+
+
Shares

दसैंमा चंगा : उमंगको प्रतीक, पानी पुग्यो भन्ने सन्देश

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते १६:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मनसुन लम्बिएकाले दसैं सुरु हुँदा पनि आकाश धुम्मिएर दर्के झरी परिरहेकाले रंगबिरंगी चंगा खासै देखिएका छैनन् ।
  • चंगा उडाउनु मनोरञ्जनसँगै संस्कार, मौसमको सूचक र उमंग तथा स्वच्छन्दताको प्रतीक मानिन्छ ।
  • चंगाको इतिहास चीनमा ईशापूर्व तेस्रो शताब्दीसम्म पुग्ने र नेपालमा दसैंमा चंगा उडाएर रमाइलो गर्ने प्रचलन रहेको लेखमा उल्लेख छ ।

यसपालि मनसुन चक्र लम्बियो । त्यसैले दसैं सुरु हुँदा पनि ‘हट्यो सारा हिलोमैलो, हरायो पानीको वर्षा’ भनेजस्तो भएन । आकाश धुम्मिइरह्यो । दर्के झरी परिरह्यो । सायद यही कारण पो हो कि, यसपालि आकाशिएका रंगबिरंगी चंगा खासै देख्न पाइएको छैन ।

यदि त्यसो नहुँदो हो त शरद ऋतुको यो मादक मौसममा आकाशभरी चंगाहरू उडिरहेका हुन्थे । त्यही दृश्यले दसैं आएको छनक मिल्थ्यो ।

पछिल्लो समय भने चंगा उडाउने क्रम कम हुँदै गएको पाइन्छ । चंगा र दसैं एकअर्काको पर्यायझैं लाग्छ । चंगा नउडेसम्म दसैंको रङ नचढ्ने, दसैं नआएसम्म चंगाको खेल सुरु नहुने ।

हुन त चंगासँग दसैंको खास नाता पनि छ । चंगा उडाउनु मनोरञ्जन त हो नै, संस्कार पनि हो ।

किन उडाइन्छ चंगा ?

चंगा उडाउनुसँग धेरै अर्थ जोडिएको छ । यसलाई प्रतीक एवं बिम्बको रूपमा पनि लिने गरिएको छ । त्यसै पनि शारद ऋतुमा चल्ने हावामा चंगा उडाउन सहज हुन्छ, त्यसमाथि दसैंको फुर्सद । यो एउटा रमाइलो गर्ने वा मनोरञ्जन लिने माध्यम पनि हो ।

यद्यपि चंगाको साइनो रमाइलोसँग मात्र छैन । यसले मौसमी अवस्थाबारे पनि जानकारी दिन्छ । चंगा उडाउनु भनेको खुला र मोहक मौसमको सूचक हो । किनभने चंगा उडाउनका लागि अरू मौसम अनुकुल हुँदैन । यतिबेला भने आकाश खुला हुन्छ । वायुमण्डलमा शीतल हावा चल्न थाल्छ । चंगा उडाउन मन्द हावाको बहाव चाहिन्छ ।

चंगा एक रोमाञ्चक खेल मात्र होइन, जीवन दर्शन पनि हो । यो उमंगको प्रतीक हो, स्वच्छन्दताको प्रतीक हो, उचाइको प्रतीक हो । भनिन्छ, चंगा उडाउँदा हामी दु:ख, पीर भुल्छौं । दम्भ, रिस, राग भुल्छौं । मनमा उमंग छाइरहेको हुन्छ । यसले हामीमा महत्वकांक्षा जगाउँछ । आकाश छुनुपर्छ भन्ने सन्देश दिन्छ ।

चंगाको इतिहास

चंगाको लामो इतिहास छ । भनिन्छ, चंगाको आविष्कार चीनमा ईशापूर्व तेस्रो शताब्दीमा भएको हो । विश्वमै पहिलो चिनियाँ दार्शनिक हुआंग थेगले चंगा बनाएका थिए । यस हिसाबले हेर्दा चंगाको इतिहास २३०० वर्ष पुरानो छ ।

यो विश्वकै आकाशमा उड्छ । हामीकहाँ यसको धार्मिक कथन पनि छ । ‘वर्षा र सहकालका देवता इन्द्रसमक्ष खेतीबालीका लागि हामीलाई पानी पुग्यो भन्ने सन्देश पुर्‍याउन चंगा उडाउने प्रचलन सुरु भएको हो भनिन्छ ।

चंगा फगत खेल मात्र होइन । यो कला हो । चंगा त्यसै उड्दैन, उडाउन जान्नुपर्छ । साथै यसलाई जीवन जिउने कलासँग पनि जोडिएर हेरिएको छ । जानकारहरू भन्छन्, ‘चंगा उडाउने कलाले हामीलाई जीवन र जगतका धेरै कुरा बोध गराउँछ ।’

चंगासम्बन्धी अनेक मान्यता

धागोले बाँधिएर लट्टाइबाट नियन्त्रण गरिने चंगा अनेक मान्यता, अन्धविश्वास र अनौठो प्रयोगको आधार पनि छ । मानिसको महत्वकांक्षालाई आकाशको उचाईसम्म लिएर जाने चंगालाई कतै सगुन र कतै अपगुनको रुपमा लिने गरिन्छ । प्राचीन दन्त्यकथालाई विश्वास गर्ने हो भने, चीन र जापानमा चंगाको प्रयोग सैन्य उद्देश्यका लागि पनि गरिन्थ्यो ।

चीनमा राजा राजवंशको क्रममा उडेको चंगालाई त्यतिकै छाड्नु भनेको दुर्भाग्य वा रोगलाई निम्तो दिनु समान मानिन्थ्यो । कोरियामा चंगामा बच्चाको नाम र उसको जन्ममिति लेखेर उडाइन्थ्यो, ताकि त्यसवर्ष बच्चाको सम्भावित दशा काटियोस् ।

आखिर जे भएपनि हामीकहाँ यसलाई उत्सवको रूपमा लिने गरिएको छ । दसैंको उमंगमय मौसममा चंगा उडाएर रमाइलो गरिन्छ । यतिबेला खुला चौर, खेतबारी, छतमा उभिएर चंगा उडाइन्छ । कतिपय स्थानमा चंगा चेट प्रतियोगिता समेत हुनेगर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?