News Summary
Generated by OK AI. Editorially reviewed.- डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौंथली’ ले आइतबार रातिसम्म २६ करोडभन्दा बढी कलेक्सन गरेको छ।
- तीन महिनादेखि हलमा चलिरहेको ‘गौंथली’लाई दर्जन हाराहारी नेपाली फिल्मले पनि बक्स अफिसबाट हटाउन सकेका छैनन्।
- अब १२ दिन पर्खिएमा ‘गौंथली’ले प्रदर्शनको सय दिन पूरा गर्नेछ।
‘नपत्याउने खोलोले बगाउँछ’ भनेझैँ औसत मानिएको फिल्म ‘गौंथली’ ले विगत तीन महिनादेखि बक्स अफिस कब्जा गरिरहेको छ । त्यसबीचमा दर्जन हाराहारी नेपाली फिल्म प्रदर्शनमा आए, तर कसैले ‘गौंथली’ को उडान रोक्न सकेन । हिजो आइतबार रातिसम्मको बक्स अफिस रिपोर्टले देखाउँछ, ‘गौंथली’ ले २६ करोडभन्दा बढी कलेक्सन गर्दै अरू फिल्मको ओठतालु सुकाइदिएको छ ।
फिल्म अहिले पनि हलहरूमा लागिरहेकै छ । अब १२ दिन पर्खने हो भने यो फिल्मले प्रदर्शनको १०० दिन पूरा गर्नेछ । यो आफैँमा नेपाली फिल्मका लागि गौरवमय क्षण हो ।
विगतमा १०० दिन पूरा गर्ने फिल्महरू आफैँमा उत्सवको चरणमा प्रवेश गर्थे। अहिले ‘गौंथली’ ले त्यही सफलता दोहोर्याउने छाँट देखाएको छ। यद्यपि, पछिल्लो समय यसको शो सङ्ख्या खुम्चिएको छ भने दर्शक पनि एकदमै पातलिएका छन्।
डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौंथली’ मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् । निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् ।
प्रतिक्रिया 4