News Summary
Generated by OK AI. Editorially reviewed.- बूढीगण्डकीको बाढीले आरुघाट बजारको पुलको एउटा स्पान बगाएपछि धादिङ र गोरखा जोड्ने आवागमन र व्यापार अवरुद्ध भएको छ।
- बाढीले आरुघाट बजार र आसपासका बस्ती डुबानमा पर्दा खानेपानी पाइप बगाएको छ, भौतिक क्षति भएको छ र केही बेपत्ता भएको खबर छ।
- नेपाली सेनाले आजबाट पुलमा बेलिब्रिज जोड्ने तयारी गरेको छ र सडक डिभिजन कार्यालय हेटौंडाबाट बेलिब्रिज ल्याइँदैछ।
२६ असोज, आरुघाट (गोरखा)। बूढीगण्डकी नदी किनारमा रहेको आरुघाट बजारमा बाढीले छाडेको कालो लेदो माटो देखिन्छ। नदी किनारमा माटो थुप्रिएको छ, काठका मुढा असरल्ल छन्। जमिन हिलाम्मे छ। लेदो नसुकेकोले हिलो गन्ध आइरहेको छ। केही मानिस टाढैबाट क्षतिग्रस्त क्षेत्र नियालिरहेका छन्। सुरक्षाकर्मीको उपस्थिति छ।
अस्तिसम्म सहजै वारिपारि गर्न सकिने पुलको एउटा स्पान बाढीले बगाएपछि यहाँको आवागमन बन्द छ। धादिङबेंसीबाट आरुघाट बजार जोड्ने सडकको पुलमा तीन स्पान थिए ।
बूढीगण्डकीमा आएको बाढीले आरुघाट बजार र आसपासका बस्तीलाई प्रभावित पारेको छ। पुलसँगै खानेपानी पाइप पनि बगाएको छ। सडक सम्पर्क विच्छेद भएपछि स्थानीयको आवागमन, बजारको दैनिक गतिविधि र अत्यावश्यक सामग्रीको ओसारपसार प्रभावित भएको छ।
बाढीपछि आरुघाटको दृश्यले स्थानीयमा त्रास र अन्योल दुवै बढाएको छ। नदी किनारमा देखिएको लेदो, थुप्रिएको माटो र बगेर आएका काठका मुढाले बाढी कुन गतिमा आएको थियो भन्ने झल्किन्छ । स्थानीयका अनुसार पानीको सतह फेरि बढ्ने हो कि भन्ने त्रास मेटिएको छैन। त्यसैले जोखिम क्षेत्रनजिक जान मानिसहरूलाई रोक लगाइएको छ।
सुतिरहेका बेला आयो बाढीको खबर
आरुघाटको विद्युत् चोकमा बस्ने अञ्जु सुनारका लागि बाढीको बिहान त्रासदीपूर्ण थियो। उनी घरमा सुतिरहेकी थिइन्। वरिपरिका महिलाहरूले माथिबाट बाढी आउन लागेको खबर गरेपछि उनी तीन जना साना बच्चा लिएर सुरक्षित स्थानतिर लागिन्।
‘हामी सुतिराखेको अवस्थामा वरिपरिका दिदीबहिनीहरूले माथिबाट बाढी आउँदै छ, उठ्नु, सुरक्षित स्थानमा जानू भन्नुभयो,’ सुनारले भनिन्, ‘त्यसपछि साना बच्चाहरू लिएर हतारहतार माथि टावरतिर गएर बस्यौँ।’
सुनारका अनुसार बाढी एकैपटक आएको थिएन। पानी घट्ने र बढ्ने क्रम चलिरहेको थियो। तर एक्कासि लेदोसहितको बाढी आयो। उनीहरू सुरक्षित स्थानबाटै हेरिरहेका थिए। आँखैअगाडि नदीपारिको बजार र आसपासका क्षेत्र डुबानमा परे।
‘हाम्रो आँखाअगाडि नै पारिको बजार र छेउका सबै क्षेत्र डुबायो। हामी माथि नै बसिरह्यौं’ उनले सुनाइन्।
पहिले पनि बाढीको अनुभव गरेका स्थानीयमा यसपटक पनि ठूलो क्षति हुने डर थियो। घर छाडेर माथि पुगेका परिवारहरू लामो समयसम्म त्यहीँ बसे।
सुनारका अनुसार बजारका मानिसहरू सुरक्षित स्थानतिर लागेका थिए। जोखिम कायम रहेकाले सुरक्षाकर्मीले पनि मानिसहरूलाई बजार क्षेत्रमा जान दिएका थिएनन्।
‘जे भए पनि मानवीय क्षति भएन भन्ने खुसीको हो। तर भौतिक क्षति धेरै भएको छ,’ उनले भनिन्।

आरुघाट क्षेत्रका ७० वर्षीय लोकप्रसाद ढकालका अनुसार बाढी आउनुअघि नदी थुनिएको र पछि फुटेर क्षति पुर्याएको भन्ने सुनिएको थियो। उनको घर बूढीगण्डकी किनारबाट करिब एक किलोमिटर माथि पर्छ।
