काम सम्पन्न गर्न नसकेपछि २०८१ असार १९ गते ठेक्का रद्द गरिएको थियो।
एसियाली विकास बैङ्कको ८८ प्रतिशत र नेपाल सरकारको १२ प्रतिशत लगानीमा सञ्चालन भएको योजना ठेक्का रद्द भएपछि सडक निर्माणको भविष्य अन्योलमा परेको थियो। त्यसपछि योजना पुनः सञ्चालन गर्न र बजेट व्यवस्थापन गर्न करिब दुई वर्ष विभिन्न प्रयास गरिएको मुसीकोट नगरपालिका–१० का वडाध्यक्ष धनबहादुर खड्काले बताए।
उनका अनुसार लामो समयदेखि अधुरो रहेको सडकको काम पुनः सुरु भएपछि अब निर्माण सम्पन्न हुने विश्वास बढेको छ।
स्थानीयवासीमा विकासको आशा
वर्षौंदेखि सडक निर्माणको प्रतीक्षामा रहेका स्थानीयवासीका लागि पुनः सुरु भएको कामले आवागमन सहज हुने अपेक्षा जगाएको छ। पटक–पटक योजना र बजेट आए पनि सडकले पूर्णता नपाउँदा स्थानीयले सास्ती खेप्दै आएका थिए।
वडाध्यक्ष खड्काले २७ वर्षपछि सडक निर्माण पूरा हुने आशा जागेको बताए। उनका अनुसार सडक निर्माण सम्पन्न भए मुसीकोट नगरपालिकाका विभिन्न वडासँगै लुम्बिनी प्रदेशको रुकुमपूर्वस्थित चुन्वाङ गाउँ जोडिनेछ।
सडकले स्थानीय बस्तीबीचको आवागमन सहज बनाउनुका साथै दैनिक उपभोग्य वस्तुको ढुवानी, कृषि उपजको बजारीकरण र स्थानीय आर्थिक गतिविधिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
समयमै गुणस्तरीय काम गर्न निर्देशन
प्रतिनिधिसभा सदस्य गोपाल शर्माले विगतमा निर्माण कम्पनीका कारण रद्द भएको ठेक्का लामो प्रयासपछि पुनः सञ्चालनमा आएको बताए। निर्माण व्यवसायीका कारण जनताले वर्षौँसम्म सास्ती भोग्नुपरेको उल्लेख गर्दै उनले यसपटक कामले निरन्तरता पाउने विश्वास व्यक्त गरे।
उनका अनुसार नयाँ निर्माण व्यवसायीले फिल्डमै पुगेर स्थानीयवासीसँग काम गर्ने प्रतिबद्धता जनाएकाले सडक निर्माण समयमै सम्पन्न हुने अपेक्षा गरिएको छ।
कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले निर्माण व्यवसायीलाई निर्धारित समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिएकी छन्। समयमै काम सम्पन्न गरेर असल निर्माण व्यवसायीका रूपमा पहिचान बनाउन र सम्मान प्राप्त गर्ने अवसर सिर्जना गर्न उनले आग्रहसमेत गरिन्।
विगतमा ठेक्का रद्द भएर अलपत्र परेको सडकको निर्माण पुनः सुरु भए पनि यसको सफलता अब निर्माणको गति, गुणस्तर र निर्धारित समयसीमाको पालना गर्ने विषयमा निर्भर रहनेछ। स्थानीयवासीले यसपटक सडकले पूर्णता पाउने र वर्षौँदेखिको प्रतीक्षा अन्त्य हुने अपेक्षा गरेका छन्।
प्रतिक्रिया 4