२५ असोज, काठमाडौं । संघीय संसद् सचिवालयले आन्तरिक नियन्त्रण कार्यविधि २०८३ ल्याएको छ । हालै जारी कार्यविधिमा संसद् सचिवालयका कर्मचारीसँग कार्यसम्पादन सम्झौता गर्नेे विषय छ । यसरी भएको सम्झौताअनुसार काम भए/नभएको भनेर त्रैमासिक रूपमा कार्यसम्पादन मूल्यांकन हुनेछ ।
कार्यविधिको ४.१ मा कार्य सम्पादन सम्झौता गर्नु पर्ने विषय छ । जसमा ‘सचिवले कार्यप्रकृतिअनुसार कार्यविवरणको अधिनमा रही महाशाखा प्रमुखसँग र महाशाखा प्रमुखले शाखा प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्नु पर्ने’ उल्लेख छ ।
कार्यसम्पादन सम्झौता नगर्दा कर्मचारीको कार्यसम्पादन प्रभावकारी नहुनसक्ने भएकोले यो प्रावधान ल्याउनुपरेको जनाइएको छ ।
कार्यसम्पादन सम्झौता गरेका प्रत्येक कर्मचारीले कार्यसम्पादन सम्झौता अनुसारको कार्य प्रगतिका बारेमा सम्बन्धित महाशाखा प्रमुख र सचिवलाई तथा महाशाखा प्रमुख र सचिवले महासचिवलाई त्रैमासिक रूपमा जानकारी गराउनु पर्ने प्रावधान पनि कार्यविधिमा छ ।
महासचिव वा सचिवबाट पदको कार्यविवरण अनुसार वार्षिक कार्ययोजना स्वीकृत गर्नुपर्ने भनिएको छ ।
प्रत्येक महाशाखाले आफ्नो महाशाखाबाट सम्पादन हुने कार्यको परिमाणात्मक सूचकसहितको वार्षिक कार्ययोजना तयार गरी सचिवबाट स्वीकृत गराई लागु गर्ने उल्लेख छ ।
अगाडि भनिएको छ, ‘प्रत्येक महाशाखाले कार्य योजनाको कार्यान्वयनको अवस्थाबारे सचिवलाई र सचिवले महासचिवलाई त्रैमासिक रूपमा जानकारी गराउनुपर्ने’
यसआधारमा महासचिव सचिवबाट त्रैमासिक रूपमा कार्यसम्पादन मूल्यांकन हुनेछ ।
समयमा कार्यसम्पादन मूल्यांकन हुन नसके प्रोत्साहन तथा वृत्तिविकासमा असर पर्नसक्ने भनिएको छ ।
संघीय संसद् सचिवालय कर्मचारी प्रशासन ऐन तथा नियमावलीमा भएको व्यवस्था बमोजिम प्रत्येक कर्मचारीले कार्यसम्पादन मूल्यांकन फाराम पेस गर्नुपर्ने प्रावधान पनि छ ।
कार्यसम्पादन मूल्यांकन फाराम तोकिएको समयमा पेस भई सुपरीवेक्षक, पुनरावलोकनकर्ता र पुनरावलोकन समितिबाट मूल्यांकन तथा पुनरावलोकन भई प्रशासन महाशाखा मार्फत बढुवा समितिमा पेस हुनेछ ।
प्रतिक्रिया 4