युट्युबमार्फत मोदी सरकारका गलत कदमको पर्दाफास गरिरहेका युट्युबर ध्रुव राठी यसपटक भने सडकमै उत्रिए । ककरोच जनता पार्टी (सीजेपी ) को ‘जेल भरो आन्दोलन’ मा राठी सशरीर उपस्थित भएका छन् ।
मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै शनिबारबाट सुरु भएको आन्दोलनमा उनले आफ्नो युट्युब च्यानलमार्फत नै आन्दोलनमा सहभागी हुनुका कारण बुँदागत रूपमै खुलाएका छन् ।
उक्त भिडियोमा उनले ज्ञानेश कुमारविरुद्ध कडाइका साथ प्रस्तुत हुँदै राजीनामा मागे छन् ।
यस्तै, उनले बेङ्गलुरुको फ्रीडम पार्कमा आयोजित नागरिक समाजको विरोध प्रदर्शनमा सहभागी भएरै भारतको निर्वाचन आयोगले निष्पक्षता गुमाएको र सर्वसाधारणको मताधिकार खोस्ने काम भइरहेको आरोप लगाएका छन् ।
यसैक्रममा दिल्ली प्रहरीले राठीलाई शनिबार हिरासतमा लिइसकेको छ । तर, उनले पक्राउअघि नै युट्युब र सामाजिक सञ्जालमा राखेका कन्टेन्टले भारतभर व्यापकता पाएका छन् ।
भारतीय निर्वाचन आयोगले सञ्चालन गरिरहेको विशेष संक्षिप्त पुनरीक्षण (एसआईआर) अभियानका कारण फर्जी तथा मृतक मतदाता हटाउने नाममा वास्तविक र जीवित मतदाताहरूलाई नै मतदाता नामावलीबाट हटाइएको दाबी राठीको छ । उनले कर्नाटकमा मतदाता नामावलीबाट हटाइएका तर जीवितै रहेका धेरै सर्वसाधारणहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको समस्या सुनेको बताएका छन् ।

उनले ज्ञानेश कुमारको तत्काल राजीनामा हुनुपर्ने मुख्य ३ कारण र प्रमाणहरू अघि सारेका छन् ।
पहिलो, पश्चिम बङ्गाल चुनावअघि एसआईआर प्रक्रियामार्फत करिब ७० हजार वास्तविक मतदाताको नाम नियतवश नामावलीबाट हटाइएको थियो । चुनाव सकिएर नतिजा आएपछि ती सबै ७० हजार भन्दा बढी मतदाताको नाम पुन: नामावलीमा समावेश गरियो ।
राठीले प्रश्न गरेका छन्, ‘यदि उनीहरू मरेका वा अवैध घुसपैठिया थिए भने चुनाव सकिनेबित्तिकै कसरी फेरि मतदाता नामावलीमा फर्किए ? यो सोझै चुनाव प्रभावित पार्ने घपला हो ।’
दोस्रो, बिहारमा चुनाव आयोगले करिब ६५ लाख मानिसको नाम मतदाता सूचीबाट हटाउँदा सर्वोच्च अदालतले हस्तक्षेप नगरेसम्म आयोगले नामावली सार्वजनिक गर्न समेत अस्वीकार गरेको थियो ।
अर्कातिर, उत्तर प्रदेशमा भर्खरै १४ लाखभन्दा बढी नयाँ मतदाता रहस्यमयी तरिकाले सूचीमा थपिएका छन् । साथै, गोवामा योग्य मतदाताको नाम थप्न खोज्दा सफ्टवेयरमै त्यो अप्सन नराखिएको उनको आरोप छ ।
तेस्रो, दशकौँदेखि भारतको निर्वाचन आयोगलाई एक अत्यन्त निष्पक्ष र स्वतन्त्र संवैधानिक संस्था मानिँदै आइएकोमा ज्ञानेश कुमारको कार्यकालमा यसको साख पूर्ण रूपमा गिरेको राठीको ठहर छ । उनको नेतृत्वमा मतदाता नामावलीमा व्यापक धाँधली भएकाले उनी पदमा बसिरहनु लोकतन्त्रका लागि घातक हुने राठीले बताएका छन् ।
ध्रुव राठी र आन्दोलनकारीहरूले ज्ञानेश कुमार र सरकारसमक्ष तीन मुख्य मागहरू अघि सारेका छन् ।
पहिलो माग– निर्वाचन आयोगको मर्म र गुमेको साख फिर्ता ल्याउनका लागि वर्तमान मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले तत्काल आफ्नो पदबाट राजीनामा दिनुपर्ने रहेको छ ।
दोस्रो माग– नयाँ मुख्य निर्वाचन आयुक्तको नियुक्ति प्रधानमन्त्री र विपक्षी दलका नेता दुवैको आपसी सहमति र सर्वसम्मतिमा निष्पक्ष ढङ्गले गरिनुपर्ने रहेको छ ।
तेस्रो माग– मतदाता नामावलीमा व्यापक हिराफेरीको कारण बनेको वर्तमान एसआईआर प्रक्रियालाई तत्काल फिर्ता (रोलब्याक) लिई पूर्ववत् मतदाता सूची कायम गर्दै, मृतक तथा दोहोरिएका मतदाताहरू हटाउने कार्य पूर्ण रूपमा पारदर्शी ढङ्गले जनतासामु गरिनुपर्ने रहेको छ ।
प्रतिक्रिया 4