News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले पुराना सबै नेता भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।
- उनले आफू २०४८ सालदेखि २०७९ सालसम्म लगातार सांसद रहेको र भ्रष्टाचारजन्य गतिविधिमा संलग्न नभएको दाबी गरे ।
- पाण्डेले पुराना दलका नेता कांग्रेसमा हुँदा खराब र रास्वपामा पुगेपछि असल ठहर गर्ने प्रवृत्तिमाथि पनि प्रश्न उठाए ।
२६ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले पुराना राजनीतिक दलका सबै नेताहरू भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।
सोमवार काठमाडौंमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रश्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनदले यस्तो आपत्ति जनाएका हुन् ।
सबै पुराना नेता तथा राजनीतिक दलका कार्यकर्ता गलत थिए भन्ने भाष्य निर्माण गर्नु उचित नभएको बताए । विसं २०४८ सालदेखि २०७९ सालसम्म लगातार सांसद रहेको उल्लेख गर्दै पूर्वमुख्यमन्त्री पाण्डेले आफू भ्रष्टाचारजन्य गतिविधिमा संलग्न नभएको दाबी उनको थियो । पुराना राजनीतिक दलमा रहँदा खराब र राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि असल ठहर गर्ने प्रवृत्तिमाथि समेत प्रश्न उनले उठाए ।
‘हिजोका सबै नेताहरू भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्ने कुरा पनि बन्द गरे हुन्छ । म २०४८ सालदेखि २०७९ सालसम्म लगातारको सांसद हुँ । खै त हामी त त्यस्ता खालका भ्रष्टाचारका गतिविधिमा कहिल्यै सामेल भएनौँ त ? यदि सामेल भएको भए अरुलाई लागेको हत्कडी राजेन्द्र पाण्डेलाई पनि लाग्नुपर्थ्यो होला नि त । त्यसो हुनाले यो सबै नेताहरू भ्रष्टाचारी हुन्, पार्टीका सबै मान्छेहरू गलत थिए भन्ने भाष्य पनि निर्माण नगरौं,’ उनले भने ।
रास्वपाका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उदाहरण दिँदै नेपाली कांग्रेसमा रहँदा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बन्दा खराब र रास्वपामा आएपछि असल भन्न मिल्छ ? भन्दै प्रश्न गरे । उनले विगत ३५ वर्षको शासनकालमा मुलुकमा केही भएन भनि निर्माण गरिएको भाष्य समेत गलत र तथ्यहीन भएको बताए ।
‘हिजो यिनै पुराना पार्टीका थुप्रै नेता कार्यकर्ता साथिहरू अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्री तथा सांसद समेत बनेका होलान् । त्यसो भएको हुनाले हिजो दिनमा सबै खतमभन्दा डा. स्वर्णिम वाग्ले हिजो कांग्रेसमा भएरा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा खराब अनि रास्वपामा पुगेपछि असल ? त्यसो हुनाले यस्ता कुरा हरूले पनि गर्न सक्छन् । सूचना अरुसँग पनि छ भन्ने कुरा नबिर्सौं ?,’ उनले भने ।
उनले मुलुका सबै क्षेत्रमा सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत जस्ता आधारभूत आवश्यकता विगत ३५ वर्षभित्रै पूरा भएको तथ्य नबिर्सन पाण्डेको चेतावनी छ ।
प्रतिक्रिया 4