News Summary
Generated by OK AI. Editorially reviewed.- दशैंको रौनक ल्याउने चर्चित गीतमध्ये ‘दशैं आयो’, ‘फूलपाती भाकेर’, ‘वर्ष र दिनमा लै लै’ र ‘रातो टीका दशैंको जमरा’ उल्लेख गरिएका छन्।
- दशैंमा पीडा र विदेशिएका तथा घर जान नपाएकाको भावनालाई समेट्ने गीतमा ‘विछोडको पीडा नसकी खप्न दशैंको बेलामा’, ‘नमुछे आमा दहीमा टीका’, ‘दशैं नै हो कि यो मेरो दशा’, ‘यसपाली दशैंमा ठूलो दाजु आउने रे’ र ‘यो दशैंमा म घर आइनँ’ छन्।
- दशैंमा ड्युटीमा खटिनुपरेका राष्ट्रसेवकका लागि सशस्त्र प्रहरी बलले बनाएको ‘फौजीलाई कुन हो दशैं’ गीत पनि हरेक वर्ष धेरै बज्ने गीतमा पर्छ।
दशैं आएको छनक कसरी मिल्छ ? के गर्दा तपाईंले दशैं आएको महसुस गर्नुहुन्छ ? मालश्री धुन सुन्दा ? वा आकाशमा चङ्गाहरू उडेको देख्दा ?
यी त पक्कै हुन् । त्यसबाहेक कतिपय गीत छन्, जसले तपाईंको घरमा दशैंको रौनक ल्याइदिन्छन् । कुन–कुन हुन् त यी गीत ?
धेरै सुनिने गीतमध्ये एउटा हो, ‘दशैं आयो’।
नेपाली चलचित्र ‘मुग्लान’मा रहेको ‘दशैं आयो’ गीत पनि दशैंमा अत्यधिक बज्ने गीतमा पर्छ। पछिल्लो पुस्ताका युवामाझ यो गीत झनै चर्चित छ ।
यस्तै अर्को गीत हो, ‘फूलपाती भाकेर ’।
चलचित्र ‘भरोसा’को यो गीत उदित नारायण झाको स्वरमा छ । यस गीतमा दशैंका रीतिरिवाजको वर्णन गरिएको छ। यो कहिल्यै पुरानो नहुने दशैंका गीतमध्ये एक हो ।
यी दुवै चलचित्रका गीत हुन् । त्यसबाहेक अर्को एल्बमको गीत पनि छ । यो गीतचाहिँ सुगम पोखरेलले गाएका हुन्। गीतको बोल छ, ‘वर्ष र दिनमा लै लै ’।
सुगम पोखरेलको स्वरमा रहेको यो गीत पनि युवा पुस्ताले औधी रुचाएको दशैं गीत हो । रवि श्रेष्ठको शब्दमा तयार भएको यो गीतमा पनि स्रोताले दशैं गीतको फरक स्वाद लिने गरेका छन् ।
यस्तै अर्को गीत छ, ‘रातो टीका दशैंको जमरा’ । यो पनि चलचित्रकै गीत हो ।
‘मनमन्दिर’ चलचित्रमा रहेको यो गीतले पनि दशैंको झल्को ल्याउँछ। नायक राजेश हमाल र नायिका झरना थापाको नृत्य रहेको यो गीत अहिले पनि दशैंमा उत्तिकै बज्ने गर्छ ।
यी त भए दशैंको उमङ्ग ल्याउने गीत । तर, दशैं सबैका लागि उमङ्ग मात्र बोकेर आउँदैन । कतिलाई त यसले झन् मन रुवाएर जान्छ। दशैंका बेला मन रुनेहरूका लागि पनि गीत छन् ।
‘विछोडको पीडा नसकी खप्न दशैंको बेलामा’ । दशैंसम्बन्धी गीत भन्नेबित्तिकै हामी यो गीतलाई सम्झिन्छौँ । नारायण गोपाल र दिलमाया खातीको स्वरमा रेकर्ड गरिएको यो युगल गीत ऐतिहासिक गीतमध्ये एक हो ।
यस्तै अर्को गीत छ, ‘नमुछे आमा दहीमा टीका ’।
दशैंमा धेरै सुनिने गीतमध्ये यो पनि पर्छ । नारायण रायमाझीले एकसरो लोकभाकामा गाएको यो गीत २०५७ सालमा कृष्णभक्त राईले विभिन्न बाजा समेटेर गाएपछि दशैंको चर्चित गीत बन्यो ।
योगेश्वर अमात्यले दशैंलाई दशासँग तुलना गरेको गीत पनि निकै चर्चित छ ।
‘दशैं नै हो कि यो मेरो दशा’, यो पनि दशैंका चर्चित गीतमध्ये एक हो । योगेश्वर अमात्यको स्वरमा रहेको यो गीतमा दशैं गीतकै फरक स्वाद पाइन्छ। विसं २०५० ताका संवादसमेत समेटेर तयार पारिएको यो गीत दशैंको परिचयजस्तै बनेको छ ।
विदेशिएका कतिपय दशैंमा घर आउँदैनन् । उनीहरूलाई सम्झिएर गाइएको अर्को गीत हो, ‘यसपाली दशैंमा ठूलो दाजु आउने रे ’।
कुल पोखरेलको स्वरमा रहेको यो गीत दशैंसम्बन्धी चर्चित गीतमध्ये एक हो । कुल पोखरेलको सम्झनामा अन्य गायकले पनि यो गीतको कभर गाएर युट्युबमा राखेका छन् ।
दशैंमा कतिपय पेसाकर्मीले आफ्नो ड्युटीमा खटिनुपर्ने हुन्छ । उनीहरूको समर्पणमा पनि एउटा गीत छ, ‘फौजीलाई कुन हो दशैं’।
सशस्त्र प्रहरी बल (एपीएफ)ले निर्माण गरेको यो गीत पनि हरेक वर्ष दशैंमा अत्यधिक गुञ्जिने गीतको सूचीमा पर्छ । दीपक कोइरालाको शब्द, गैरे सुरेशको सङ्गीत तथा जगदीश समालको स्वर रहेको यो गीत राष्ट्रसेवक कर्मचारीप्रति पूर्ण रूपमा समर्पित छ ।
दशैंमा घर जान नपाएकाहरू पनि त कति होलान् । उनीहरूको भावना चाहिँ कसले बुझिदिने ? यो गीतले उनीहरूको भावना समेट्छ, ‘यो दशैंमा म घर आइनँ ’।
नेपाली लोकदोहोरी गीतमा दशैं गीत भन्नेबित्तिकै यो गीतको सम्झना आइहाल्छ । एसएसएस म्युजिकले बजारमा ल्याएको यो गीतमा रेशम थापा र उद्धव कार्कीलाई सीता थापा र गीता कोइरालाले स्वरमा साथ दिएका छन् ।
प्रतिक्रिया 4