News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटा नगरपालिका-८ स्थित तमोर नदी किनारमा ढुंगामाथि फसेका २९ वर्षीय अर्जुन सरदारलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय युवाले सकुशल उद्धार गरेका छन्।
- जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार दशैँ बिदामा घर जान निस्किएका मोरङ ग्रामथान-१ का सरदार बाटो नभेटेर अलपत्र परेका थिए।
- उद्धारपछि उनलाई समिनारायण कन्ट्रक्स प्रा. लि. का प्रतिनिधि शिव नारायण यादवको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
२७ असोज, धनकुटा । धनकुटा नगरपालिका -८ स्थित तमोर नदीको किनारमा ढुंगामाथि फसेका एक व्यक्तिलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीय युवाहरूको सहयोगमा सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार सोमबार राति तमोर नदीको किनारमा एक व्यक्ति फसेको सूचना प्राप्त भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो ।
प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनास्थलमा पुगेर बुझ्दा रगुवा खोला क्षेत्रमा पुल निर्माण गर्दै आएको समिनारायण कन्ट्रक्स प्रा. लि. मा कार्यरत कामदार नदीको किनारमा फसेको पाइएको थियो । स्थानीय युवाहरूको सहयोगमा वैकल्पिक बाटोबाट पुगेर मध्यराति उनलाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
उद्धार गरिएका व्यक्ति मोरङको ग्रामथान गाउँपालिका वडा नं. १ का २९ वर्षीय अर्जुन सरदार रहेको खुलेको छ । दशैँको बिदामा घर जान मुलघाटतर्फ निस्किने क्रममा उनी तमोर नदीमा पौडी खेलेर पारि तरेपछि बाटो नभेटेर अलपत्र परेको प्रहरीले जनाएको छ । उद्धारपछि सरदारलाई समिनारायण कन्ट्रक्स प्रा. लि. का प्रतिनिधि शिव नारायण यादवको जिम्मा लगाइएको थियो ।
उद्धार कार्यमा धनकुटा नगरपालिका वडा नं. ८ घर भई हाल साँगुरीगढी गाउँपालिका वडा नं. ३ बस्ने ४९ वर्षीय सुमन राई र २५ वर्षीय सुरेश राई तथा साँगुरीगढी गाउँपालिका वडा नं. ३ निवासी ३१ वर्षीय आर्यन याख्खा र २५ वर्षीय दिनेश याख्खाले सहयोग गरेको प्रहरी नायब उपरिक्षक भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया 4