News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवा–भोटेकोशी बाढीबाट घरवास गुमाएका नुवाकोटवासीका लागि वाईसीएल नेपालले अस्थायी आवास निर्माण गरेर आज प्रचण्डमार्फत हस्तान्तरण गर्दै छ ।
- बेलकोटगढी नगरपालिका–७ रातमाटेका विस्थापितका लागि दैनिक १२ घण्टा खटेर १५० अस्थायी घर बनाइएका छन्, जसमध्ये २० वटा आज हस्तान्तरण हुनेछन् ।
- वाईसीएलका अनुसार नुवाकोटमा ६ सय नेता–कार्यकर्ता उद्धार, राहत, शव व्यवस्थापन, रगत आपूर्ति र होल्डिङ सेन्टरको खानपिनमा खटिएका छन् ।
२७ असोज, नुवाकोट । रसुवा–भोटेकोशी बाढीबाट घरवास गुमाएका नुवाकोटवासीका लागि वाईसीएल नेपालले अस्थायी आवास निर्माण गरेको छ । ती अस्थायी आवासहरु आज पार्टी संयोजक प्रचण्डले बाढीपीडितलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । त्यसका लागि प्रचण्ड नुवाकोट पुगिसकेका छन् ।
बेलकोटगढी नगरपालिका वडा नं. ७ रातमाटेका विस्थापितहरुका लागि दैनिक १२ घण्टासम्म खटिएर अस्थायी आवास निर्माण गरेको वाईसीएलका केन्द्रीय अध्यक्ष पुष्प ओलीले बताए ।
‘डेढ सय वटा अस्थायी घरहरु अहिले निर्माणको अन्तिम चरणमा छन्’, अध्यक्ष ओलीले भने, ‘अहिले पूर्णरुपमा तयार भइसकेका २० वटा घर भने आजै पार्टी संयोजक प्रचण्डले बसोबासका लागि हस्तान्तरण गर्ने कार्यक्रम छ ।’
खानेपानी, शौचालय, बिछ्यौना, खाद्यान्न, भान्साका सामग्रीहरुसहित अस्थायी आवासहरु तयार गरिएको उनले जानकारी दिए ।
नुवाकोटको कार्यक्रम सकेर प्रचण्ड रसुवाका बाढी पीडितसँग भेटघाटका लागि पुग्ने छन् । रसुवामा पनि वाईसीएलको टोली उद्धार, राहत तथा पुनर्स्थापनाको काममा खटिएको छ ।
भदौ १० गते चीनको तिब्बत क्षेत्रबाट भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका विभिन्न स्थानमा भौतिक पूर्वाधारका साथै मानवीय क्षति बढी गरेको थियो । भदौ ११ गतेदेखि नै वाईसीएलको टिम उद्धार, राहत तथा अस्थायी आवासको व्यवस्था गर्न खटिएको थियो ।
केन्द्र, प्रदेश र जिल्ला गरी हालसम्म नुवाकोटमा ६ सयको संख्यामा वाईसीएलका नेता–कार्यकर्ताहरु खटिएको केन्द्रीय उपाध्यक्ष हरि ढकालले जानकारी दिए ।
वाईसीएल नुवाकोट जिल्ला अध्यक्ष जलन गजुरेलका अनुसार प्रभावित क्षेत्रका नागरिकहरुको सुनचाँदी, पैसा लगायत धनमाल उत्खनन् गरी सम्बन्धित घरधनीलाई बुझाउने, बाढीले बगाएका शवहरु खोजेर व्यवस्थापन, रक्तदानमार्फत् रगतको परिपूर्ति र होल्डिङ सेन्टरहरुमा खानपिनको व्यवस्था गर्न पनि वाईसीएलको टोली खटिएको थियो ।
‘अब विस्थापितहरुलाई पुनर्स्थापना गर्ने मुख्य काम हो’, उनले भने, ‘केही समयभित्रै बेलकोटगढी नगरपालिकाका सम्पूर्ण विस्थापितलाई अत्यावश्यक सबै सामग्रीसहित हामी बासको सुनिश्चितता पूरा गर्ने लक्ष्यमा लागेका छौं ।’
प्रतिक्रिया 4