+
+
Shares

चन्द्र भण्डारीलाई बधाई दिँदै सागर ढकालले भने– ‘मिलेर देश बनाउनुपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते १०:५३
Photo Credit : Sagar Dhakal/Facebook

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद सागर ढकालले नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित डा. चन्द्र भण्डारीलाई बधाई दिँदै देश निर्माणका लागि सहकार्य गर्नुपर्ने बताएका छन्।
  • कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुला उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्य तथा समावेशी उपसभापतिमा बिनोद विजयी भएका छन्।
  • ढकालले गुल्मी–१ का प्रतिस्पर्धी भण्डारीसँग रचनात्मक प्रतिपक्षी भूमिका र सहकार्यको अपेक्षा गर्दै देशले ठूलो चुनौती सामना गरिरहेको बताएका छन्।

२६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित डा. चन्द्र भण्डारीलाई बधाई दिँदै देश निर्माणका लागि सहकार्य गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत भण्डारीलाई बधाई दिएका ढकालले भारी मतसहित निर्वाचित भएकोमा खुसी व्यक्त गर्दै कांग्रेसका मतदाताले पनि राम्रो व्यक्ति चुनेको बताएका छन् ।

‘नेपाली कांग्रेसको उपसभापतिमा, त्यो पनि भारी मत ल्याएर निर्वाचित हुनुभएकोमा डा. चन्द्र भण्डारीज्यूलाई धेरै–धेरै बधाई छ,’ उनले लेखेका छन्, ‘कांग्रेसी साथीहरूले पनि राम्रो व्यक्ति चुन्नुभएकोमा धन्यवाद ।’

कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत खुला उपसभापति पदमा भएको निर्वाचनमा चन्द्र भण्डारी र मधु आचार्य तथा समावेशी उपसभापतिमा बिनोद विजयी भएका थिए ।

ढकाल र भण्डारी गुल्मी–१ का प्रतिस्पर्धी

जेनजी आन्दोलनपछि २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी क्षेत्र नम्बर १ बाट ढकाल र भण्डारी प्रतिस्पर्धी थिए । उक्त निर्वाचनमा ढकाल विजयी भएका थिए । नेकपा एमालेका प्रदीप ज्ञवाली दोस्रो र नेपाली कांग्रेसका भण्डारी तेस्रो भएका थिए ।

निर्वाचनमा प्रतिस्पर्धा गरेका ढकालले भण्डारी कांग्रेसको उपसभापतिमा निर्वाचित भएपछि बधाई दिँदै सहकार्यको अपेक्षा गरेका छन् ।

ढकालले देशसामु चुनौतीको ठूलो पहाड रहेको उल्लेख गर्दै अब काम गरेर देखाउनुको विकल्प नभएको बताएका छन् । देशको जनसांख्यिक अवस्था, बढ्दो प्राकृतिक प्रकोप र विकासका चुनौतीलाई औंल्याउँदै उनले समय धेरै बाँकी नरहेको बताएका हुन् ।

‘हामी दुवैका अगाडि आगामी चुनौतीको पहाड निकै ठूलो छ । मेरो पुस्ता अन्तिम पुस्ता हो, अब हाम्रो देश नै बूढो हुने दशकमा जाँदै छ । अब हाम्रो स्थिति गर या मरको जस्तो छ । समय धेरै बाँकी छैन । गरेर देखाउनुबाहेक अर्को विकल्प छैन,’ ढकालले लेखेका छन् ।

उनले भण्डारीबाट रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्दै सहकार्य र सहयोगको अपेक्षा गरेको पनि बताएका छन् । ‘देशले हामीलाई हेरिरहेको छ,’ ढकालले लेखेका छन्, ‘गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, गोविन्द पन्थी, हजुर, म र सम्पूर्ण गुल्मेली जनताले देशलाई राजनीति सिकाउनु पर्नेछ, संस्कार सिकाउनु पर्नेछ र विकासको बाटो देखाउनु पर्नेछ । हामी सबै मिलेर देश बनाउनु पर्नेछ ।’

त्यसमाथि प्राकृतिक प्रकोप झन्–झन् ठूलो हुँदै गएको भन्दै भण्डारीबाट रचनात्मक प्रतिपक्षी बनेर गर्ने सहकार्य र सहयोगको अपेक्षा गरेको ढकालले उल्लेख गरेका छन् ।

ढकालले भण्डारीको सल्लाह, सुझाव र सकारात्मकताप्रति आभार व्यक्त गर्दै गुल्मीका जनता, राष्ट्र र नेपालीको हितमा काम गर्ने शक्ति सबैलाई मिलोस् भन्ने कामना गरेका छन् ।

उनले गगन थापाको नेतृत्वमा नेपाली कांग्रेस अघि बढेको उल्लेख गर्दै पार्टीका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई पनि शुभकामना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?