उनका अनुसार बाढीले बजारका केही घर बगाएको छ भने पुलमा पनि क्षति पुर्याएको छ। तर बाढी आउनुअघि नदी कसरी थुनियो, कहाँ पहिरो गयो र कति समयसम्म पानी जम्मा भयो भन्ने विवरण प्राविधिक रूपमा पुष्टि हुन बाँकी छ।
बाढीले पुलको एउटा स्पान बगाएपछि पुरानै बाटोबाट सहज आवतजावत गर्न सकिने अवस्था छैन। ढकालका अनुसार तल्लो पुलबाट भने आवतजावत गर्न सम्भव हुन सक्छ। यसले स्थानीयलाई वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था आएको छ ।
भागाभागमा बित्यो बिहान
आरुघाट बजारमा व्यवसाय गर्दै आएका सन्तोष राजभण्डारीले बाढीको खबर पाएपछि स्थानीयहरू सुरक्षित स्थानतिर लागेको बताए। उनका अनुसार बिहान पाँच–छ बजेतिर माथिबाट पहिरो आएको र बूढीगण्डकी थुनिएको खबर फैलिएको थियो।
‘खबर आएपछि भागाभाग भयो। हामी टारीफाँट, भीमसेन थापा गाउँपालिका क्षेत्रतिर गयौं। फोनमार्फत खबर पाएपछि भाग्न सकियो,’ राजभण्डारीले भने।
उनका अनुसार नदी आसपासका बस्तीका मानिसहरू हतारहतार घर छाडेर माथिल्लो र सुरक्षित स्थानतिर लागेका थिए। धादिङतर्फका बस्तीमा बढी क्षति भएको खबर आएको उनले बताए। माथिल्लो क्षेत्र र गोरखातर्फको शान्ति बजारमा समेत क्षति भएको छ।
बाढीपछि केही मानिस बेपत्ता भएको खबरसमेत स्थानीयस्तरमा फैलिएको छ। चार–पाँच जना बेपत्ता भएको भन्ने जानकारी आफूले पाएको राजभण्डारीले बताए।
आरुघाट : गाउँको केन्द्र
आरुघाट नदी किनारको बजार मात्र होइन। गोरखा र धादिङका विभिन्न बस्तीलाई जोड्ने व्यापारिक तथा आवागमनको केन्द्र पनि हो। आरुघाट गाउँपालिका–८ का उदयप्रसाद खनालका अनुसार धादिङतर्फका सल्यानटार, बूढाथुम, मान्बु, बसेरीलगायतका क्षेत्र र गोरखातर्फका विभिन्न गाउँका मानिस किनमेल तथा अन्य कामका लागि आरुघाट आउने गर्छन्।
‘करिब आठ–दस गाउँको संगमस्थल हो आरुघाट,’ खनालले भने,’यो अहिले टुटेको छ ।
धादिङ हुँदै आरुघाट आउने र यहाँबाट माथिल्लो (मनास्लु) क्षेत्रतिर जाने मार्ग भएकाले पदयात्रा तथा अन्य यात्राका लागि पनि यो बजार महत्त्वपूर्ण हो । त्यसैले पुल बग्दा संरचनामा मात्र क्षति भएन दुई जिल्लाका बस्तीबीचको नियमित सम्पर्क र व्यापारमा समेत अवरोध आएको छ ।
बजारमा कति घरपरिवार प्रभावित भए र कति भौतिक क्षति भयो भन्ने यकिन विवरण भने संकलन हुन बाँकी छ।
पुनःस्थापनाको प्रतीक्षा
बाढीपछि नदी किनारमा सुरक्षाकर्मी परिचालित छन्। नेपाली सेनाका टोली वारि र पारि दुवैतर्फ पुगेका छन्। पुलको अवस्था निरीक्षण गरी बेलीब्रिज वा अन्य विकल्पबाट आवागमन पुनःस्थापना गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा प्रारम्भिक सर्वेक्षण भएको जानकारी स्थानीयस्तरमा आएको छ।
तर पुल कहिलेसम्म सञ्चालनमा आउँछ, खानेपानीको पाइप कहिले मर्मत हुन्छ र प्रभावित बस्तीमा कति क्षति पुगेको छ भन्ने चाहिँ यकिन छैन ।नेपाली सेनाले आजबाट पुलमा बेलिब्रिज जोड्ने तयारी गर्दैछ। यसका लागि आज सडक डिभिजन कार्यालय हेटौंडाबाट बेलिब्रिज ल्याइँदैछ।
आरुघाटमा अहिले बाढीले छाडेको लेदो र क्षतिग्रस्त पुल देखिन्छ । बूढीगण्डकीको पानी घटे पनि बाढीले छाडेको त्रास, क्षति र अनिश्चितता भने तत्काल हट्ने अवस्था छैन। स्थानीयको प्रतीक्षा क्षतिको यकिन विवरण, सुरक्षित आवागमनको पुनःस्थापना र प्रभावित बस्तीको पुनर्निर्माणतर्फ केन्द्रित छ।
तस्वीर/भिडियो- कमल प्रसाईं
प्रतिक्रिया 4